१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रुपन्देही र संकटाबीचको फाईनल भेट पक्का

नेपालगन्ज- नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै रुपन्देही–११ ‘टुबार्गे दोस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता’को फाईनलमा प्रवेश गरेको छ। जितसँगै रुपन्देहीले सिएमजी संकटा क्लबसँग फाईनल भेट पक्का गरेको छ । दुबै टिमबीचको फाईनल खेल बिहीबार हुनेछ । नेपालगन्ज रंगशालामा मंगलबार सम्पन्न दोस्रो सेमिफाईनलमा रुपन्देहीका अमर डंगोलले पहिलो हाफको ३६ औं र दोस्रो हाफको ७५ औं मिनेटमा गोल गरेपछि उक्त टिम फाईनलमा पुगेको हो।

पुलिस क्लबका क्याप्टेन जुमानु राईले खेल सुरु भएको ३३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। रुपन्देहीका विदेशी खेलाडी मुसाले डिबक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टीको मौका पाएको थियो। खेलमा रुपन्देहीका अमर डंगोल नै म्यान अफ द म्याच घोषित भए । उनले लेनोभो कम्पनीको मोबाईल सेट प्राप्त गरे । सेमिफाईनलमा पुलिसले ५ जना राष्ट्रिय टिमका खेलाडीलाई मैदानमा उतारेको थियो, भने रुपन्देहीले एक जना विदेशी खेलाडी समावेश गरेको थियो। रुपन्देहीका विदेशी खेलाडी मुसाले उत्कृष्ट खेल प्रर्दशन गरे । यसअघि बुढासुब्बा गोल्डकपमा पुलिसले रुपन्देहीलाई १ शुन्य गोलले सेमिफाईनलमा हराएको थियो ।

रुपन्देहीका प्रशिक्षक दायाराम सापकोटाले खेलाडीले राम्रो मेहेनत गरेका कारण फाईनलमा पुग्न सहज भएको बताए । ‘खेलाडीले राम्रो मेहेनत गरे, हामी सन्तुष्ट नै छौं,’ उनले भने । उक्त टिमका क्याप्टेन दिलिप क्षेत्रीले मेहेनत अनुसार परिणाम आफ्नो पक्षमा आएको प्रतिक्रिया दिए । पुलिस क्लबका प्रशिक्षक कुमार कटुवालले खेलाडीले राम्रो नखेल्दा हार बेहोर्नु परेको बताए । ‘हाम्रा सबै खेलाडीले राम्रो खेल्न सकेनन, त्यसैको परिणाम हार बेहोर्नु पर्‍यो,’ उनले भने ‘रुपन्देहीले आज राम्रो खेल्यो ।’ पुलिसका क्याप्टेन जुमानु राईले पाएको मौका सदुपयोग गर्न नसक्दा हार्नु परेको बताए । ‘रुपन्देहीले दुई वटा मौका पायो र दुई वटै सदुपयोग गर्न सक्यो,’ उनले भने ।

आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार प्रतियोगिताको उपाधी जित्ने टिमले ५ लाख र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार तथा म्यान अफ द सिरिजले एउटा मोटरसाईकल प्राप्त गर्नेछन्।

 

प्रकाशित: १ चैत्र २०७३ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App