१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

३० अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं- सरकारले ३० अर्ब रुपैयाँ बराबर विदेशी लगानी स्वीकृत गरेको छ। बुधबार बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डले उक्त रकम बराबरको विदेशी लगानी स्वीकृत गरेको हो। विभिन्न उद्योग तथा परियोजनाको पँुजी वृद्धि गर्न बोर्डले लगानी स्वीकृत गरेको हो। 'आज विभिन्न उद्योग तथा परियोजनामा ३० अर्ब रुपैयाँको थप विदेशी लगानी गर्न स्वीकृत गर्ने निर्णय गरिएको छ,' उद्योगमन्त्री नविन्द्रराज जोशीले भने, 'यसले विदेशी लगानीको वातावरण बनाउन सहयोग गर्नेछ।'

बुधबार बसेको बोर्डको २२२ औं बैठकले ६ वटा परियोजनामा २९ अर्ब ८३ करोड रुपैयाँ विदेशी लगानी वृद्धि गर्ने निर्णय गरेको हो। लगानी वृद्धि हुने कम्पनीमा अर्घाखाँची सिमेन्ट, लाङटाङ भोटेकोसी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सिनो हाइड्रो सगरमाथा, स्वेतगंगा हाइड्रोपावर र सोल्टी होटल रहेका छन्।

अर्घाखाँची सिमेन्टमा दुई छुट्टाछुट्टै विभागको पँुजी एकीकृत गर्न स्वीकृति दिएको हो। दुई एकाइको पुँजी एकीकृत गर्दा तीन अर्ब रुपैयाँ थप लगानी भएको छ। यसमा भारतको उमा सिमेन्ट इन्टरनेसनलको सहकार्य छ।

त्यसैगरी, लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनीको १७ अर्ब ४९ करोड रुपैयाँ थप लगानी स्वीकृत भएको छ। यस कम्पनीको पुँजी तथा क्षमता वृद्धि गर्न स्वीकृति दिने निर्णय गरेको हो। यस हाइड्रोपावरमा चीनको सिचुआन हुआनी इनर्जी इन्भेस्टमेन्टको ९० प्रतिशत सेयर लगानी छ।

बोर्डले सर्वोत्तम सिमेन्टको पुँजी बढाउने निर्णय गर्दै तीन अर्ब ९७ करोड रुपैयाँ थप लगानी स्वीकृत भएको छ। यस हाइड्रोपावरमा हङकङको कृष्ण होल्डिङको सेयर लगानी छ।

सिनो हाइड्रो सगरमाथामा तीन अर्ब ४१ करोड रुपैयाँ पुँजी वृद्धि गर्न स्वीकृति दिइएको छ। यसमा चीनको सिनो हाइड्रो रिसोर्सेसको सेयर लगानी छ। त्यसैगरी श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनमा पनि पुँजी वृद्धि हुने भएको छ। ३२ करोड रुपैयाँ थप लगानी स्वीकृत भएको यस कम्पनीमा मौरिससको डोल्मा इम्प्याक्ट फन्डको लगानी छ।

पाँचतारे होटल सोल्टीको पनि पुँजी वृद्धि स्वीकृत भएको छ। सोल्टीमा एक अर्ब ६४ करोड रुपैयाँको पुँजी वृद्धि स्वीकृत भएको हो। सोल्टी होटलमा इन्टरनेसनल होटल ग्रुपको केही सेयर छ।

बिहीबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनअघि नै भएको विदेशी लगानी स्वीकृतिले विदेशी लगानीलाई राम्रो सन्देश दिने मन्त्री जोशीले बताए। 'विदेशीलाई सकारात्मक सन्देश दिन यी विदेशी लगानी स्वीकृत गरिएको हो,' जोशीले भने।

पछिल्लोपटक देशमा विदेशी लगानीकर्ताले रुचि देखाउन थालेको उनेको भनाइ छ। उनका अनुसार क्यानडाको विश्वप्रसिद्ध कम्पनी क्युविक नेपालमा लगानी गर्न इच्छुक छ। 'क्युवेक नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक छ,' मन्त्री जोशीले भने, 'लगानी सम्मेलनपछि आशयपत्रमा हस्ताक्षर हुनेछ।'

सम्मेलनपछि लगानीको थप घोषणा हुने विश्वास सरकारले लिएको छ। विश्वभरबाट आउने लगानीकर्ताले कम्पनीमा एक खर्ब रुपैयाँ लगानी प्रतिबद्धता गर्ने विश्वास लिइएको जोशीको भनाइ छ। 'हामीले लगानीको धेरै क्षेत्र र सम्भावना देखाइदिनेछौं,' मन्त्री जोशीले भने, 'ती क्षेत्रमा लगानीको प्रतिबद्धता आउनेमा हामी विश्वस्त छौं।'

प्रकाशित: १९ फाल्गुन २०७३ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App