१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारबारे निर्णय भएको छैन : सिटौला

बनेपा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादीसँग मिलेर सरकार बनाउनेबारे पार्टीमा कुनै निर्णय नभएको बताएका छन्। 'सत्तारुढ दल र प्रतिपक्ष एकै ठाउँ बसेर राष्ट्रिय सहमति हुनुपर्छ, निर्वाचनका कानुन बनाउनुपर्छ अनि मात्र सरकार गठनको कुरा सोच्ने विषय हो,' नेपाल प्रेस युनियन काभ्रेले शनिबार गरेको पत्रकार भेटघाटमा सिटौलाले भने।

राष्ट्रिय राजनीतिमा नयाँ सहमति ल्याएर मात्रै सरकार गठन हुनुपर्नेमा उनले जोड दिए। 'सरकार गठन 'सेकेन्डरी' कुरा हो किनकि संविधानको कार्यान्वयनमा बहुमतको सत्ताको भरले मात्रै हुँदेन, देश जटिलतातर्फ धकेलिन लाग्यो,' सिटौलाले भने।

संविधान कार्यान्वयनभन्दा पहिला सरकारको कुरा ल्याइरहँदा संविधान कार्यान्वयन हुन नसक्ने र संविधानको विषयवस्तु ओझेलमा पर्ने उनको भनाइ छ, 'राष्ट्रिय सहमतिको प्रस्थान विन्दु संविधान कार्यान्वयन मात्रै हो,' सिटौलाले भने। राज्यका सबै तहमा निर्वाचन अन्तरसम्बन्धित विषय भएकाले ७ वटै निर्वाचनसम्बन्धी कानुन एकैपटक बनाउन नसके भविष्यमा मतको भारको विषयमा दलहरूबीच द्वन्द्व हुन सक्नेतर्फ उनले औंल्याए। 'तर यी कानुन सामान्य बहुमतको आधारमा बनाउनुहुन्न किनकि संविधानको राजनीतिक पक्षको कार्यान्वयनमा व्यवस्थापिका र कार्यपालिकाको निर्माणले मुख्य भूमिका राख्छ,' उनले भने। निर्वाचन कानुन संविधानकै हिस्सा भएकाले न्यूनतम दुई तिहाइले बनाउनुपर्ने उनको भनाइ छ।

संघीयताका बारेमा सबैको आ–आफ्ना धारणा रहेको उदाहरण दिँदै सिटौलाले भने, 'नेताका आ–आफ्ना धारणा छन्, पार्टी पार्टीमै आ–आफ्ना धारणा छन्, हाम्रै पार्टीमा पनि छ, मधेसवादी दलले नमान्दा पनि 'कम्प्रोमाइज' मा यतिखेर ७ प्रदेश छ, संघीयताका मुद्दामा कहिल्यै पूर्णविराम हुँदैन, सहमति जुटेको खण्डमा नयाँ प्रदेश बन्न सक्छ,' सिटौलाले भने।

नेपालको सन्दर्भमा संघीयता नयाँ विषय भएकाले विचारमा कसैले फरक मत राख्दैमा गलत भन्न नहुने उनको तर्क थियो, 'दलका नेताले मेरा कुरा मात्रै ठीक, अरुका बेठीक भन्ने मान्यता राख्नु हुन्न। प्रमुख राजनीतिक दल एक ठाउँ नबसेसम्म संघीयता कार्यान्वयन जटिल छ।'

प्रकाशित: २६ असार २०७३ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App