२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेशमा एमालेलाई हामी स्वागत गर्छौंः अध्यक्ष यादव

काठमाडौं– मधेशी मोर्चाका नेता महेन्द्रराय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको बताएका छन्। 

‘अब एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ,’ उनले भने, ‘मधेशी मोर्चाले हिजो पनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन।’

एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने बुधबार रिपाेर्टर्स क्लबमा उनले बताए।  

‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस्, हामी विथोल्दैनौं,’ उनले भने,  ‘विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईंहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन् भने हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाई कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौंैं।’ 

उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको दाबी गर्दै भने, ‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’ 

उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनै पनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने बताए। 

‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ,’ उनले भने, ‘त्यो उहाँहरुको अधिकारको कुरा हो।’

उनले सप्तरी घटनामा मोर्चालाई दोष लगाउने काम गलत भएको बताए। ‘एमालेको अभियानबारे मधेशी जनतामा आक्रोश थियो,’ उनले भने, ‘यो घटनामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ?, यो नश्लवादी गतिविधि हो ।’

उनले घटनाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे। ‘घटनामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भीर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं।’

 

प्रकाशित: २५ फाल्गुन २०७३ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App