१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोर्चाले टेरेन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मोर्चाको बुधबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि जारी  विज्ञप्तिमा 'वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पूरा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने' उल्लेख छ।

मोर्चामा आबद्ध  सबै दलले पार्टीको छुट्टाछुट्टै लेटरप्याडमा समर्थन फिर्ता लिइएको बेहोरासहितको पत्र बिहीबार सभामुखलाई बुझाउने नेताहरूले बताएका छन्।

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालले भने बुधारै सभामुखलाई पत्र लेखेर समर्थन फिर्ता लिएको जानकारी गराएपछि मोर्चालाई यस्तो निर्णय लिन दबाब परेको हो। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बिहीबार बिहान ११ बजे मोर्चामा आबद्ध फोरम नेपालबाहेक सबै दलले सभामुखलाई छुट्टाछुट्टै  पत्र लेखेर औपचारिक रुपमा समर्थन फिर्ता लिएको जानकारी गराउने बताए। 'आज (बुधबार) सभामुखलाई चिठी पठाउने समय सकियो। भोलि (बिहीबार) समर्थन फिर्ता लिएको पत्र सभामुखलाई दिनेछौं,' महतोले भने। मोर्चाले फागुन २३ गते  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर सात दिनभित्र माग पूरा नभए स्वतः समर्थन फिर्ता हुने जनाएको थियो।

मोर्चा बैठकले बिहीबारदेखि निर्वाचन आयोगले घोषणा गरेका निर्वाचनसम्बन्धी सबै कार्यक्रम र स्थानीय तह पुनःसंरचनामा  पूर्णतः असहयोग आन्दोलन गर्ने निर्णय गरेको छ। यसैगरी चैत १३ गते सप्तरी घटना विरोध र  सप्तरीलगायत सबै जिल्ल्ाा सदरमुकाममा मृतकप्रति श्रद्धाञ्जली सभा गर्ने निर्णय बैठकले गरेको छ। चैत १५ गते जिल्ल्ाा निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम मोर्चाले सार्वजनिक गरेको छ। चैत १५ गतेपछि अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने मोर्चाका नेताले बताएका छन। 'अहिलेको आन्दोलनको कार्यक्रम चैत ३ देखि १५ गते सम्मका लागि हो। १५ गतेपछि फेरि अर्को चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्छौं,' तमलोपा सहमहामन्त्री राकेश मिश्रले भने।

सभामुखलाई सुटुक्क चिठी 

बुधबार दिउँसो एक बजेदेखि तमलोपा पार्टी कार्यालय बिजुली बजारमा मधेसी मोर्चाको बैठक बसिरहेका बेला मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालले एक्लै  सभामुखलाई चिठी लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो। फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले एक्लै सभामुखको कार्यकक्ष पुगेर  चिठी बुझाएका थिए। सभामुखलाई चिठी बुझाइसकेपछि उनले मोर्चाका अन्य दलले पनि समर्थन फिर्ताको पत्र बुझाउने कार्यक्रम रहेको बताएका थिए। 'हामीले चिठी बुझायौं। अब अरु दलले पनि चिठी बुझाउँदै छन्' नागरिकसँग यादवले भने।

स्रोतका अनुसार सभामुखलाई चिठी बुझाउनु अघि फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले मोर्चामा यसबारे कसैलाई पनि  गराएका थिएनन्। फोरम नेपालले एक्लै समर्थन फिर्ताको पत्र सभामुखलाई बुझाएको जानकारी भएपछि मोर्चाको बैठक लम्बिएर राती ८ वजेसम्म्ा चलेको थियो। सुुटक्क चिठी बुझाएको बारेमा मोर्चाका नेताले उपेन्द्रसँग आक्रोश पोखेका थिए।

स्रोतका अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुर चिठी लेखेरै समर्थन फिर्ता लिने पक्षमा थिएनन्। वर्तमान सरकारको विकल्पमा मोर्चाका लागि झनै खतरनाक सरकार आउन सक्ने भन्दै ठाकुरले यसबारे पुनर्विचार गर्नुपर्ने धारणा बैठकमा राखेका थिए।

अब के हुन्छ? 

संसद्मा मधेसी मोर्चाको ४१ सिट छ। मोर्चाले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा भने पर्दैन तर पनि  नैतिक रुपमा सरकारलाई संकट पर्ने नेता बताउँछन्। 'हामीले समर्थन फिर्ता लिएपछि नैतिक रुपमा सरकार संकटमा पर्छ', सद्भावना पार्टी महासचिव मनिष सुमनले भने।

संसद्मा १४ सिट भएको विजय गच्छदारले नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउने प्रयास प्रधानमन्त्रीले गरेका छन्।  ३७ सिट भएको राप्रपा अध्यक्ष कमल थापा सरकारमा गइसकेका छन्।

प्रकाशित: ३ चैत्र २०७३ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App