१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

श्रेष्ठको नेतृत्वमा खेलाडी संघ

काठमाडौं- करातेका पूर्वखेलाडी तथा प्रशिक्षक दीपक श्रेष्ठ शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि महासचिवका रूपमा कार्यरत श्रेष्ठ शुक्रबार सम्पन्न संघको चौथो साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका हुन्। साधारण सभाले दीपकको नेतृत्वमा २० सदस्यीय कार्यसमिति चयन गरेको छ।

 दीपक आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को स्वर्ण पदक विजेता हुन् । स्वर्णमा ह्याटि्रक गर्ने लक्ष्य साथ श्रीलंका पुगेका दीपकले रजतमै चित्त बुझाउनुपरेको थियो।

श्रीलंकाबाट फर्किएको १ महिनापछि उनले दोहामा भएको १५औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरे, तर पदक भने जित्न सकेनन्। ढाकामा भएको ११औं सागको पूर्वसन्ध्यामा दीपकले खेल करियरबाट संन्यास लिँदै प्रशिक्षकको बाटो समातेका थिए। औपचारिक रूपमा खेल करियरबाट संन्यास लिने उनी पहिलो कराते खेलाडी हुन्।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले दुई उपाध्यक्ष र पाँच सदस्य नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने जानकारी दिए। निर्वाचनपश्चात् अध्यक्ष श्रेष्ठले खेलाडीहरूको हकहितका लागि संघ डटेर लागिपरेको भन्दै आगामी दिनमा खेलाडीहरूका लागि अझ सशक्त रूपमा आवाज उठाउने बताए

‘खेलाडीले पाउनुपर्ने सेवासुविधा नपाएको अवस्था छ। अहिलेसम्म जति पाएका छन् त्यो संघकै पहलमा भएको हो। खेलाडीको आजीवन भत्तालगायत सबै कुरालाई निरन्तरता दिँदै नीतिगत निर्णय गराउन पहल गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने, ‘हामीले हरेक वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने गर्छौं। त्यसलाई अगामी दिनमा अझ व्यवस्थित गर्दै लौजानेछौं। यो खेलाडीको हकहितका लागि स्थापना भएको संस्था हो त्यसैले अगामी दिनमा खेलाडीको पीरमर्कालाई न्यूनीकरण गर्दै जानेछौं।’

कार्यसमितिको पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, कान्छीमाया कोजु र दीपक थापा निर्वाचित भएका छन्। महासचिवमा शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा कमलबहादुर अधिकारी छन्। कोषाध्यक्षमा आङबाबु लामाले निरन्तरता पाएका छन्।

संघको सदस्यमा टीकाराम श्रेष्ठ, रमेशकुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल, निशा रावल, नविता श्रेष्ठ, फुपुल्हामु खत्री, शिरीष गुरुङ र फुलमाया क्याप्छाकी रहेका छन्। सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध भएका हुन्।

ओलम्पिन तथा तेक्वान्दो प्रशिक्षक दीपक विष्टले अध्यक्षका रूपमा दुई कार्यकाल बिताएका थिए। उनको कामको उच्च मूल्याङ्कन गर्दै दीपकलाई संघको मानार्थ अध्यक्षमा चयन गरिएको छ।

निर्वाचित सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संघसंस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

अल्ट्रा धाविका राई र पण्डित सम्मानित

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेसनल जियोेग्राफी एडभेन्चर अफ दी इयर २०१६ को अवार्ड विजेता अल्ट्रा धाविका मिरा राईका साथै सञ्जय पण्डितलाई सम्मान गरेको छ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले मिरालाई नगद १० हजारसहित प्रशंसापत्र र पण्डितलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७३ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App