१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गाउँमै सुन्तला जुस उत्पादन

राधा ढुंगाना 

सोलुखुम्बु- देउसा– ३ का प्रभात राई आफूले उत्पादन गरेको सुन्तला हरेक हप्ता सदरमुकाम सल्लेरी बजारमा लाग्ने मेलामा बिक्री गर्न लैजान्थे। टाउकाको रौं सबै खुइलाउँदै दुई दिन लगाएर सुन्तला बाक्नु उनको रहर नभएर बाध्यता थियो। गाउँमै बजारको व्यवस्था नहुनु र सडक पहुँच नपुग्दा उनीजस्तै देउसाका सर्वसाधारण सुन्तला बिक्रीका लागि सदरमुकाम नै धाउन बाध्य थिए। अहिले सुन्तलाको पकेट क्षेत्र मानिने देउसामै जुस उत्पादन हुन थालेपछि देउसाका सुन्तला किसान खुसी छन्।

पहिले एक डोको सुन्तला बेच्न दुई दिन हिँडेर सदरमुकाम पुग्नुपर्थ्यो, सुन्तलाको पकेट क्षेत्र मानिने देउसामै जुस उत्पादन हुन थालेपछि सुन्तला किसान हर्षित।

प्रभात राई भन्छन्, 'एक डोको सुन्तला बेच्न दुई दिन हिँडेर सदरमुकाम जाने बाध्यता हटेको छ, म त ज्यादै खुसी छु।'

डोकोमै सुन्तला बोकेर हैरान भएका अक्कलबहादुर श्रेष्ठले पनि खुसी व्यक्त गरे। 'अब त गाउँमै सुन्तला खपत हुन्छ, सुन्तला बोटमै कुहिएर जाने समस्या पनि हट्ने भो। पहिले त डोकोमा सुन्तला बोक्दाबोक्दा हैरानै भइन्थ्यो,' उनले भने।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत ग्रामीण बिजनेस प्रमोसन प्रालि रामेछापको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुको सहयोगमा सातदिने तालिमपछि आफैँ जुस बनाउन थालेको कृषक बताउँछन्। दुई समूह मिलेर सामूहिक रुपमा जुस उत्पादन सुरु गरिएको छ। जुस उत्पादन गर्न थालेसँगै सुन्तला उत्पादकलाई धेरै राहत भएको जुस उत्पादक संस्था रनेम लघु उद्यमी समूहका अध्यक्ष राजकुमार राईले बताए। आफ्नो मात्र करिब पाँच सयभन्दा बढी सुन्तलाको बोट भएका राईले जुस उद्योगलाई निरन्तरता दिएर सोलुको नमुना गाउँ बनाउने बताउँछन्। पर्यटकीय जिल्ला भएकाले अर्गानिक जुस उत्पादन गरी पर्यटकसम्म पुर्‍याउने उनको भनाइ छ। सुन्तलाबाट रसायनयुक्त जुस, शुद्ध जुस, क्यान्डी, जाम बनाउन थालेको स्थानीय सुन्तला कृषक तथा सगरमाथा लघु उद्यमी समूह अध्यक्ष रामचन्द्र राईले बताए। पछिल्लो समय सुन्तलामा रोग किराको प्रकोप बढेकाले प्राविधिक सहयोग आवश्यक भएको उनले बताए।  

सोलुखुम्बुका विभिन्न गाविसमा सडक सञ्जाल जोडिएसँगै कृषकले उत्पादन गरेको सुन्तलाले बजार पाउन थालेको छ।

जिल्लाको विभिन्न गाविसमा यातायातको सुविधाले उत्पादित सुन्तला स्थानीय बजारसम्म पुग्न थालेपछि कृषक सुन्तलाखेतीतर्फ थप आकर्षित भएका छन्। जिल्लाको देउसा, सल्यान, नेचा, मुक्लीलगायत सुन्तलाको पकेट क्षेत्र मानिने ग्ााविसमा सडक जोडिएपछि अहिले कृषकलाई सुन्तला बिक्री गर्न सहज भएको छ।

गाउँमा उत्पादन भएका सुन्तला डोकोमा बोकेर दुई–तीन दिनको पैदलयात्रा गरी सल्लेरीको दोर्पु बजारसम्म ल्याउन कृषकलाई निकै समस्या हुन्थ्यो। सातामा एक दिन मात्र लाग्ने शनिबारे हाटमा किसानले सुन्तलाको उचित मूल्य पाउँदैनथे।

देउसामा विगतका वर्षदेखि नै सुन्तला बिक्री नभएर खेर गइरहेकाले यस वर्ष जुस उत्पादनको तालिम दिएको आयोजक संस्था ग्रामीण बिजनेस प्रमोसन प्रालि रामेछापका प्रबन्ध सञ्चालक गुञ्जबहादुर कार्कीले बताए। सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको देउसाको रनेममा आवश्यकताका आधारमा जुस उत्पादन तालिम सञ्चालन गरेको उनले बताए। ३० सुन्तला कृषकलाई तालिम दिइएको संस्थाका कार्यकारी अधिकृत कल्याण बुढाथोकीले बताए। अहिले जुस उत्पादन गर्ने मेसिन निःशुल्क प्रदान गरेको र आगामी वर्षमा थप तालिमको आयोजना गर्ने बुढाथोकीको भनाइ छ।

प्रकाशित: २१ फाल्गुन २०७३ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App