१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चैत ७ देखि राप्रपाको देश यात्रा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ। पार्टी पदाधिकारीको आइतबार बिहानको बैठकले एकता महाधिवेशनको सन्देश तल्लो तहसम्म पु¥याउन चैत ७ देखि चार ठाउँबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वराष्ट्रिय अध्यक्षहरू पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको नेतृत्वमा गोरखा, कञ्चनपुर, झापा र काठमाडौंबाट चैत  गते यात्रा अभियान सुरु गर्ने जनाएको छ । चैत १२ गते चारै टोलीको चितवनमा एकीकृत सभा गरेर अभियान अन्त्य गर्ने सो पार्टीले जनाएको छ।

राप्रपाले दीपक बोहराको संयोजकत्वमा एकता यात्रा व्यवस्थापन समिति पनि गठन गरेको छ । महामन्त्री जयन्त चन्द महाकाली, सहमहामन्त्री चन्द्रबहादुर गुरुङ सेती, महामन्त्री धबलशमशेर राणा भेरी, सहायक महामन्त्री मनोज प्रधान राप्ती, सहमहामन्त्री हेमजंग गुरुङ गण्डकी÷धौलागिरी, उपाध्यक्ष बुद्धिमान तामाङ बागमती, उपाध्यक्ष राजीव पराजुली नारायणी, केन्द्रीय सदस्य गंगाप्रसाद यादव सगरमाथा, उपाध्यक्ष रामचन्द्र राय जनकपुर, महामन्त्री सुनिलबहादुर थापा कोशी र महामन्त्री राजेन्द्र लिङेदेनले मेची अञ्चल संयोजनको जिम्मेवारी पाएका छन्।

बैठकले स्थानीय तह निर्वाचनमा जुट्न पार्टीको तल्लो निकायलाई निर्देशन दिएको छ ।

तामाङले बैठक बहिष्कार गरे
चुनाव चिह्नलाई लिएर आन्तरिक विवादमा तानिएको राप्रपाभित्र पदाधिकारीको मर्यादा क्रमको विषयमा पनि असन्तुष्टि बढेको छ । पार्टी नेता बुद्धिमान तामाङलाई तेस्रो मर्यादामा उपाध्यक्ष नियुक्ति गरेसँगै असन्तुष्टि बढेको हो । राप्रपा र राप्रपा नेपालबीचको एकीकरणका लागि अभियान चलाएका र एकता महाधिवेशनमा पनि सबैभन्दा लोकप्रिय मत पाएका तामाङलाई तेस्रो नम्बरमा राखेर अन्य नेतालाई अघि सारेको भन्दै तामाङ निकट असन्तुष्ट बनेका छन् । उनीहरू तामाङलाई उपाध्यक्षबाट राजीनामा गर्न दबाब दिएका छन् । राजीनामा गर्ने पक्षमा पुगेका तामाङले आइतबार बिहानको पदाधिकारी बैठक बहिष्कार गरेका छन्।

पदाधिकारी बैठक चलिरहँदा तामाङ नेता लोकेन्द्रबहादुर चन्दको निवास पुगेको स्रोतको दाबी छ । चन्दनिवासमा प्रेमबहादुर भण्डारी,  तामाङसहितका नेताको बैठक बसेको सहभागी अर्का नेताले बताए ।

तर, पार्टी प्रवक्ता मोहन श्रेष्ठले भने तामाङ अस्वस्थ भएकाले पदाधिकारी बैठकमा उपस्थित हुन नसकेको दाबी गरे। ‘उपाध्यक्ष पद स्वीकारेर उहाँले फूलमाला लाइसक्नुभयो, अब केको असन्तुष्टि जनाउनु भन्ने प्रश्न गर्दै श्रेष्ठले नागरिकसँग भने, ‘उहाँ बिरामी भएर बैठकमा नआउनु भएको हो।’

पूर्वसहमति विपरीत चुनाव चिह्न गाई राख्ने पार्टी निर्णयप्रति असन्तुष्ट नेता चन्द, लोहनी, तामाङ निकट नेताले चैत ५ गते काठमाडौंमा भेला बोलाएका छन्। उता, लोहनी र केशरबहादुर बिष्टलगायत नेता हलो चुनाव चिह्न राखेर छुट्टै पार्टी गठन तयारीमा जुटेको स्रोतको दाबी छ । लोहनीले चुनाव चिह्न हलो नराखेर गाई राखिएकोमा सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्।

‘राप्रपाले चुनाव चिह्न हलो छाडेको छ। यसमा मेरो असहमति छ । एकता हुँदाको समय झन्डा राप्रपा नेपालको हुने भन्ने सहमति भएको हो,’ उनले लेखेका छन्, ‘चुनाव चिह्नको हकमा भने हलो हुने समझदारी भएको हो । आज त्यो समझदारी विपरीत निर्णय भएको छ । हलोप्रति आस्था राख्ने सबै साथीलाई धैर्य राख्न अनुरोध गर्छु’, आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन् ।
 

प्रकाशित: २३ फाल्गुन २०७३ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App