१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा फरक फागु

भक्तपुर- आज आइतबार भक्तपुरवासी फरक किसिमले फागु मनाउँदै छन्। यहाँका स्थानीयले भीमसेनको लिंगको प्रतीकस्वरुप करिब तीन हात लामो र ३० इन्च मोटो काठको लिंगलाई नगर परिक्रमा गराएर फागु मनाउँछन्। भक्तपुर नगरपालिका– ३ तचपाल टोल दत्तात्रेयस्थित भीमसेन मन्दिरमा झुन्ड्याइएको काठको लिंगलाई एक व्यक्तिले बोकी नगरको पूर्व सूर्यमढी, च्याम्हासिंह हुँदै ब्रह्मायणी पीठ नजिकको ब्रह्मकुण्डमा पखाल्न लैजाने परम्परा छ।

यो काठको लिंग फागु शुक्ल अष्टमीको साताअगाडि मन्दिरभित्र झुन्ड्याइएको थियो। संस्कृतिविद् ओम धौभडेल भक्तपुरमा मनाइने फागु भीमसेनसँग सम्बन्धित रहेको र अन्य ठाउँभन्दा फरक र मौलिक भएको बताउँछन्।

'फागुन शुक्ल अष्टमीदेखि भीमसेनको मन्दिरबाट सुरु हुने यो पर्व भीमसेनसँग सम्बन्धित छ,' उनले भने, 'व्यापार व्यवसायका नेवार समुदाय भीमसेनलाई विशेष रुपमा पुज्छन्।'

महाभारतका पात्र भीमसेनको लिंगलाई प्रदर्शन गर्ने पर्वको रुपमा यहाँ होली मनाइने गरेको उनले सुनाए।

उनका अनुसार होली मनाइने देश–विदेशका विभिन्न ठाउँमा कतै कृष्ण र गोपिनीसँग त कतै प्रल्हाद र होलिकासँग होलीको सम्बन्ध रहेको पाइन्छ। दानवराज हिरण्यकश्यपले आगोले नजलाउने वर पाएकी बहिनी होलिकासँगै आफ्ना विष्णुभक्त छोरा प्रल्हादलाई आगोमा राखी जलाउने प्रयास गरेको तर प्रल्हाद नभई होलिका जलेको पौराणिक कथाअनुसार होली पर्वको नाम रहेको उनी बताउँछन्। 'भक्तपुरमा मनाइने होली भने पृथक छ,' उनले भने।

स्थानीय रामबहादुर सुवालले होली भन्नेबित्तिकै रङको पर्व सम्झने नेपालीलाई भक्तपुरको होलीले फरक सन्देश दिने बताउँछन्। 'होलीमा हामी रङ दल्नेदेखि लोलाले हान्नेमा सीमित छैनौं,' उनले भने, 'हाम्रो होली मनाउने परम्परा अन्य ठाउँभन्दा फरक छ।'

होलीमा यहाँ रङ अनि लोलाको प्रचलन नभएको भने होइन। सबैतिर रङ अनि लोला मात्रै होइन, पानी छ्यापेर रमाइलो साथ होली मनाउने प्रचलन पनि छँदै छ।

दिनभर रमाइलो गरिसकेपछि लिंगलाई एक व्यक्तिले बोकी नगर परिक्रमा गराउने प्रचलन छ। यसरी लिंग बोक्ने व्यक्तिको छोरा जन्मने जनविश्वास रहेकाले बोक्न प्रतिस्पर्धा हुने गर्छ।

प्रकाशित: २९ फाल्गुन २०७३ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App