१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

रामपुर(पाल्पा)- चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ।

उनका दुई छोरा र दुई छोरीमध्ये तीनजनाको आँखाले काम नगरेपछि कुमालको जीवनमा सुखको साटो पिडाको भार थापिएको छ। कान्छी छोरी भने सबलाङ्ग छिन्।
चार सन्तानमध्ये जेठी छोरी अहिले १५ वर्ष पुगिन्, १० वर्षको उमेर पुगेपछि दाहिने आँखाले देख्न छाडेपछि आमा जमुनाले धेरै ठाउँमा औषधि उपचार गराएपनि निको भएन । उनी अहिले दृष्टिविहीनले अध्ययन गर्ने मदनपोखराको दमकडा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्छिन्।

जेठो छोरा र कान्छो छोराको पनि समस्या जेठी छोरीको जस्तै छ । यिनीहरुको पनि दाहिने आँखाले काम गर्दैन । कुमाल भन्छिन् – “जन्मँदा केही समस्या थिएन राम्रैसँग देख्थे, धेरै पछि आएरमात्र यस्तो समस्या देखियो” – “उपचारका लागि तीनजनालाई दुःख गरेर रु तीन लाख जति खर्च गरेँ, निको भएन।”

“पारिवारिक सुखका लागि सन्तान जन्माए, सुख पाउनु त कहाँ हो कहाँ, चिन्ता र पिरको भारीले रातदिन सताएको छ” – उनले भनिन्। कमजोर आर्थिक अबस्थाले ज्याला मजदुरी गर्नुपर्ने बाध्यताले थप उपचार गराउन नसकेको र उपचारमा सहयोगी हातहरु कतैबाट पनि नउठेको उनको गुनासो छ ।

जेठो छोरा विवश कुमाल अहिले १२ वर्षका भए, उनी पनि एक वर्षदेखि आँखाको समस्याले ग्रसित छन् । १० वर्षका कान्छो छोरा किरण कुमालको समस्या पनि छ ।

“जन्मँदा शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त थिए, पछि एकाएक तीनैजनाको एउटै समस्या देखापर्‍यो” – आमा कुमालले भनिन्। कान्छी छोरीमात्र तन्दुरुस्त देखिन्छिन् ।

“ऋण काढेर उपचार गर्दा पनि निको भएन, न त धन रह्यो न त सन्तानको अवस्थामा सुधार आयो” – कुमालले बिलौना गरिन् । छोराछोरीको उपचार खर्च र लालनपालनका लागि निकै समस्या परेपछि श्रीमान्लाई विदेश पठाएँ, श्रीमान्ले विदेशमा कमाएको रकम उपचारमै मात्र सीमित रह्यो । विदेशमा कम्पनी बन्द भएपछि श्रीमानले बीचमै घर फर्कनुपरेको पीडा पनि उनले पोखिन्। रासस

 

प्रकाशित: ३० फाल्गुन २०७३ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App