१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

लगानीकर्ताद्वारा १४ खर्ब नेपाल भित्र्याउने इच्छा, चीन पहिलो स्थानमा

काठमाडौं—दुई दिनसम्म काठमाडौंमा भएको लगानी सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड अमेरिकी डलर) नेपालमा लगानी गर्ने इच्छा जाहेर गरेका छन्। नेपालमा लगानी भित्र्याउन रुचि देखाउनेमा उत्तरी छिमेकी चीन पहिलो स्थानमा छ।

नेपाली राजनीतिमा बलियो पकड राख्ने दक्षिणी छिमेकी भारतबाट सबैभन्दा थोरै लगानी रुचि आएको हो।

बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको सम्मेलनमा चिनियाँ लगानीकर्ताले ८ अर्ब ३० करोड अमेरिकी डलर नेपालमा लगानी गर्ने इच्छा देखाएका हुन्। नेपालमा लगानी गर्न रुचि देखाउनेमा बंगलादेश दोस्रो नम्बरमा छ। २ अर्ब ४० करोड अमेरिकी डलरको लगानी ल्याउने इच्छा बंगलादेशीले देखाएका हुन्।

जापानी लगानीकर्ताले १ अर्ब, वेलायत १ अर्ब, श्रीलंका ५० करोड, भारत ३१ करोड र नेपाली उद्योगीले १ करोड १५ लाख अमेरिकी डलरको लगानी रुचि देखाएका छन्। नेपाली राजनीतिमा बलियो पकड राख्ने दक्षिणी छिमेकी भारतबाट सबैभन्दा थोरै लगानी रुचि आएको हो।

लगानीका लागि आएको यो रुचिलाई कार्यान्वयन गर्न सरकारले थप पहल कदमी गर्नुपर्ने हुन्छ।

लगानीकर्तालाई इच्छा जाहेर गरेको लगानी लिएर नेपाल आउन आह्वान गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार लगानीकर्तालाई सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्। ‘लगानीकर्ताले ढुक्क भएर नेपाल आउन सक्छन्। त्यसका लागि सरकारले नीति, नियमको हकमा सहजीकरण गर्नेछ’, मन्त्री जोशीले भने।

लगानी सम्मेलन सम्पन्न ,करिब १४ खर्ब लगानीको प्रतिबद्धता

सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनमा सहभागी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित रहेको जनाए।

सरकारले नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित गरेर आयोजना गरिएको सम्मेलनबाट रु एक खर्ब लगानीको प्रतिबद्धता आउने विश्वास लिएको थियो।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरियो।

नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भन्ने विश्वास दिलाएर लगानीको प्रतिबद्धता ल्याउन सफल भएको उद्योगमन्त्री जोशीले बताए। 'सम्मेलनले नेपालमा लगानीको वातावरणको राम्रो अवसर छ भन्ने अन्तर्राष्ट्रिय समुदायमा अवगत भएको छ', उनले भने।

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासकाबारेमा सहभागीलाई जानकारी दिइएको थियोे।

सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी थिए। उनीहरुले सबैभन्दा बढी  रु आठ खर्ब ३० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

मन्त्री जोशीले प्राप्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन उद्योग मन्त्रालयले निरन्तर पहल गर्ने र लगानीकर्ताको सम्पर्कमा रहने बताए।

सम्मेलनमा  भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियोे।

प्रकाशित: २० फाल्गुन २०७३ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App