१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावलाई झ्याली पिट्दै लाप्चा

इलाम- सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लाप्चा आउँदो चुनावमा भोट हाल्न पाउने भएपछि निकै हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलो पटक पाउँदा कुन युवक खुसी नहोला र!’ उनले सुनाए, ‘म मात्रै होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दैछ।’

लाप्चाका अगुवा समुदाय आउँदो चुनावका लागि आफ्नो समुदायलाई सचेत गराउन गाउँ–गाउँमा झ्याली पिट्ने तयारीमा छन् । ‘हामीले यसअघिका चुनावमा पनि भोट हाल्नुपर्छ भनेर आफ्नो समुदायका सबैलाई सिकाएका थियौं,’ लाप्चा युवा मञ्च नेपालका अध्यक्षसमेत रहेका मानवीरले थपे, ‘आउँदो चुनावका लागि पनि घर–घरै पुगेर भोट हाल्न उत्साहित गर्छौं।’

                लाप्चा समुदायका नागरिक पनि अन्य समुदायजस्तै विभिन्न दलमा आबद्ध छन् । तर, स्थानीय तहको चुनावमा सहभागी भएर आफूले रोजेका प्रतिनिधिलाई भोट हाल्न सबैलाई जागरुक गर्ने तयारीमा रहेको उनले सुनाए । ‘हाम्रो समुदायका सबै नागरिकलाई आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न पाउने स्वतन्त्रता छ,’ उनले भने, ‘तर, भोटमा सहभागी हुनु पनि आफ्नो र देशका लागि महत्वपूर्ण काम भएकाले सबैलाई भोटमा सहभागी हुन आग्रह गर्छौं।’

                उनले लाप्चा समुदायका लागि चुनावी अभियान नै सञ्चालन गरेर भोटलाई सघाउने बताए । ‘म आफू ३० वर्षको भएँ, अहिलेसम्म स्थानीय जनप्रतिनिधि चुन्न पाइएको छैन,’ उनले सुनाए, ‘मजस्ता धेरै युवा स्थानीय तहको चुनावमा सहभागी हुन पाउनु राम्रो अवसर पनि हो ।’ मानवीरजस्तै युवा पञ्चकन्याका मंगलसिंह लाप्चा, फिक्कलकी संगीता लाप्चा र सूर्योदय नगरपालिका–६ का रोशन लाप्चा पनि पहिलोपटक स्थानीय तहको चुनावमा सहभागी हुन पाउने भएर उक्तिकै हर्षित देखिए।

                सरकारले आउँदो वैशाख ३१ का लागि स्थानीय तहको चुनाव तय गरेपछि लोपोन्मुख लाप्चा समुदायका नागरिक ज्यादै उत्साही छन् । ३ दशकभन्दा बढी समयदेखि लाप्चा समुदायको उत्थानमा आवाज उठाउने अगुवा हुन् या नयाँ पिँढीका युवक–युवती, सबैको आवाज छ– स्थानीय तहको चुनाव अपरिहार्य छ अहिले ।

                लाप्चा समुदायले आउँदो चुनावमा वडा, गाउँ र नगरमा आफ्नो समुदायका नागरिकको प्रतिनिधित्व गराउन पनि माग गरेको छ । लेप्चा उत्थान मञ्चका पूर्वअध्यक्षसमेत रहेका प्रेमले भने, ‘अबको चुनावमा हाम्रो समुदायका मानिसले पनि कुनै न कुनै ठाउँको प्रतिनिधित्व गर्न पाऊन् भन्ने हाम्रो चाहना हो । आफ्नो समस्या र माग बुझ्न आफ्नै समुदायका प्रतिनिधिलाई सजिलो हुन्छ।’

                                २०६२/०६३ सालको आन्दोलनपछि यो समुदायले राज्य पुनर्संरचना गर्दा कोसी नदीपूर्वको भूभागलाई ‘रोङ (लाप्चा) राज्य’ नामाकरण गर्न माग गरेको थियो। यो मागमा लाप्चाहरूले निकैपटक आन्दोलनमात्रै गरेनन्, ‘रोङ राज्यको विधान’ नामक दस्तावेज नै सार्वजनिक गरेका थिए । स्थानीय तहको पुनर्संरचना गर्दा भने जिल्लाको एउटा गाउँपालिकाको नाम ‘रोङ गाउँपालिका’ प्रस्ताव गरिएको छ।  

                २०४२ सालमा लाप्चा समुदायका १० जनाले मात्रै प्रवेशिका (एसएलसी) पास गरेको उनी सम्झन्छन् । अहिले यो समुदायबाट एसएलसी पास गर्नेको संख्या २ सय हाराहारी पुगेको छ। स्नातकोत्तर गर्नेहरू पनि ४–५ जना पुगिसकेको उनले सुनाए । लेप्चा समुदायको मुख्य बसोबास इलाम जिल्लाको माइखोलापूर्वका १५ गाविसमा छ । पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्।

                जनगणना–२०६८ को तथ्यांकअनुसार लेप्चाको कुल जनसंख्या ३ हजार ४ सय ४५ छ। उनीहरूमध्ये ३ हजार २ सय ६४ जना ग्रामीण अनि १ सय ८१ जना सहरी क्षेत्रमा बस्छन् । पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास छ । उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन् । तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको जनगणना–२०६८ को तथ्यांकले देखाउँछ ।

 

प्रकाशित: २० फाल्गुन २०७३ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App