१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टोरेस स्वस्थ भएपछि राहत

मड्रिड- स्ट्राइकर फर्नान्डो टोरेसको चोटबाट त्रसित एट्लेटिको मड्रिडले बिहीबार स्पेनिस ला लिगामा रेलिगेसनबाट बच्न संघर्षरत डेपोर्टिभो ला कोरोनासँग १–१ को बराबरीमा चित्त बुझायो। ३२ वर्षे टोरेसलाई खेल सकिन पाँच मिनेट बाँकी भएको बेला डेपोर्टिभोका मिडफिल्डर एलेक्स बर्गान्टिनोसँग जुद्धा टाउकोमा चोट लागेको थियो। मैदानमा अचेत अवस्थामा ढलेपछि दुवै टोलीका खेलाडी अत्तालिएका थिए। टोरेसको मैदानमा पनि टाउको बजारिएको थियो। तत्काल मेडिकल टोलीलाई बोलाएर प्राथमिक उपचार लगत्तै एट्लेटिको स्ट्राइकरलाई ला कोरोनास्थित मोडेल अस्पतालमा भर्ना गरिएको थियो।

सिटी स्क्यान गर्दा दिमागमा कुनै चोट नदेखिएपछि स्पेनिस फुटबलले राहतको सास फेरेको छ।

‘क्रानियल र सर्भिकल सिटी स्क्यानले फर्नान्डो टोरेसको दिमागमा कुनै चोट नभएको देखिएको छ,’ एट्लेटिकोले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वास्थ्यस्थिति स्थिर छ र उनी होसमा छन्। अवस्था सुधारोन्मुख छ। निगरानीका लागि उनलाई थप एक रात अस्पतालमै राखिनेछ।’

टोरेसको अवस्थाबाट हतास भएका एटे्लेटिकोका रक्षक जोस मारिया जिमिनेजले आँसु थाम्न सकेनन्। टोरेसलार्ई मैदानबाहिर ल्याउँदा डिपोर्टिभोका समर्थकहरूले उभिएर उनको स्वास्थ्यलाभका कामना गरेका थिए।

‘हामी सबै डराएका थियौं,’ एट्लेटिकोका रक्षक फिलिपे लुइसले भने, ‘हामीलाई थाहा भएसम्म अहिले उनको अवस्था राम्रो छ। उनको अवस्था ठीक हुनु महत्वपूर्ण हो।’

टोरेसले हस्पिटलबाट टि्वट गरेका छन्, ‘स्वास्थ्यअवस्थालाई लिएर चासो देखाउँदै सहयोग गर्र्नुहुने सबैप्रति आभारी छु। त्यो अवस्था डरलाग्दो थियो। आशा गरौं सक्दो चाँडो मैदानमा फर्कनेछु।’

टोरेसलाई चोट लाग्नुअघि नै एट्लेटिकोले सबै वैकल्पिक खेलाडी परिवर्तन गरिसकेकाले बाँकी समय १० खेलाडीमा खेलेको थियो। टोरेस ६५औं मिनेटमा केभिन गामेरियोको स्थानमा मैदान छिरेका थिए। फ्लोरिन एन्डोनको गोलमा डिपोर्टिभोले १३औं मिनेटमा अग्रता लिएको थियो। ६८औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए।

‘खेलको नतिजाको कुनै अर्थ थिएन,’ ग्रिजम्यानले भने, ‘टोरेसको स्थास्थ्य हाम्रा लागि महŒवपूर्ण हो। आशा गरौं चाँडै हामी मैदानमा सँगै हुनेछौं।’

बराबरीपछि डिपोर्टिभो रेलिगेसनको टोलीभन्दा एक अंकले माथि छ। एट्लेटिको भने शीर्ष टोली बार्सिलोनाभन्दा ११ अंकले पछि रहँदै चौथो स्थानमा छ। लगातार चार खेलमा पराजय भोगेको डिपोर्टिभोले बिहीबार पनि जित हात पार्न सकेन।

बिहीबारै भिसेन्ट इबोराको गोलप्रेरित सेभियाले एथलेटिक बिल्बाओलाई १–० ले पराजित गदर्ैै सेभियाले उपाधि होड कायम राखेको छ।

जितसँगै ५५ अंक जोडेको सेभिया तेस्रो स्थानमा यथावत् छ, जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा २ र रियाल मड्रिडभन्दा १ अंक कम हो। बिल्बाओ ३८ अंकका साथ आठौं स्थानमा छ।

बार्सिलोनाका सम्भावित दुई प्रशिक्षकबीचको भिडन्तका रूपमा हेरिएको बिहीबारको खेलमा जर्ज साम्पाउलीको सेभियाले अर्नेस्टो भाल्भार्डेको एथलेटिकलाई निराश बनायो। बार्सिलोना प्रशिक्षक लुइस इनरिकेले सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता नवीकरण नगर्ने घोषणा गरेपछि साम्पाउली र भाल्भार्डेलाई सम्भावित क्याटलान प्रशिक्षकका रूपमा लिइएको छ।

‘निकै तनावपूर्ण खेल रह्यो,’ साम्पाउलीले भने, ‘हामीले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्न सकेनौं। त्यसैले जित्नु नै महŒवपूर्ण पक्ष हो।’

१४औं मिनेटमा स्टेफन जोभेटिक पेनाल्टीमा गोल गर्न चुके पनि रिबाउन्डमा प्राप्त बललाई इबोराले पोस्टको दिशा दिएका थिए। इबोराको त्यही गोल सेभियाको जितमा निर्णायक बन्यो। लुसानियो भिटोलाई ब्रोजा एक्जेइटाले पेनाल्टी बक्समा खराब फाउल गरेपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो। लुइस गार्सियाको हेड पोस्टमा लागेर फर्कंदा बिल्बाओले खेलमा फर्कने अवसर गुमाएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७३ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App