१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोलम्यान विश्वकपतिर केन्द्रीत

दिनार्ड- युरोपियन च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शनसाथ सेमिफाइनलसम्मयात्रा तय गरेपछि वेल्स फिफा विश्व वरीयताको ११ औं स्थानमा उक्लने भएको छ। तर प्रशिक्षक क्रिस कोलम्यानले अब विश्वकप छनोटमा केन्द्रित हुनुपर्ने बताएका छन्।

अन्तिम चारको खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग २–० को नतिजामा पराजित भएर बाहिरिएको गारेथ बेल र उनको वेल्स टोलीलाई समर्थकले कार्डिफमा भव्य स्वागत गरे।

स्लोभाकिया, रुस, उत्तरी आयरल्यान्ड र फिफा वरीयताको दोस्रो टोली बेल्जियममाथि जित पाएको वेल्सले वरीयतामा १५ स्थानको फड्को मार्ने भएको छ। जसले वेल्सलाई बेलायती टोलीमध्ये फिफा वरीयताको सबैभन्दा माथि पुर्‍याउनेछ।

'वरीयता निकै चाँडो परिवर्तन हुनसक्छ। वरीयतामा माथि हुनु जहिले पनि राम्रो कुरा हो। यसअघि ३०, ४० वा ४५ औं स्थान हाम्रो सबैभन्दा राम्रो हुने गरेको थियो। त्यसैले यो फड्को हाम्रा लागि महŒवपूर्ण छ। तर हामी बेलायती टोलीमध्ये सबैभन्दा माथिल्लो वरीयताको टोली भनेरमात्र खुसी भइरहन सक्दैनौं। हामीले आफ्नो सुधार प्रक्रियामा ध्यान दिइरहनुपर्छ,' २०११ मा १ सय १७ औं स्थानको टोलीका प्रशिक्षक कोलम्यानले भने, 'कुनै बेला खराब समय चल्दा हामी शीर्ष १ सयभन्दा पनि तल हुन्थ्यौं। अहिले शीर्ष १० पछ्याइरहेका छौं। यसले हामीलाई उत्साह दिएको छ। तर वरीयता चाँडै परिवर्तन हुनसक्ने भएकाले अब हामी विश्वकप छनोटमा केन्द्रित हुनु  जरुरी छ।'

५८ वर्षमा पहिलोपटक कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने क्रममा वेल्सले धेरैको अपेक्षाविपरीत इङ्ल्यान्डभन्दा माथि रहेर समूह चरणको अन्त्य गर्नुका साथै उत्तरी आयरल्यान्ड र बेल्जियममाथि जित पाएको थियो। यसअघि विश्वकप १९५८ मा सहभागी हुनु वेल्सको ठूलो प्रतियोगितामा एकमात्र अनुभव थियो। त्यतिबेला टोली क्वार्टरफाइनलसम्म पुगेको थियो। यसपालि पनि उत्तरी आयरल्यान्डलाई पेरिसमा हराएपछि टोलीले त्यो पुरानो सफलता दोहोर्‍याएको थियो। तर बुधबार लियोनमा क्रिस्टियानो रोनाल्डो र नानीको गोलमा पोर्चुगलले आइतबारको फाइनलका लागि स्थान सुरक्षित गरेपछि वेल्सको अनपेक्षित यात्रामा पूर्णविराम लागेको थियो।

युरोपियन च्याम्पियनसिपका लागि फ्रान्स यात्रामा निस्कँदा वेल्स फिफा वरीयताको २६ औं स्थानमा थियो। एउटै समूहमा रहेका इङ्ल्यान्ड र स्लोभाकियाभन्दा तल रहेर युरोपियन च्याम्पियनसिप सुरु गरेको टोली अर्को साता फिफाले नयाँ वरीयता सार्वजनिक गर्दा दुवैभन्दा माथि हुनेछ।

युरोपियन च्याम्पियनसिपको उत्साहजनक प्रदर्शन र वरीयताक्रमको सुधारपछि वेल्सको आगामी लक्ष्य दुई वर्षपछि रुसमा हुने विश्वकपछानिनु हुनेछ। सेप्टेम्बरमा सुरु हुने छनोट प्रतियोगिताको समूह 'डी' मा कोलम्यानको टोलीले अस्ट्रिया, सर्बिया, आयरल्यान्ड, मोल्दोभा र जर्जियासँग प्रतिस्पर्धा गर्नेछ।

'विश्वकप छनोटमा हामीमाथि दबाब बढ्नेछ। युरोपियन च्याम्पियनसिपपछि हामीमाथिका अपेक्षा बढेको छ। पुरानो वेल्सको प्रदर्शनबाट मानिसहरू खुसी हुने छैनन्। हामीबाट अन्तर्राष्ट्रिय फुटबलमा अब ठूलो आशा छ, जसलाई हामीले पूरा गर्नुछ,' टोलीसँगै घर फर्किनुअघि फ्रान्समा आयोजित पत्रकार सम्मेलनमा कोलम्यानले भने, 'अब ठूला टोलीहरूले पनि हामीलाई मैदानमा पर्याप्त सम्मान दिन थालेका छन्। यो हाम्रा लागि राम्रो कुरा हो तर यसमा कायम रहन सक्नुपर्छ।'

प्रकाशित: २५ असार २०७३ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App