१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राेकिएन ज्यादती, एसएसबीलार्इ सँधै उन्मुक्ति

फाइल तस्बिरः मोरङ, अमाहिबरियातीका वासुदेव साहकी शोकमग्न पत्नी र छोरी

अजित तिवारी(विराटनगर)/अमर खड्का(इटहरी)/राजु अधिकारी(झापा)–

६ वर्षअघि, जेठ ११ गते मंगलबार साँझ । मोरङ, अमाहिबरियातीका हरीशचन्द्र मण्डल एक टिन खाने तेल बोकेर नेपाल पसे । उनलाई मोटरसाइकलमा पछ्याउँदै दुई भारतीय सुरक्षाकर्मी पनि छिरे । मोरङको त्यो सीमावर्ती गाउँमा पोसाकमै हतियारसहित छिरेका एसएसबीका ती दुई र मण्डलबीच लछारपछार भइरह्यो । 

नजिकै रहेका अमाहिवरियाती प्रहरी चौकीका हबलदार शम्भु चौधरीलाई त्यो सह्य भएन । उनी प्रतिवाद गर्न पुगे । सँगै केही गाउँले पनि एकत्रित भए । त्यही भीडमा थिए, अमाही–७ का ५५ वर्षीय वासुदेव साह । तस्करी गरेर खाने तेल नेपाल ल्याएकोे निहुँमा मण्डललाई नेपालमै पसेर कुटेपछि हबलदार चौधरीले प्रतिवाद गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलायो । छाती तोकेरै चलाएको गोली चौधरीले छले, पछाडि उभिरहेका साहलाई लाग्यो । उनी त्यहीं ढले । 

गोली हानेपछि उनीहरू बिआर३८ बी ००३६ नम्बरको मोटरसाइकल घटनास्थलमै छाडेर भागे । एसएसबीले आफ्नै भूमिमा छिरेर गोली हानेको घटनापछि अमाहिबरियालीका स्थानीय आक्रोशित भए । रातभर प्रदर्शन गरे । सीमामा तनाव बढ्यो । 

सीमावर्ती भारतीय कुवाडीबजार पूर्वीदक्षिण मोरङवासीको किनमेल गर्ने थलो हो । ‘एसएसबीले पेस्तोल ताकेपछि म छलिएँ’, प्रहरी चौकी अमाहिबरियातीका हबलदार चौधरीले नागरिकसँग भनेका थिए, ‘गोली वासुदेवको छातीमा लाग्यो ।’ 

एसएसबीको लैलोखरस्थित क्याम्प अमाहिबरियातीबाट एक किलोमिटर टाढा छ । एसएसबीको गोली लागेर निधन भएका साहलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति माग गर्दै परिवार र गाउँलेले उनको अन्तिम संस्कार गर्न रोके । जिल्ला प्रशासन कार्यालय, मोरङले सहिद घोषणा र क्षतिपूर्तिका लागि सरकारलाई लेखेर पठाएपछि साहको अन्तिम संस्कार गरिएको थियो । ‘एसएसबीले अनाहकमा बाबुको ज्यान लियोे’, वासुदेवकी छोरी लक्ष्मीदेवी साहले भनिन्, ‘६ वर्ष बितिसक्यो, दोषीलाई कारबाही भएन, हामीले क्षतिपूर्ति पनि पाएनौं । सहिद घोषणा त हामीलाई ढाडस दिनमात्र भनियो ।’ साहका तीन छोरा र चार छोरी छन् । 

एसएसबीको गोली लागेर साहको मृत्यु भएपछि सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने र उनका दुई छोरालाई सरकारी जागिरमा सिफारिस गर्ने आश्वासन दिएको थियो । ‘क्षतिपूर्ति र बुवालाई सहिद घोषणाका लागि धेरैपटक सिडिओ कार्यालय पुगें’, लक्ष्मीले भनिन्, ‘सबै प्रयास व्यर्थ भयो ।’ साहका छोरा किशोरले नेपाल प्रहरीमा जागिरका लागि प्रयास पनि गरे । ‘तर, भर्तीका बेला कसैले सहयोग गरेन,’ किशोरले भने, ‘दुईपटक प्रहरीमा भर्तीको आवेदन दिए पनि जागिर पाइनँ ।’
    जिल्ला प्रशासन कार्यालय, मोरङले साह परिवारलाई क्षतिपूर्ति दिलाउन पहल नगरेको आरोप पीडित परिवारले लगाएका छन् । ‘नेपाल सरकारले खासै चासो देखाएन’, साहकी पत्नी उर्मिलादेवीले भनिन्, ‘भारतले क्षतिपूर्ति दिएन भनेर हुन्छ, सहिद पनि भारतले नै घोषणा गर्ने हो र ? अल्झाउने काम मात्र भइरहेको छ ।’
    एसएसबीको पूर्णियास्थित सेक्टर हेडक्वाटरका तत्कालीन डिआइजी केपी सिंहले ‘नेपाली तस्कर’ ले एसएसबी अधिकारीलाई कुटपिट गरेपछि ‘आत्मरक्षा’ मा गोली चलाउँदा घटना भएको दाबी गरेका थिए । नेपाली भूमिमै पसेर एसएसबीले गरेका ‘बदमासी’ को छानबिन र कारबाही हुँदैन । सीमावर्ती क्षेत्रका दुवै देशका सुरक्षा अधिकारीले घटनाबारे ‘बुझ्ने’ काम मात्र गर्छन् । पीडित पनि राहत र क्षतिपूर्तिको लोभमा एसएसबीको बद्मासीविरुद्ध संघर्ष गर्दैनन् । 

न न्याय, न क्षतिपूर्ति

एक वर्षअघि नेपाल छिरेर एसएसबीका जवानले सुनसरी हरिपुर–७ मा गाउँलेमाथि अन्धाधुन्ध गोली प्रहार गरे । गोली लागेर स्थानीय २८ वर्षीय अशोक यादव घाइते भए । उनको उपचारमा चार लाख रुपैयाँ खर्च भयो । गोली त झिकियो तर उनी उपचारको ऋणबाट मुक्त हुन सकेनन् । एक लाख ५० हजार रुपैयाँ सरकारी निर्णयमा छुट पाए । 

उनले सरकारी पक्षसँग क्षतिपूर्तिको आशा गरेका छन्, तर पाएका छैनन् । ‘क्षतिपूर्ति पाइन्छ भनेर आशा गर्दै एक वर्ष बितिसक्यो’, उनले भने । नेपाली गाउँमा प्रवेश गरी गोली हान्ने एसएसबीका जवानलाई कारबाही भएको जानकारी नआउँदा पनि उनलाई पीडा हुन्छ । 
    त्यही बस्तीमा गोली लागेर घाइते भएका ३० वर्षीय सरोजकुमार यादवका अनुसार गाउँलेललाई एसएसबीका जवानले जतिसुकै बेला आक्रमण गर्न सक्ने त्रास हुन्छ । ‘आफ्नो भूमिमा त्राहीमाम भएर बस्नुपरेको छ, अनि गोली लागेर घाइते हुँदा पनि क्षतिपूर्ति नदिँदा अन्याय गरेजस्तो लागेको  छ’, उनले भने । 
    २०७२ मंसिर ९ गते नेपाली गाउँमा प्रवेश गरी सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका बिकान्त सारावतले चारजना नेपालीलाई गोली प्रहार गरेका थिए । भारतीय प्रहरीले गोली प्रहारलगत्तै गल्तीस्वीकारेको थियो । एसएसबीका जवानले त्यतिबेला हरिपुरमा छिरेर गोली हान्दा स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए । अशोकको छातीको बाया भागमा, सरोजको तिघ्रामा, नरेशको कम्मर र मनोजको खुट्टामा गोली लागेको थियो । चारै जनाले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् ।

जनताले रोके ‘दादागिरी’

भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर लामो सीमा क्षेत्रका बासिन्दाका लागि भारतीय सुरक्षाकर्मीको हैकम कहिल्यै नौलो हुन्नथ्यो । कहिले ‘तस्कर पछ्याएको’ बहानामा अनि कहिले ‘बाटो भुलेको’ निहुँमा नेपाली भूमि प्रवेश गर्ने र केही न केही वितण्डा गरिरहने भारतीय सुरक्षाकर्मीको ज्यादती भोग्ने नाकाका बासिन्दाको संख्या सधैं बढेकै हुन्थ्यो । 

तर, वर्ष दिनअघिको एउटा घटना भारतीय सुरक्षाकर्मीका लागि यस्तो ‘पाठ’ साबित भयो, त्यसयता उनीहरूले नेपाली भूमि पसेर ‘दादागिरी’ देखाउने हिम्मत गरेका छैनन् । दिनदिनैजसो अनेक बहानामा छिमेकी देशको सुरक्षाकर्मीबाट अपमान र यातना भोग्न बाध्य सर्वसाधारणले संगठित रूपमै गरेको प्रतिरोधपछि पहिलेको तुलनामा पूर्वको नाकामा उनीहरूको हेपाहा कार्यशैली हाबी हुन पाएको छैन ।  
 नेपाली सुरक्षा अधिकारीमात्रै होइन, सीमा नाकाकै बासिन्दाले पनि प्रस्टै अनुभव गरेका छन्,  २०७२ मंसिर १३ गते आइतबार बिहानै दक्षिण झापाको केचना–४ मा गाउँलेले भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको घटनापछि भारतीय पक्ष सतर्क बनेको छ । दिनहुँ नेपाली बस्तीमा प्रवेश गरेर सर्वसाधारण धम्क्याउने, वारिपारि गर्दा अनेक बहानामा दुःख दिने अनि कहिले गाउँले प्रयोग गरेर सीमा मिच्न उक्साउने भारतीय रबैया त्यसयता दोहोरिन नपाएको सर्वसाधारणको भनाइ छ । 

‘गत वर्षको केचना प्रकरणपछि भारतीय पक्ष पहिलेजसरी पेस भएको देखिएको छैन’, दक्षिणको नाका बनियानीका बासिन्दा दयाराम दाहालले भने, ‘त्यो घटनापछि उनीहरूले नेपालमै पसेर दादागिरी देखाउने हिम्मत गरेका छैनन् ।’ त्यसअघिसम्म झापाका पृथ्वीनगर, बाहुनडाँगी, काँकडभिट्टा, केचना, बनियानी, ज्यामिरगढी, खजुरगाछी लगायतका नाकामा हतियारधारी भारतीय सुरक्षाकर्मी पटकपटक नेपाल पस्ने र नेपालीलाई दुःख दिने गर्थे । 

२०७२ मंसिर १३ गते केचना–४ का लाल मोहम्मद आलमको घरमा बिहान चार बजे नै छिरेको एक हुल हतियारधारी भारतीय सीमा सुुरक्षाबलका जवानले उनकी पत्नीलाई कुटपिट गरे । एकाबिहानै आफ्नै घरमा नचिनेका मान्छेले शरीरमा हात लगाउँदा आत्तिएकी उनी  चिच्याइन् । उनलाई त्यो समूहले नकराउन भन्दै थप्पड लगायो ।  ‘यता तेल र सुपारी तस्कर कहाँ छन् भन्’ भन्दै उनलाई केर्न थाले । कोही घरभित्र पसेर सरसामान हेर्न थाले । घरधनी लाल मोहम्मद आत्तिँदै बाहिर निस्के । उनी बाहिर निस्केर होहल्ला गर्दा छिमेकी भेला हुन थाले । 

गाउँलेले प्रतिवाद गरे । भारतीय फौज नेपाल पसेर कुट्न–पिट्न नपाइने भन्दै गाउँलेले हल्ला गर्न थालेपछि एसएसबीको अत्याधुनिक हतियार बोकेका एक जवानले बन्दुक ताकेर धेरै बोले गोलीले उडाइदिने धम्की दिए । आलमको घरसँगै जोडिएको सशस्त्र प्रहरी पोस्टबाट उनको घरमा आएका नेपाली सुरक्षाकर्मीले पनि के गरेको भनेर ठूलो स्वर गरेका थिए । तर, एसएसबीका जवानले सशस्त्रका सुरक्षाकर्मीलाई पनि बन्दुक ताके ।  

त्यतिबेलासम्म आलमको आँगनमा सयौं गाउँले भेला भइसकेका थिए । उनीहरूले एसएसबीको ज्यादती अति भएको भन्दै हल्ला गर्न थाले । होहल्ला धेरै भएपछि नजिकैको बाँसघारीमा बसिरहेका एसएसबीकै थप सुरक्षाकर्मी घरसम्म आए । उनीहरू पनि गाउँलेबाट घेरिन थाले । 
    गाउँलेले कुटपिट गर्ने र आक्रमण गर्ने त्रास उच्च भएपछि सशस्त्र प्रहरी निरीक्षक भीमलाल चौधरी नेतृत्वको टोलीले उनीहरूलाई गाउँलेको कब्जाबाट सुरक्षित रूपमा उद्धार ग¥यो । त्यसपछि सात घन्टासम्म नियन्त्रणमा राखेर नेपाली पक्षले ती एसएसबीलाई भारततिर लगेर बुझाइदियो । ‘त्यो घटना झापाको नाकाका लागि ‘टर्निङ प्वाइन्ट’ भयो’, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका एक अधिकृतले भने, ‘त्यसयता उनीहरूले त्यस्तो हर्कत देखाएका छैनन् । यस्तो गुनासो सुनिएको पनि छैन ।’ ती अधिकृतका अनुसार अहिले पनि वारिपारि गर्नेलाई भारतीय भूमिमै गरिने केरकारको क्रम त जारी छ । तर, नेपाली भूमिमै आएर दादागिरी देखाउने क्रमचाहिँ रोकिएको छ । ‘यो कहिलेसम्म हुन्छ थाहा छैन’, उनले भने । 
    जानाजान नेपाली भूमिमा हतियारसहित पस्ने र नेपाली धम्क्याउने वा पिट्ने घटना त्यसअघि बाक्लै हुन्थ्यो ।  दुई वर्षअघि मात्रै महेशपुर क्षेत्रको नेपाली भूमिमा भारतीय नागरिकले खेतीपाती लगाउन खनजोत गरे । स्थानीयले  प्रतिवाद गर्न खोज्दा भारतीय सुरक्षाकर्मी पहरामा खडा भएका थिए । 
त्यो घटना भएको केही समय नबित्दै भारतीय सुरक्षाकर्मी गौरीगन्ज नाकाबाट नेपाल पसे । मादक पदार्थ सेवनपछि स्थानीयसँग झगडा गरे । जब उनीहरू फर्केर गए खजुरगाछीका ११ जना सर्वसाधारणविरुद्ध झूटो मुद्दा लगाए । ज्यान मार्न खोजेको र आक्रमण गरेको भन्दै उनीहरूलाई दुःख दिए । पछि नेपाली प्रशासनको पहलमा भारतीय पक्षले मुद्दा फिर्ता लिएको थियो । ‘केचना काण्डपछि भारतीय पक्षका सुरक्षाकर्मी केही संयमित देखिएका छन्’, खजुरगाछीका नित्यानन्द राजवंशीले भने, ‘नत्र  जहिल्यै तनाव दिन्थे ।’ 

 

प्रकाशित: २ चैत्र २०७३ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App