२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

'निमित्त' महानिरीक्षक पोखरेल अाजदेखि 'कार्यवाहक' बन्लान?

निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल

काठमाडौं— नेपाल प्रहरीको महानिरीक्षक बढुवासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा मंगलबारबाट सरकारलाई अर्को कानुनी संकट थपिँदैछ।

चिकित्सक दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षकको जिम्मेवारी पाएको मंगलबार मध्यरात एक महिना पुग्दैछ । प्रहरी नियमावली, २०७१ को नियम ४६ अनुसार निमित्तको अवधि एक महिनाभन्दा बढाउन पाइन्न। मन्त्रिपरिषद् निर्णयबाट गत फागुन २ मा निमित्त तोकिएका पोखरेलको ३० दिने अवधि मंगलबार पूरा हुँदैछ।

गृह मन्त्रालय उच्चस्रोतका अनुसार निमित्त पाएका पोखरेलले नै अदालतकोे निर्णयसम्म निमित्तका रुपमा प्रहरी कमान्ड सम्हाल्ने र अदालतको निर्णयअनुसार अघि बढ्ने रणनीतिमा गृहप्रशासन छ। 

रकारले मंगलबार मध्यरातसम्म अर्को व्यवस्था नगरे कानुनअनुसार पोखरेल नेपाल प्रहरीका कार्यवाहक महानिरीक्षक हुनेछन् । कार्यवाहक दिइसकेपछि फिर्ता गराउन नसकिने कानुनी अड्चनमा सरकार फस्नेछ। 

प्रहरी नियमावलीको नियम ४६ उपनियम ३ अनुसार कार्यवाहकले दज्र्यानी चिह्न, तलबसुविधालगायत प्रहरी महानिरीक्षकसरह अधिकार पाउँछ। गृह मन्त्रालयको मानवअधिकार, कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख सहसचिव निर्मला भट्टराईले निमित्त पोखरेलका विषयमा माथिल्लो तहमा छलफल भइरहेको हुन सक्छ । कानुनअनुसार एक महिना अवधिपछि कार्यवाहक दिनुपर्ने र कार्यवाहक भइसकेपछि फिर्ता ल्याउने व्यवस्था कानुनमा नरहेको उनले बताइन्।

‘कानुनअनुसार एक महिनाभन्दा बढी अवधि निमित्तमा राख्न मिल्दैन, कार्यवाहक दिइए फिर्ता कसरी ल्याउने भन्ने समस्या हो’, उनले भनिन्। प्रहरी नियमावली, २०७१ अनुसार १५ दिनभन्दा बढी निमित्त सम्हालेका नेपाल प्रहरीका २५औं महानिरीक्षकका रुपमा पोखरेलको तस्बिर र रेकर्ड सचिवालयमा चढिसकेको छ। अब बन्ने महानिरीक्षक २६ औं हुनेछन्।

यस्तै, उनले प्रहरी महानिरीक्षककै हैसियतमा तलब सेवासुविधा पाउन थालेका छन्। नियमावलीअनुसार प्रहरीमा कार्यवाहकले फुलीसहित सबै अधिकार प्रत्यायोजन गर्नसक्ने व्यवस्था छ। यस्तो भएमा प्रहरी इतिहासमा पहिलोपटक प्रहरीसम्बन्धी तीनमहिने फौजी तालिम लिएका अधिकारीले संगठनको कमान्ड सम्हाल्ने अवसर पाउनेछन्। 

गृह मन्त्रालय उच्चस्रोतका अनुसार निमित्त पाएका पोखरेलले नै अदालतकोे निर्णयसम्म निमित्तका रुपमा प्रहरी कमान्ड सम्हाल्ने र अदालतको निर्णयअनुसार अघि बढ्ने रणनीतिमा गृहप्रशासन छ। 

विशेष कार्यक्रमका लागि भारत गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रहरी नियमावलीमा रहेका व्यवस्थाका विषयमा कसैसँग चर्चा नगरेको र गृहका अधिकारीले पनि यस विषयमा उनलाई जानकारी नगराएको गृहका एक सहसचिवले बताए।

‘मन्त्रालय अदालतको आदेश पर्खिएर बसेको छ, निमित्त नै निरन्तरता हुन्छ, नियमावलीको व्यवस्थाले खासै फरक पार्दैन होला’, ती सहसचिवले भने। निवर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सरकारको निर्णयपछि प्राविधिक समूहका अतिरिक्त महानिरीक्षक पोखरेललाई एक समारोहबीच फागुन २ गते कमान्ड सुम्पेका थिए। अघिल्ला महानिरीक्षकले प्राविधिक समूहमा रहेका अधिकारी पदीय हिसाबले वरिष्ठ रहे पनि प्रशासन समूहबाटै वरियतामा अघि रहेका अधिकारीलाई जिम्मेवारी सुम्पने र सोको जानकारी गृहलाई दिने गरेका थिए। 

सरकारले नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि परेको रिट विचाराधीन रहेका कारण डा. पोखरेलले निमित्तको जिम्मेवारी पाएका थिए।

 

प्रकाशित: १ चैत्र २०७३ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App