२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कुन शक्तिको चक्करमा फँसेका छौं, निमित्त नायक त भएनौं ?’

चितवन– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हतारमा संविधान संसोधन प्रस्ताव अगाडि बढाउँदा तपाइँको कुर्ची नै अफ्ठ्यारोमा पर्छ भनेर प्रधानमन्त्रीलाई आफूले सुझाएको भए पनि बेवास्ता गरेको बताएका छन्।

बुधबार भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले अब सत्ताको सन्दर्भलाई जोडेर भए पनि राष्ट्रिय सहमति नगरे तोकिएका मितिभित्रै सबै चुनाव सम्पन्न हुने वातावरण नभएको बताए।

‘मैले प्रष्टसँग प्रधानमन्त्री र हाम्रो पार्टीका सभापति देउवा जीलाई हतारमा संविधान प्रस्ताव नलैजाउँ एमाले र मधेसवादी दलहरुसँग छलफल गरेर मिलन बिन्दु भेटाएर लैजाउँ भनेँ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई त हतार गरे तपाइँको कुर्ची नै संकटमा पर्छ भनेँ । तर म जापान गए यहाँ स्वाट्टै संसोधन हाल्दि हाल्नु भएछ।’ 

संसोधन प्रस्ताव अन्यौलमा पर्दा देश र चुनावको पश्थिती पनि अन्यौल पुर्ण भएको उनले बताए ।
उनले सत्ताका विषयमा भए पनि राष्ट्रिय सहमति गरेर देशलाई निकास दिने बेला आएको बताए। ‘चुनावका लागि सहज वातावरण कसरी बनाउने हो त्यसका लागि सवै जिम्मेवार पक्ष हदैसम्म लचिलो भएर लाग्नु पर्छ। परिआएको खण्डमा सत्ताको सन्दर्भमै राष्ट्रिय सहमति गरेर भए पनि अब देशलाई निकास दिनु प¥यो’ नेता पौडेलको भनाइ थियो ।

सहमति व्यवस्थाका लागि गरौं सत्ताका लागि नगरौं भन्ने आफ्नो मत रहे पनि व्यवस्था व्यवस्था मात्रै भनेर बस्न नहुने उनले बताए । ‘देशमा चारवटै पक्षबीच सहमति आवश्यक छ । एकताको आधार, छुट्टिने र जोडिने आधार फेरि पनि सत्ता नै हुँदो रहेछ । त्यसैले ठिकै छ बाबा सत्ताकै लागि भए पनि राष्ट्रिय सहमति त गरौं भन्ने विन्दुमा म पुगेको छु’ पौडेलले भने । 

नेता पौडेलले मधेसवादी दलका नेता र मधेसका जनताका कुराहरु फरक भएको बताएका छन् । उनले मधेसी नेताको धारणा र माग नै त्यहाँको जनताको धारणा र माग हो भनेर बुझ्नु गलत हुने बताए । उनले यो कुरा बुझ्न एमालेलाई पनि अपिल गरेका छन् । जनतासँग सम्वाद गरे, उनीहरुलाई सही कुरा बुझाए ढुंगा मुढा बोकेर कोही आन्दोलनमा नआउने उनले बताए । 

‘मधेसी जनताले चाहेको संघीयता र समावेशीता हो संविधानले त्यो पुरा गरेको छ । यो कुरा बुझाउन हामी जनतासँग सम्वाद गरौं’ नेता पौडेलले भने । संविधान जारी भएपछि मधेसमा काँग्रेसको उपस्थिती कम भएको र झण्डा फहराउनेै शुन्य भएको समयमा पनि आफु एक पटक विराटनगरदेखि जनकपुर र अर्को पटक विरगञ्जदेखि जनकपुरसम्म गएर जनतासँग कुरा बुझ्दा उनीहरु अलमलमा परेको पत्ता लागेको उनले बताए ।

सप्तरी घटना प्रति टिप्पणी गर्दै नेता पौडेलले एउटा राजनैतिक पार्टी देशको कुनै भुभागमा जानै नपाउने अवस्था आउनु दुखद् भएको बताए । सप्तरीमा भएको घटनाको मुलमा गएर देशका समस्याहरुको समाधान खोज्नु पर्ने उनले बताए ।

मधेसवादी दलका नेतालाई उनको आग्रह थियो ‘संविधानले मधेसका मागलाई नै सम्बोधन गरेको अवस्था छ । अब पनि द्वन्द्व मच्चाएर देशलाई कहाँ पु¥याउने । त्यसैले विचार गर्नु पर्ने बेला आएको छ ।’ 

हामी कुन शक्तिको चक्करमा फँसेका छौं, निमित्त नायक मात्रै भयौं कि भनेर सबैले आत्म समीक्षा गर्नु पर्ने बेला आएको पनि नेता पौडेलको भनाइ थियो । 
    

 

प्रकाशित: २५ फाल्गुन २०७३ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App