१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उफ् कत्ति धुलो !  (फाेटाे/भिडियाे)

काठमाडौं– ‘उफ कत्ति धुलो !,’  राजधानीका अधिकांश सडकमा यात्रा गर्नेहरुले हैरानी व्यक्त गर्छन् आजभोलि। धुलो छल्न ‘मास्क’ लाउँछन्। ‘पट्टी’ बाँध्छन्। ‘फेटा’ गुत्छन्। तर, छोड्दैन धुलोले यात्रु पच्छ्याउन।  गन्तव्य पुग्न हतारिँदै धुलो मुस्लोभित्र पुग्छन् राजधानीका यात्रु। निस्सासिँदै सास फेर्दा एक मुस्लो धुलोले सडकदेखि यात्रुको फोक्सोसम्मको यात्रा पूरा गरिसक्छ। यसै क्रम दोहोरिँदै जाँदा राजधानीका यात्रुलाई अस्पतालसम्मको गन्तव्यमा पुर्याउँछ धुलोले।  

‘विभिन्न निकायले सडक भत्काउँदा राजधानीमा दुघर्टना बढेको छ,’ उनले भने, ‘फेरि धूलो नियन्त्रण गर्न अफिस टाइममा पानीको फोहोरा हाल्दा चिप्लो बाटोमा दुघर्टना पनि बढेको छ।’

भूकम्पपछिको पुनर्निर्माण, बाटो बिस्तार र मेलम्ची पानीको पाइपलाइन बिस्तार कार्यले राजधानीबासीले सडकको धुलो खाएर अपस्पताल धाउन बाध्य भइरहेका छन्। निर्माणमा सक्रिय सरकारी निकायबीच सहकार्य नहुँदा एउटा निकायले सडक निर्माण पूरा गरिसकेपछि अर्को निकायले भत्काउन थालिहाल्ने गरेको छ। अन्तर निकायबीच समन्वयका अभावमा भएका यस्तै लथालिंगे विकासले राजधानीबासी हैरानहैरान भइसकेका छन् राजधानीका यात्रु।  

हाल राजधानीमा भइरहेको धुँवा र धूलोको मुख्य कारण हो, मेलम्ची खानेपानी आयोजनाको विपाइलाइन विस्तार कार्य। वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको तथ्यांकअनुसार धुँवा र धूलोमा २.५ पीएमभन्दा साना आकारका कणहरु प्रत्यक्ष रुपमा मानिसको फोक्सोमा पुग्ने गरेको छ। मन्त्रालयको अनुसार हाल उपत्यकामा सवारी साधनको धुँवा, सडकको धूलो र इँटाभट्टालगायतले प्रदुषण गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्ड सूचकको तथ्याङ्कअनुसार राजधानीको प्रदुषण ह्वात्तै बढेको छ।  

मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने जिम्मा लिएका ठेकेदार कम्पनीले पनि ढिलासुस्ती गरेर काम गरिरहेका छन्। 

पछिल्लो पटक सर्वोच्च अदालतले धुलो नियन्त्रण काम गर्न मेलम्ची खानेपानी आयोजनालाई आदेश दिएको थियो। तर, धुलोको बेवास्ता गर्दै सुस्त गतिमा काम अघि बढिरहेको छ। पाइप विस्तारको ठेक्का पाएको कम्पनी जेआइटिएफ वाटर इन्डियाले पनि उक्त काम बिकोई कम्पनीलाई ठेक्कामा दिएको छ। चुच्चेपाटीदेखि चावहिल–गौशाला–बानेश्व र चक्रपथ सडकलाई उदाहरण मान्ने हो भने स्थानीयलाई लोमो समयदेखि भत्किएको सडकको धुलोले हैरान पारेको छ। 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले रातारात भत्काइएको सडकखण्ड मर्मत गर्दैन। धुलाम्मे सडकको धुलो नियन्त्रण गर्न पानीको फोहोरा प्रयोग गर्दा हिलाम्मे बाटोमा दुर्घटनासमेत बढेको छ। 

महानगरीय ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्र मल्लका अनुसार चिप्लो बाटोमा दुघर्टना बढेको छ। 

‘विभिन्न निकायले सडक भत्काउँदा राजधानीमा दुघर्टना बढेको छ,’ उनले भने, ‘फेरि धूलो नियन्त्रण गर्न अफिस टाइममा पानीको फोहोरा हाल्दा चिप्लो बाटोमा दुघर्टना पनि बढेको छ।’ 

सडकचको खाल्डा र धुलो छल्न तीव्र गतिमा सवारी चलाउँदा अनियन्त्रित भएर दुघर्टना बढेको उनले बताएका छन्। 

गत असोजदेखि पाइप बिच्छ्याउन सुरु गरे पनि सबैतिर पाइप बिछ्याउने काम सकिएको छैन। पाइप बिस्तार भइसकेका गौशला, एयरर्पोट, नयाँ बानेश्वरलगायत क्षेत्रमा अस्थायी रुपमा कालोपत्रे गरिएका छन्। 

त्यस्तै पाइप बिस्तार भएका गौशाला, मित्रपार्क, चावहिल र चुच्चेपाटी, जमल, रत्नपार्क, चक्रपथ, पानीपोखरी र लैनचौरलगायतका क्षेत्रमा कालोपत्रे हुन बाँकी छ। सडक विभाग र काठमाडौं महानगरपालिकाले राजधानीको सडक मर्मत गर्ने जिम्मा लिएपनि उनीहरुको जिम्मा लिन तत्पर देखिदैन् । 

‘महानगरपालिकाको सडक मर्मतको लागि झण्डै ८ करोड रुपैयाँ छुट्याएर मर्मतमा खर्चिएका छौं,’ काठमाडौं महानगरपालिकाका एक अधिकारीले भने, ‘सडक मर्मत कार्य सुचारु गरिरहेका छौं।’ सडक बिस्तारले आजकल राजधानीको ट्राफिक जामसमेत बढेको छ। मनपरी सडक खन्ने कार्यले ट्राफिक जाम ह्वात्तै बढेको छ। 

‘राजधानीको कुनै एउटा स्थानमा ट्राफिक जाम भयो भने त्यसको असर सबैतिर पर्न  थालेको छ। यसले गर्दा यात्रुहरु लामो समय जाममा पर्न बाध्य छन्। यसलाई नियन्त्रण गर्न हामी सक्रिय भएका छौं,’ प्रहरी उपरीक्षक मल्लले भने। 

उनका अनुसार चाबहिल, गौशला र थापाथलीलगायत क्षेत्रमा धेरै जाम हुने गरेका छ। त्यस्तै धूलोबाट मुक्त पाउन बजारमा राखिएका माक्सले धूलोबाट मुक्त नपाउन विज्ञहरु बताउँछन्। हाल राजधानीमा  बिहान ६ देखि ९ र साँझ ७ देखि ९ बजेसम्म अत्यधिक प्रदूषण हुने देखाएको छ। 

हेर्नुहाेस् फाेटाेहरू (फाेटाे/भिडियाेः प्रबिन काेइराला)
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App