१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सहिद स्मारक संग्रहालय

यसै वर्षभित्र राष्ट्रको सबैभन्दा ठूलो, भव्य र धेरै सुविधा सम्पन्न राष्ट्रिय शान्ति र सहिद पार्क बन्ने कुरा धेरै नै स्वागतयोग्य छ। अर्को वर्ष सहिद दिवसका दिन पारी उद्घाटन गर्ने लक्ष्य लिएर सहिद पार्क निर्माण कार्य तदारुकताका साथ अगाडि बढिरहेको छ भन्ने कुरा पनि सञ्चारमाध्यमबाट पनि थाहा पाइएको छ। वाग्मतीको किनारमा गोकर्ण र बूढानीलकण्ठको सिमानामा करिब ६५० रोपनी जग्गामा यो पार्क निर्माण कार्य भइरहेको बुझिएको छ।

सहिद स्मारक संग्रहालयहरू बन्नु राम्रो कुरा हो। तर यस्ता संग्रहालयमा सालिकमात्र नराखी सहिदहरूको योगदान झल्कने अन्य सामग्री पनि राखिनु उपयुक्त हुन्छ।

सहिद पार्कभित्र सहिदको स्मारक, शान्ति संग्रहालय आदि बन्ने कुरा पनि बाहिर आएको छ। नेपालभर विभिन्न जिल्लामा तद्तद् जिल्लाका सहिदको सम्मान र सम्झनामा तिनीहरुको सालिक स्मारक र उनीहरुका नाममा विद्यालय, पुस्तकालय, सडक, अस्पताल आदि धेरै बनिसकेका र बनिरहेका पनि छन्। तर यी सहिदका व्यक्तिगत जीवनीसँग सम्बन्धित यिनीहरुलाई चिन्ने, बु‰ने र यिनीहरुको योगदान र यिनीहरुले सहादत प्राप्त गरेका विषयलाई लिएर हालसम्म कतै पनि एउटा बृहत् संग्रहालय बनेको देखिँदैन। तसर्थ यो सहिद स्मारक पार्कभित्र एउटा भव्य सहिद स्मारक संग्रहालय बनेमा त्यो पार्कको महत्व खाली मनोरञ्जनका लागिमात्र नभई नेपालको आधुनिक इतिहासबारे अध्ययन/अनुसन्धान गर्ने केन्द्रका रूपमा पनि विकसित हुनेछ।

वि.सं.१९९७ सालमा राणा शासनविरुद्ध आवाज उठाई ज्यान त्यागेका चार वीर सपुत नै नेपालका प्रथम सहिद हुन्। त्यसपछि वि.सं.२००७ सालमा जनक्रान्तिमा ज्यान गुमाएका र पछि विभिन्न समयमा विभिन्न राजनीतिक क्रान्ति र घटनामा ज्यान गुमाएका सहिद सयौंको संख्यामा पुगिसकेका छन्। यसरी जोकोहीलाई पनि राजनीतिक दबाबबाट सहिद घोषणा गर्ने प्रवृत्ति हाम्रो देशमा बढ्दो छ। नेपाल सरकारले अहिलेसम्म कानुनीतवरबाट सहिदको परिभाषा गर्न सकेको देखिँदैन। तसर्थ यस संग्रहालयमा बृहत्तर राष्ट्रिय हितका लागि सहिद भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिइनु उचित हुने देखिन्छ।

नेपालमा सधैंँ तानाशाही एकतन्त्रात्मक शासन पद्धतिको विरोधमा जनता उठेको इतिहासले प्रमाणित गरेको छ। १०४ वर्षसम्म राणा प्रधानमन्त्रीहरू र राणा परिवारको एकतन्त्रात्मक अत्याचारी शासनको विरोधमा वि.सं. १९९४ सालदेखि संगठितरूपमा प्रजापरिषद् एवं अन्य विभिन्न राजनीतिक दलहरूले जुन कदमहरू उठाए र त्यस दलका नेताहरूलाई र अन्य नेताहरूलाई वि.सं. १९९६ मा ज्यान सजाय दिइ जसरी नेपालीको मनमस्तिष्कबाट प्रजातन्त्र र स्वतन्त्रताको इच्छा आकांक्षालाई चकनाचुर गर्ने दुष्प्रयास गरियो त्यो पनि हाम्रो इतिहासले बताउँछ। तत्पश्चात केही नेपाली सपुतले भारत भूमिमा बसी प्रजातन्त्र र स्वतन्त्रताबारे आवाज उठाउन थाले। भारत भूमिमा नै केही समयपछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको जन्म भयो। अन्तमा नेपाली कांग्रेसले जनमुक्ति संग्राम घोषणा गरी राणा प्रशासन ढाल्न सफल भयो। यस महान् कार्यमा राष्ट्रपिता श्री ५ त्रिभुवन र भारत सरकार अनि भारतीय जनताको पनि ठूलो भूमिका थियो। वि.सं.२००७ सालमा राणा प्रशासन अन्त गरी प्रजातन्त्रको जग बसालियो। ती सबै ऐतिहासिक घटनालाई सजीवता दिई नेपाली जनमानसलाई राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र स्वतन्त्रताबारे सधैँ सजग र समर्पित गरिराख्नुपर्ने आजको आवश्यकता हो।

३० वर्षसम्म पञ्चायत व्यवस्थाले देशमा प्रजातन्त्र र स्वतन्त्रतालाई कसरी दबाइराखे, पञ्चायती व्यवस्थाको विरोधमा नेपाली जनता र राजनीतिक दलहरु खासगरी नेपाली कांग्रेस र नेपाली कम्युनिस्टहरुले के/कसरी संघर्ष, त्याग र वलिदान दिई जीउज्यानको बाजी लगाई वि.सं.२०३६ सालमा जनमत संग्रहका लागि पञ्चायती सरकारलाई बाध्य गराए र जनमत संग्रहपछि पनि प्रजातन्त्र र स्वतन्त्रतामा जे/जसरी कुठाराघात भए ती सबै कुराको पनि भौतिकरूपमा अभिलेख राखी भविष्यका सन्ततिलाई सधँैंका लागि सचेत र जागरुक गर्नुपर्ने समय पनि आएको छ।

जनमत संग्रहपछि प्रजातन्त्र र स्वतन्त्रताका लागि नेपाली जनताले जुन संघर्ष गरे र वि.सं.२०४६ साल फागुन ७ गतेदेखि २०४७ साल वैशाख २४ गतेसम्म जुन साहस, धैर्य, वीरता र एकता देखाए, ती कुरा नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिनेछन्। जनमत संग्रहपछि २०४७ साल वैशाख २४ गतेसम्म नेपाली जनताले गरेका संघर्ष, त्याग, तपस्या र बलिदानको फलस्वरूप नेपाली जनताले पुन एक पटक प्रजातन्त्र र स्वतन्त्रताको आकासमुनि बस्ने मौका पाए। तसर्थ नेपाली जनताले राष्ट्रिय स्वतन्त्रता र प्रजातन्त्रका लागि गरेका अविरल प्रयासलाई ऐतिहासिक क्रममा सर्वसाधारण जनताले बु‰ने गरी विभिन्न सामग्री जुटाई हाम्रा वीर सहिदको त्याग, तपस्या र वलिदानबारेको परिचय र हाम्रा पुर्खाले प्रजातन्त्र र स्वतन्त्रताका लागि गरेको लडाइँलाई प्रदर्शनीको माध्यमद्वारा अमरता प्रदान गर्नु पनि नयाँ नेपालका लागि अति आवश्यक छ।

वि.सं.१९९४ सालदेखि वि.सं.२०४७ सम्म नेपालमा भएको विभिन्न प्रजातन्त्र र स्वतन्त्रताको लडाइँहरुमा नेतृत्व प्रदान गर्ने, भाग लिने, अमर सहिदहरुको जीवनी र देनबारे विभिन्न सामग्री, जस्तै– वीर सहिदले प्रयोग गरेका व्यक्तिगत वस्तु, पोशाक, घरायसीरूपमा प्रयोग गरेका फर्निचर, पुस्तक तथा पत्रपत्रिका, व्यक्तिगत चिठीपत्र, स्वयंका रचना तथा कृति र फोटो आदि पनि समेट्नु उपयुक्त हुनेछ। वीर सहिदबारे विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, पुस्तक तथा चित्र, भिडियो चलचित्र, अडियो रेकर्ड आदि जे/जति संकलन गर्न सकिन्छ ती सामग्री संकलन गरी वैज्ञानिक ढंगबाट विवरण तयार गरी प्रदर्शित गर्नुपर्छ।

उक्त संग्रहालय स्थापना गर्नका लागि आवश्यक सरसल्लाह दिन त्यसको संरचना तयार गर्न र सामग्री संकलन तथा खरिद गर्न एक सल्लाहकार समिति गठन गर्नुपर्ने हुन्छ। उक्त समितिमा त्रिभुवन विश्वविद्यालयबाट इतिहास विभागका एक प्राध्यापक, जनस्तरबाट प्रतिष्ठित व्यक्तिहरु तीन जवान र एकजना संग्रहालयविद्समेत रहने गरी सो समिति गठन गर्नु राम्रो हुनेछ। उक्त समितिमा राजनीतिक व्यक्तिभन्दा प्राज्ञिक व्यक्ति समावेश गर्नु झन् उचित हुनेछ।

अब रह्यो सामग्री संकलन गर्ने कुरा, सबभन्दा पहिले समितिले सहिद तथा राजनीतिक तथा एवं व्यक्तिका परिवारसँग सम्पर्क गर्नुपर्छ। स्वदेश तथा विदेशमा रहेका सहिदका साथीभाइ तथा तिनीहरुका परिवारसँग सम्पर्क राख्नुपर्नेछ। सरकारी तथा गैरसरकारी संघ/संस्थासँग अनुदान, उपहार र सापटीसमेत लिएर पनि गर्नुपर्छ। साथै विभिन्न पत्रपत्रिकामा आवश्यक सामग्रीबारे विज्ञापन गरी सामग्री खरिद गर्नुपरेमा खरिद गर्न आवश्यक रकमको व्यवस्था नेपाल सरकारले गर्नुपर्ने हुन्छ।

अन्त्यमा, यो संग्रहालयमा राष्ट्रका सपुत सहिदलाई सम्मानजनक स्थान दिनुपर्ने कुरा एकातिर छ भने अर्कोतिर यो संग्रहालय हेरेपछि जोकोहीलाई पनि राष्ट्रिय भावना, राष्ट्र र जनताको उन्नत भविष्यका लागि त्याग र ज्यानको बलिदान दिनसमेत प्रेरित गर्नसक्ने खालको हुनुपर्छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App