१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

दोहोरिइरहने दुर्घटना

करिब दुई वर्षअघि बस दुर्घटनामा परी ५४ जनाको ज्यान गएको घटना पीडितपक्षले राम्ररी भुल्न नसक्दै जाजरकोटमा बिहीबार अर्को सडक दुर्घटना भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट साल्मा गाविसको खारातर्फ जाँदै गरेको बस बोहरास्थित मूलसडकबाट दुई सय मिटर तल पासागाड खोलामा खस्दा २६ जनाको मृत्य भएको र ४० जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेमध्ये दुईतिहाइको अवस्था गम्भीर छ। सबैलाई थाहा भएकै तथ्य हो– हाम्रा पहाडी सडक साँघुरा र घुम्तीयुक्त छन्, तिनको समयमा मर्मतसम्भार हुँदैन। यसकारण पनि सवारी सुस्त गतिमा चलाउनु आवश्यक हुन्छ भने खराब सडकका कारण चालक बढी नै अनुभवी हुनु जरुरी छ। तर, प्रत्यक्षदर्शी तथा प्रहरीको भनाइअनुसार हरेक दुर्घटनामा चालकको लापरबाही र बसको खराब अवस्था कारक बन्दै आएको छ। बिहीबार दुर्घटनामा परेको बस धकेलेर स्टार्ट गर्नुपर्ने, भनेको बेलामा बे्रक नलाग्ने, घुमाउनै गाह्रो पर्ने स्टेयरिङयुक्त थियो। यही कारण अनाहकमा २६ जना सर्वसाधारणले ज्यान गुमाउनुपर्‍यो भने झन्डै साढे तीन दर्जनले घाइते बन्नुपर्‍यो। नेपालमा सडक दुर्घटनाको तथ्यांक नै पनि भयावह छ र यो क्रम बढ्दो छ। वार्षिक रूपमा झन्डै १० हजार सडक दुर्घटना हुन्छन्, त्यसबाट दुई हजारभन्दा बढीको ज्यान जान्छ भने आठ हजारजति घाइते हुन्छन्।

सरकारले हालै २० वर्ष पुराना सार्वजनिक सवारी देशभरिबाटै हटाउने निर्णय गरेको छ। उक्त निर्णय तत्कालै कार्यान्वयनमा लैजानु आवश्यक छ। राजधानी उपत्यका तथा कतिपय सुगम क्षेत्रबाट सरकारले पुराना सवारी हटाउन सफल भए पनि मोफसलमा यो नीति राम्ररी लागु गर्न सकिरहेको छैन। पहाडी सडकमा गुड्ने सार्वजनिक सवारीमाथि प्रहरी निगरानी पनि फितलो हुने गरेको छ। प्रहरीले ठाउँठाउँमा छड्के जाँच गरेर बसको गति, यात्रु संख्या तथा चालकको अवस्थाबारे निगरानी गर्न सक्दा दुर्घटना नियन्त्रणमा मद्दत पुग्छ। सरकारले सडक कर असुलीमा कडाइ गर्ने, तर सडकको अवस्था सुधारमा भने ध्यान नदिने गरेको पनि देखिएको छ। सम्भावित दुर्घटनाका क्षेत्रमा सडक किनारामा फलामे बार लगाउने, चालकलाई संकेत मिल्नेखालका जानकारीमूलक बोर्डको व्यवस्था गर्ने काम हुन सकिरहेको छैन। अनुमतिपत्र दिँदा होस् या बढी यात्रु बसमा राख्दा अथवा मापसे जाँच गर्दा प्रहरीले …लेनदेन' लाई प्राथमिकता दिँदा पनि दुर्घटना हुने गरेको अवस्था छ। सदरमुकाम खलंगामै प्रहरीले कडाइका साथ जाँच गरेर अधिक यात्रु बोक्न नदिएको भए दुर्घटना हुने सम्भावना रहँदैनथ्यो। उता, दुर्घटना भइसकेपछि घाइतेको शीघ्र उपचारको व्यवस्था हुन नसक्नाले पनि ज्यान गुम्ने गरेको स्थिति छ। पहाडी राजमार्गवरपर स्वास्थ्यचौकी र आवश्यक औषधिको व्यवस्था हुन सकिरहेको छैन। स्वास्थ्यचौकी भए पनि तिनमा अत्यावश्यक औषधि नपाइनु र स्वास्थ्यकर्मी नभेटिनु सामान्य हुन पुगेको छ! गम्भीर घाइतेलाई हेलिकप्टर वा एम्बुलेन्सबाट सुविधायुक्त अस्पताल लैजान नसक्नाले पनि मृतकको संख्या बढ्ने गरेको देखिन्छ।

खलंगा दुर्घटनामा परेको बसमा कति यात्रु थिए भन्ने यकिन छैन। तर, मृत्यु भएका र घाइतेको संख्या मात्रै जोड्दा पनि ६० नाघ्छ। एउटा बसले बोक्ने यात्रु यति धेरै हुनु कदापि हुँदैन। यत्रो भार पुरानो बसले थेग्नै सक्दैन। त्यसमाथि अधिक घुम्ती, साँघुरो र कच्चीजस्तै अवस्थाको सडकमा त झन् …ओभरलोड' खतरनाक हुन्छ। जाजरकोटलगायत अन्य पहाडी भेगमा भएका विगतका सडक दुर्घटनाको मुख्य कारणमध्ये बसमा बढी यात्रु कोच्नु रहेको देखिन्छ। कतिपय सडकमा सरकारी स्वीकृति(रुटपर्मिट) बेगर नै सार्वजनिक यातायात सञ्चालन भएको पाइन्छ। रुटपर्मिट दिइएका सडकमा पनि यातायात व्यवसायीको …सिन्डिकेटराज'ले थोत्रा गाडी चलाइने र क्षमता भन्दा बढी यात्रु कोच्ने चलन नियमित बन्दै आएको छ। त्यतिमात्र होइन, व्यवसायीले कम तलबमा काम गर्ने चालक खोज्नाले पनि दुर्घटना निम्तने गरेको प्रहरीको भनाइ छ। अनुभवी चालकले साँघुरा तथा कच्ची सडकमा बस दु्रत गतिमा चलाउँदैनन्। तर, सिकारु वा भर्खरै चालक अनुमतिपत्र लिएका व्यक्तिले जसरी हुन्छ बढी यात्रु बोक्ने र चाँडो गन्तव्यमा पुर्‍याउने प्रतिस्पर्धा गर्नाले दुर्घटना हुने गरेको देखिन्छ। जसरी हुन्छ पैसा कमाउने उद्देश्य बोकेका व्यवसायी तथा चालक, जिम्मेवारी बिर्सेर घूस खान पल्किएका प्रहरीका कारण विवश यात्रुले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने सकसपूर्ण अवस्थाको अन्त्य अत्यावश्यक छ।

प्रकाशित: २९ फाल्गुन २०७३ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App