१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाली भाषी भारतीय गिरोह सक्रिय

काठमाडौं- सामाजिक सञ्जालमार्फत भइरहेका ठगी घटनामा नेपाली भाषी भारतीय गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीले पुसदेखि थालेको अनुसन्धानमा नेपाली भाषा बोल्न र लेख्न जान्ने समूहले संयौं नेपालीलाई फेसबुकमार्फत ठगी गरेको खुलेको हो।

महानगरीय अपराध अनुसन्धान महाशाखाले फागुन दोस्रो साता पक्राउ गरेका केही व्यक्तिको सम्पर्कमा भारतीय नागरिक नेपाली भाषी रहेको र भाषाकै सुविधा उठाउँदै उनीहरूले संयौं नेपालीलाई ठगेका छन्।

महाशाखाको अनुसन्धानमा ठगीका लागि सम्पर्क गर्ने व्यक्तिको ठेगाना भारतको नागाल्यान्ड देखिएको छ। प्रहरीका अनुसार नागाल्यान्डसहित भारतका अन्य प्रदेशबाट किटो अचमी, शशिकला घलान र सोनिया शर्माजस्ता नामले नेपाली भाषामा दक्ष भारतीयले ठगी गर्दै आएका छन्। गिरोह भारतबाट सञ्चालित रहेको र केही सदस्य युरोप तथा अमेरिकामा समेत हुन सक्ने प्रहरी अनुमान छ।

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले विभिन्न विदेशी नाम र ठेगानाबाट खोलिएका फेसबुक खातामार्फत उपहार, उपचार र भूकम्पपीडितलाई सहयोग रकम भन्दै ठगी भएको अनुसन्धानमा खुलेको बताए। उनका अनुसार हेन्ज उल्फ ग्याग, भ्यालेन्टाइन स्मिथ तथा म्याक स्मिथका नामका फेसबुक खातामार्फत विभिन्न बहानामा ठगी भएको छ।

'खाता विदेशीका नाममा छ, तर ठगीको सुरुदेखि अन्तसम्म नेपाली भाषामा दख्खल राख्ने व्यक्तिले सम्पर्क बढाएको देखिएको छ', एसएसपी अमात्यले भने। उनका अनुसार गिरोहले सुरुमा ठगीका लागि नेपाली महिलाको ठूलो समूहलाई ठग्ने र पछि उसकै बैंक खाता प्रयोग गर्ने गरेका थिए।

संगठितमा अदालतले म्याद दिएन

सामाजिक सञ्जालमार्फत ठगी प्रकरणमा तीन विदेशीसहित नेपालमै ठूलो गिरोह रहेको र ठगिनेको संख्या संयांै रहेकाले अनुसन्धानका लागि  संगठित अपराध निवारण ऐनअनुसार अदालतसँग मागेको म्याद महाशाखाले पाएन। महाशाखाले काठमाडौं जिल्ला अदालतमा पक्राउ परेका व्यक्ति र सञ्जालको अनुसन्धानका लागि सोमबार संगठित अपराधअन्तर्गत थप म्याद मागेको थियो। तर अदालतले ठगीमा दर्ता भएको मुद्दालाई सोही शीर्षकअन्तर्गत अनुसन्धान टुंग्याउनु भन्दै प्रहरीलाई म्याद दिएन। संगठित निवारण ऐनअन्तर्गत अनुसन्धानका लागि ६० दिन पाउने भएका कारण प्रहरीले यसमा जोड दिएको थियो।

ठगीमा वैदेशिक रोजगारका पूर्वअध्यक्ष

महाशाखाले फेसबुक ठगी अनुसन्धानमा वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष प्रेम कटुवाल र देवकी रैलाको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको छ।

दर्जनौं सर्वसाधारणबाट ठगी भएको रकम कटुवाल र रैलाको खातामा जम्मा भएको तथ्य प्रहरीले फेला पारेको हो। विदेशी नाममा खोलिएका फेसबुक खातामार्फत साथी बनेका अधिकांश महिला महँगो उपहारका बहानामा ठगिँदै आएका छन्।

घटना अनुसन्धान गरिरहेका डिएसपी शिव श्रेष्ठका अनुसार पीडितले कटुवाललाई ३० लाखभन्दा बढी र रैलालाई करिब नौ लाख बुझाएको प्रमाण भेटिएको छ। कटुवालले आफ्नो ब्लु स्काई म्यानपावरमा कार्यरत कर्मचारी ख्वमनारायण मानन्धरलाई प्रयोग गरी पीडित महिलाले पठाएको रकम बुझ्ने गरेका थिए। उनकै कर्मचारी मोतीराम भट्टराईसमेत घटनामा संलग्न छन्।

'नाम मानन्धरको तर नम्बर कटुवालको थियो, कटुवालले नै मानन्धर बनेर कुरा गर्ने तथा उसकै नाममा रकम मगाएको खुलेको हो,' डिएसपी श्रेष्ठले भने। उनका अनुसार रैलालाई भने पीडित महिलाले घरमै पुगेर रकम बुझाएका हुन्।

भूकम्पपीडितलाई आर्थिक सहयोग, महँगो उपहार र भारतमा उपचारका लागि आएको अमेरिका र युरोपबाट डलर तथा युरो मगाउन नमिल्ने भन्दै नेपाली नागरिकको स्टेट बैंक अफ इन्डिया (एसबिआई) को खाता गिरोहले उपयोग गर्दै आएको थियो। गिरोहले फेसबुकमा साथी रहेका दर्जनौं महिलालाई एक जनाबाट ठगी गरेको रकम अर्कोको खातामा राख्न पठाउने तथा सो खाताको मास्टर र भिसा कार्ड नै भारत मगाउने गरेको थियो।

यसरी हुन्छ ठगी

राधिका (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। उनले सरसर्ती अनुरोध गर्ने युवाको व्यक्तिगत विवरण हेरिन्। युवा युरोपमा बस्ने विदेशी नागरिक रहेछन्।

उनीजस्तै काठमाडौंकी अर्की एक महिलाले फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रुपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन्। तर उपहार हात पर्न सकेको छैन। उनलाई सुरुमा साथी बनाएर उनका व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए। उनलाई सबैभन्दा आकर्षक लाग्ने वस्तुका विषयमा सोधेको र सोही वस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए। उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा रकम पठाएको अर्को दिनदेखि सामाजिक सञ्जालबाटै हराए।

उनलाई भारत र भैरहवाबाट भन्सार भन्दै उतैको नम्बरबाट फोन गरी रकम माग भएको थियो। केही लाख खर्च गरेर लाखौंको सामग्री पाउने चाहनामा उनले आफ्नो आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ। 

महाशाखामा फेसबुक ठगीको यसै घटनासँग जोडिएका दुई दर्जन बढी निवेदन परेका छन्। ठगिनेमा अधिकांश युवती र महिला छन्। अधिकांशलाई उपहारको लोभमा भारत र नेपालबाट भन्सार र भाडाबापतको रकम भन्दै पैसा मागिएको छ। केही युवतीसँग भने अश्लील दृश्य संवादमात्र गरिएको महाशाखाले जनाएको हो।

यसै घटनासँग जोडिएका अनिलबोकी श्रेष्ठलाई गत पुसमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

ब्युरोले मंसिर २३ मा एक महिलाको उजुरीपछि ललितपुर सुन्धाराका श्रेष्ठ र काठमाडौं वनस्थलीकी अनिता महर्जनलाई नियन्त्रणमा लिएर कारबाही थालेको थियो। दुवैले ठगिने महिलाले पठाएको रकम व्यवस्थापन गर्न सघाएको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

'पत्याउनै नसक्ने परिवारका पढेलेखेका महिला पीडित भएको भेटियो, गिरोहका सदस्यले आफू युरोप र अमेरिकामा बसोबास गर्ने नेपाली भएको विश्वास दिलाएपछि मात्र ठग्ने योजना अघि सार्ने गरेका छन्', ब्युरो प्रमुख डिआईजी सिलवालले भने, 'कसैले भनेकै भरमा पत्याउँदा यहाँ अस्मिता र सम्पत्ति दुवै खतरामा छन्।'

प्रहरीले घटना अनुसन्धानका लागि आवश्यकताअनुसार फेसबुकको प्रधान कार्यालय र इन्टरपोलसमेतको सहयोग लिने भएको छ। पीडितको बयानमा रकम पठाएपछि ठग्ने व्यक्तिले फेसबुक खाता निष्त्रि्कय बनाउने र फोन आएको नम्बरसमेत बन्द हुँदै आएको छ।

प्रकाशित: ३ चैत्र २०७३ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App