१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चार वर्षपछि 'ए' डिभिजन लिग हुने

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार वर्षपछि आउँदो वैशाखमा सहिद स्मारक 'ए' डिभिजन लिग गर्ने प्रस्ताव अघि सारेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार क्लबहरूसँग बसेको पछिल्लो बैठकमा एन्फाले सबथोक अनुकूल भए वैशाख १५ बाट भदौको अन्त्यसम्म चल्ने गरी लिगको प्रस्ताव गरेको हो। 'ए' डिभिजनको मछिन्द्रबाहेक सबै क्लबको उपस्थितिमा एन्फाले गरेको प्रस्तावमा राउन्ड रोबिन दोहोरो लिग यसपालिदेखि सप्ताहान्तमा मात्र गर्ने उल्लेख छ। दशरथ रंगशाला भूकम्पका कारण क्षतिग्रस्त भएको अवस्थामा लिग नेपाली सेनाको लगनखेलस्थित मैदान, एपिएफको हलचोक मैदान र सातदोबाटोको एन्फा कम्प्लेक्समा गर्ने एन्फाको योजना छ। सप्ताहान्तमा खेलाउने योजना भए पनि राष्ट्रिय टोलीका खेलका लागि स्थगित गर्नुपर्ने कारण लिगका खेल मध्यसातामा पनि हुनेछन्।

एन्फाको प्रस्तावमा यसपालिलाई सहभागिता जनाउन नचाहने क्लबलाई नखेल्ने छुट पनि दिइएको छ। यसपालि भाग नलिए पनि अर्को वर्ष 'ए' डिभिजनको हैसियत कायम रहने व्यवस्था छ। एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशनअनुसार लिगमा सहभागी हुने क्लबले यसपालिदेखि क्लब लाइसेन्सिङको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले एक वर्षलाई यस्तो छुट दिइएको एन्फा अधिकारीहरूले बताएका छन्।

'यो वर्ष खेल्नेले क्लब लाइसेन्सिङको प्रक्रिया पूरा गर्नुपर्छ। खेल्न नचाहनेले अर्को वर्षबाट क्लब लाइसेन्सिङमा छिरेर सहभागिता जनाउन पाउँछन्। यसपालिलाई लिग क्लबहरूका लागि ऐच्छिक बनाइएकाले रेलिगेसनको प्रावधान पनि छैन,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नागरिकसँग भने, 'तर सबै १२ क्लबको सहभागिता भयो भने चाहिँ रेलिगेसनको व्यवस्था पनि हुन्छ।'

एन्फाको लापरबाहीका कारण एएफसी कप खेल्ने मौकाबाट वञ्चित भएको थ्री स्टार क्लबले सबैखाले फुटबल नखेल्ने निर्णय गरेका कारण पनि यसपालि लिगमा सबै टोली सहभागी हुने सम्भावना न्यून छ। एन्फाले समयमा टिम दर्ता नगराएका कारण एएफसीले छनोट चरण पार गरेको थ्री स्टारलाई प्रतियोगिताको नकआउट चरणबाट बाहिर धकेलेको थियो। थ्री स्टारले त्यसको विरोधमा एन्फासँग ६ करोड रुपियाँ क्षतिपूर्ति माग गरेको छ। क्षतिपूर्ति नपाएसम्म गत वर्ष सम्पन्न राष्ट्रिय लिग विजेता क्लबले कुनै पनि प्रतियोगिता नखेल्ने निर्णय गरेको छ।

मंगलबार बैठकमा अनौपचारिक रूपमा आफ्ना कुरा राख्न मात्र सहभागी भएको बताउँदै थ्री स्टारका महासचिव सञ्जीव शिल्पकारले एन्फा क्लबको समस्याप्रति गम्भीर नभएको बताएका छन्। 'थ्री स्टार जोडिएको यो विषयमा एन्फा गम्भीर छैन। उहाँहरूले यसलाई अत्यन्तै सामान्य रूपमा लिनुभएको छ,' शिल्पकारले भने, 'एन्फाको व्यवहारका कारण समस्या सुल्भि्कने देखिँदैन। एन्फाले थ्री स्टारलाई पाखा लगाएर लिग गर्न चाहेको जस्तो देखिन्छ। जुन नेपाली फुटबलका लागि अत्यन्तै दुर्भाग्यजनक कुरा हो।'

थ्री स्टारको विवादसँगै वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका कारण पनि प्रस्तावित समयमा लिग नहुने सम्भावना छ। सिइओ तुलाधरका अनुसार बैठकमा नेपाल पुलिस र एपिएफका प्रतिनिधिले स्थानीय निर्वाचनका कारण वैशाख १५ बाट खेल्न कठिन हुने बताएका थिए। प्रस्तावित समयमा लिग हुन नसक्ने यो अर्को कारण हो।

'उहाँहरूले लिगलाई सुरक्षा दिन नसकिने सम्भावना रहेको बताएपछि हामीले यो हप्ताभित्र सबै पक्षसँग भेटेर निचोडमा पुग्ने योजना बनाएका छौं। एपिएफका आइजी (महानिरीक्षक) ले बिहीबारलाई समय दिनुभएको छ। पुलिसमा पनि सल्लाह गछर्ौं,' तुलाधरले भने, 'थ्री स्टारको विषयमा पनि सहमति गरेर यो हप्ताभित्र लिगको विषयमा निर्णय गर्नेछौं।'

एन्फाले गतसाता एएफसीबाट आएको विज्ञ टोली र क्लबहरूसँगको बैठकमा पनि वैशाख १५ बाट लिग गर्ने सहमति गरेको थियो। त्यसअनुसार सहभागी सबै टोलीलाई तयारी खर्चस्वरूप १५ लाख रुपैयाँ तथा प्रत्येक खेलमा जित्ने टोलीलाई म्याच मनीस्वरूप ५० हजार रुपैयाँ दिने सहमति थियो।

'केही प्राविधिक कारणले भनेको समयमा लिग हुन नसके पनि बाँकी कुरामा सबै क्लबको सहमति छ। हामीले खेलमिलोमतोलाई निरुत्साहित गर्न जित्ने टिमलाई मात्र म्याच मनी दिने र बराबर भए दुवै टिमलाई अत्यन्तै कम दिने सहमति गरेका हौं,' तुलाधरले भने, 'आक्रामक खेललाई प्रोत्साहन गर्न यस्तो अवधारणा ल्याइएको हो। सबै टोलीले समानुपातिक रूपमा राम्रो आम्दानी गर्न सकून् र क्लब खेलेरै बाँच्ने अवस्था आओस् भनेर यस्तो अवधारणा ल्याइएको हो।'

एन्फा र क्लबबीच तयारी खर्च बढाउने र म्याच मनी दिने व्यवस्था गरेपछि पुरस्कार राशि भने अघिल्लो संस्करणको तुलनामा घटाउने सहमति भएको छ। २०७० मा पछिल्लो पटक 'ए' डिभिजन लिग हुँदा विजेताले १ करोड तथा उपविजेताले ५० लाख रुपैयाँ पाएका थिए। यसपालि पुरस्कारको रकम घटाएर तयारी खर्च र म्याच मनीमा रूपान्तरण गर्ने सहमति भएको तुलाधरले जानकारी गराए। 'विगतको तुलनामा पुरस्कार कम हुन्छ। सँगै पहिलो र दोस्रो हुने टोलीले पाउने पुरस्कारको अन्तर पनि कम हुन्छ,' उनले भने।

एन्फाले २०७० को लिगमा तयारी खर्चस्वरूप १० लाख रुपैयाँ दिएको थियो। ०७१ र ०७२ गरी सम्पन्न राष्ट्रिय लिगको पछिल्लो संस्करणमा भने तयारी खर्च १५ लाख रुपैयाँ दिइएको थियो।

प्रकाशित: ३ चैत्र २०७३ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App