१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय टोली कञ्चनपुर जाँदै

काठमाडौं-भारतीय सीमा सुरक्षा बलकोे गोलीबाट कञ्चनपुरमा नेपाली युवाको मृत्यु भएको घटना छानबिन गर्न संसद्को मानवअधिकार तथा सामाजिक न्याय समिति स्थलगत निरीक्षणमा जाने भएको छ ।
सीमाक्षेत्रमा भएका घटनाको छानबिन गर्नुपर्ने संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य भने यतिबेला भारत भ्रमणमा छन् । सीमाक्षेत्रमा हुने घटना परराष्ट्र मन्त्रालय हेर्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको क्षेत्राधिकारभित्र पर्छ तर मानवअधिकारको विषय सामाजिक न्याय समितिले हेर्ने  भएकाले अध्ययनमा जान लागेको हो ।
मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठले केही दिनमै संसदीय उपसमिति घटनाको स्थलगत निरीक्षणमा जान लागेको  बताए ।
‘सप्तरी र कञ्चनपुर घटना छानबिनका लागि दुईवटा उपसमिति गठन गर्ने निर्णय भइसकेको छ,’ श्रेष्ठले भने, ‘सार्वजनिक बिदा परेका कारण जान ढिला भयो, एकदुई दिनमै स्थलगत निरीक्षणमा जान्छौं ।’
मधेस आन्दोलनका क्रममा पनि प्रहरीको गोली टाउकोमा प्रहार भएको र सप्तरीमा पनि त्यही घटना दोहोरिएकाले अनुगमनमा जान लागेको श्रेष्ठले बताए ।
प्रहरी नियमावली र अन्तर्राष्ट्रिय कानुनले गोली चलाउनुपर्ने अन्तिम अवस्था आएमा कम्मरमुनि हान्न सक्ने भनेको अवस्थामा किन टाउकोमा गोली हानियो त्यसको अध्ययन गर्न पाँच जना सांसदको टोली घटनास्थल जान लागेको उनले बताए ।
मानवअधिकार हननका सम्पूर्ण घटना हेर्न र त्यसमा भएका कमजोरीमा सरकारलाई निर्देश गर्ने जिम्मेवारी मानवअधिकार समितिको भएकाले अध्ययनमा जान लागेको श्रेष्ठले बताए ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरू कल्चरल भिजिटका लागि गत साता भारत भ्रमणमा गएका थिए । समिति सभापति प्रभु साहको नेतृत्वमा गएको संसदीय टोलीले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशसचिव एस जयशंकरलगायत अधिकारीहरूसँग भेटवार्ता गरेको थियो ।
भारत भ्रमणमा गएका सांसदहरू आइतबार स्वदेश फर्किंदैछन् । ‘समिति सभापति फर्केपछि बैठक बसेर आवश्यक निर्णय लिन्छ’, समिति स्रोतले भन्यो । नेपाली भूमिमा विदेशी सुरक्षाकर्मीबाट भएको गोली प्रहारको घटना छानबिन गर्नुपर्ने आवाज संसद्मा पनि उठेको छ ।
समितिले स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन दिनेछ । समितिलाई घटनामा कुनै व्यक्ति वा संस्थाको कार्य गलत देखिएमा कारबाही गर्न निर्देशन दिन सक्ने अधिकार छ ।
शुक्रबारको व्यवस्थापिका संसद् बैठकमा कञ्चनपुर घटनामा सरकारले लाचारी प्रस्तुत गरेको भन्दै आलोचना भएको थियो ।
सप्तरीमा राजनीतिसँग सम्बन्ध नभएका व्यक्तिको मृत्यु भएको भन्दै आलोचना भएको थियो । दुवै घटना सम्बोधन गर्दै सरकारले क्षतिपूर्ति र सहिद घोषणा गरी उचित छानबिनका लागि समिति गठन गरेको छ । सरकारले गरेको छानबिनबाहेक संसद्को समितिको पनि आफ्नै दायित्व भएको भन्दै समितिले उक्त क्षेत्रमा जाने निर्णय गरेको थियो ।
सप्तरीमा एमालको मेची महाकाली यात्राको क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच सर्वसाधारणले ज्यान गुमाएका थिए । सीमामा भारतीय एसएसपीको गोली लागेर कञ्चनपुरमा गोविन्द गौतमको ज्यान गएको थियो । उक्त घटनामा सुरुमा भारतीय पक्षले गोली चलाएको अस्वीकार गरेको थियो । भारतीय दूतावासले जारी गरेको विज्ञप्तिविपरीत भोलिपल्ट विदेश मन्त्रालयले अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
भारतीय पक्षले छानबिनका लागि पोस्टमार्टम रिपोर्ट मागेको छ ।
 

प्रकाशित: ३० फाल्गुन २०७३ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App