काठमाडौं- सरकारले यसै साता गर्न लागेको नेपाल लगानी सम्मेलनमा २५ देशका दुई सयभन्दा धेरै लगानीकर्ताले सहभागिता जनाउँदै छन्। विश्वका विभिन्न देशका व्यवसायीबीच सरकारले नेपालका आठ क्षेत्रमा लगानी गर्न आह्वान गर्दैछ।
यही फागुन १९ र २० गते राजधानीमा हुन लागेको उक्त लगानी सम्मेलनका क्रममा विदेशी सहभागीबाट लगानीको प्रतिबद्धता आउने समेत अपेक्षा गरिएको छ। 'नेपाल लगानीको उपयुक्त गन्तव्य हो भनेर सन्देश दिन खोज्दैछौं,' नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, 'सम्मेलनबाट लगानीका घोषणा पनि हुन सक्छ।'
सम्मेलनमा विश्वभरका २५ देशबाट दुई सयभन्दा धेरै व्यवसायी तथा लगानीकर्ताले सहभागी हुने प्रतिबद्धता जनाएको उद्योग विभागका महानिर्देशक प्रदिप कोइरालाले बताए। सम्मेलनमा सहभागी हुन दक्षिण एसियासहित चीन, अमेरिका, युरोपेली देशहरू, खाडी मुलुकहरू र केही अफ्रिकन मुलुकबाट पनि लगानीकर्ता आउँदै छन्।
काठमाडौं, सोल्टी होटलमा हुन लागेको सम्मेलनमा ६ सयभन्दा धेरैको सहभागिता रहने छ। उक्त सम्मेलनमा स्वदेशी व्यवसायी, विदेशी पाहुना तथा व्यवसायी प्रतिनिधि, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधिको पनि सहभागिता रहनेछ।
'नेपाल लगानी गर्न उपयुक्त देश हो भन्ने सन्देश दिन सम्मेलन आयोजना गर्दैछौं,' कोइरालाले भने, 'अब राजनीतिक मुद्दा सकिएर देश आर्थिक विकासको 'सेकेन्ड जेनेरेसन रिफर्म'मा लम्किएको सन्देश दिन यो सम्मेलन पनि गरिएको हो।' २०४६ सालपछि जसरी विदेशी लगानी, आर्थिक विकासभन्दा पनि राजनीतिक अस्थिरता हावी भयो। त्यसले लगानीको वातावरणलाई केही खल्बल्याएकोले अब नयाँ लगानी गर्न उपयुक्त छ भन्ने देखाउन सम्मेलनले सहयोग गर्ने कोइरालाको भनाइ छ।
उद्योग मन्त्रालय, लगानी बोर्ड र योजना आयोगको सहकार्यमा गर्न लागिएको सम्मेलनमा मुख्य रुपमा आठ क्षेत्रमा लगानी गर्न आह्वान गरिँदै छ। नेपालमा लगानीको सम्भावना रहेका मुख्य आठ क्षेत्रमा केन्द्रित रहेर सम्मेलनमा प्रस्तुति तथा छलफल गरिनेछ। विदेशी लगानी आउन सक्ने भनेर छानिएका क्षेत्रहरूमा कृषि, बैंकिङ तथा फाइनान्स, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उत्पादनमूलक क्षेत्र, खनिज तथा खानी, पर्यटन र यातायात क्षेत्र रहेका छन्।
कृषि क्षेत्रमा मल उद्योग, सिँचाइ नहर, बाटो, इलेक्ट्रिक पावर, कृषि फाइनान्सिङ, कृषि मेसिन, सामग्री तथा प्रविधि र बीउ उत्पादनमा लगानी गर्न सकिने भनेर पहिचान गरिएको छ। त्यसैगरी, उत्पादन तथा प्रोसेसिङ क्षेत्रमा चिया, कफी, मह, अदुवा, अलैंची, गैरकाष्ठ बन पैदावार जस्ता क्षेत्रहरू लगानी गर्न सकिने भनेर देखाइएको छ।
बैंकिङ तथा फाइनान्सिङ अन्तर्गत इन्सुरेन्स व्यवसायमा लगानी गर्न सकिने भनिएको छ। नेपालमा सन् २०११ सम्ममा इन्सुरेन्स पेनिट्रेसन जम्मा १.३१ प्रतिशत मात्र रहेकाले यहाँ अझै पनि इन्सुरेन्स क्षेत्रमा लगानी गर्न सकिने भनिएको छ। देशमा हाल जम्मा २६ वटा इन्सुरेन्स र एक रिइन्सुरेन्स कम्पनी छन्। जसमध्ये सरकारी दुई, निजी क्षेत्रका १८, विदेशी तीन र संयुक्त लगानीका चारवटा रहेका छन्।
नेपालमा लगानीको लागि सबैभन्दा धेरै सम्भावित क्षेत्र ऊर्जा हो। खासगरी हाइड्रोपावरमा विदेशी लगानीको ठूलो सम्भावना छ। यस क्षेत्रमा कहाँ के के सम्भावना छन्, कति काम भइरहेको छ जस्ता विषय सम्मेलनले देखाउने प्रयत्न गर्ने तयारी सरकारको छ। हाइड्रोपावर बाहेक सोलार इनर्जी, विन्ड इनर्जी, बायोमास, जियो थर्मललाई पनि लगानीको सम्भावित क्षेत्रमा राखिएको छ।
सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मा लगानी गर्ने क्षेत्रका रुपमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बिपिओ) र सूचना प्रविधि सेवा (आइटिइएस), सफ्टवेयर डेभलपमेन्ट, डिजिटल कन्टेन डेभलपमेन्ट, मोबाइल एप्लिकेसन डेभलपमेन्ट, इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी), अनलाइन पेमेन्ट इन्फ्रास्टक्चर एन्ड सर्भिसेस, इन्टरनेट डाटा सेन्टर जस्ता क्षेत्रमा लगानी गर्न सकिने भनिएको छ।
विदेशी लगानी आउने भनेर पहिचान गरिएको अर्को क्षेत्र उत्पादनमूलक उद्योग हो। फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी), गार्मेन्ट, सिमेन्ट, औषधिमूलक उद्योग, फलाम जस्ता उद्योगमा लगानी आउन सक्ने अनुमान गरिएको छ।
खनिज तथा खानीमा ६ वटा क्षेत्रमा लागानी गर्न सकिने भनेर छुट्ट्याइएको छ। धातु जन्य, अधातु, फ्युल मिनेरल्स, जेम्स स्टोन, डेकोरेटिभ एन्ड डाइमेन्सन स्टोन्स र कन्स्ट्रक्सन मिनेरल भनेर छुट्ट्याइएको छ।
नेपालमा विदेशीको राम्रो लगानीको सम्भाना भएको अर्को क्षेत्र हो पर्यटन उद्योग। यस क्षेत्रमा मुख्य रुपमा होटल व्यवसाय सबैभन्दा अगाडि आउँछ। त्यसबाहेक ट्राभल्स एजेन्सी, टुर अपरेटर, ट्रेकिङ र र्याफटिङ एजेन्सी जस्ता क्षेत्रमा पनि लगानी गर्न सकिने भनेर छुट्ट्याइएको छ।
लगानीको लागि आह्वान गर्न लागिएको अर्को क्षेत्र हो यातायात। देशमा निकै कमजोर पूर्वाधारको रुपमा रहेका बाटो, एयरपोर्ट, रेल्वे, सहरी यातायात जस्ता क्षेत्रमा लागनी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरिने छ।
सम्मेलनमा विदेशी लगानीकर्ताको सहभागिता गराउन सरकारले निजी क्षेत्रको सहयोग र सहकार्य गरिरहको कोइरालाले बताए। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता निजी क्षेत्रका संघ–संगठनले समन्वयकारी भूमिका खेलिरहेका छन्। विदेशी व्यवसायीलाई नेपाल ल्याउन उनीहरूको ठूलो सहयोग रहने उनको भनाइ छ।
विदेशी लगानी आह्वान गर्न लागिएका क्षेत्रहरू
कृषि : मल उद्योग, सिँचाइ क्यानल, इलेक्ट्रिक पावर, कृषि फाइनान्सिङ, कृषि मेसिन, सामाग्र तथा प्रविधि, बीउ, चिया, कफी, मह, अदुवा, अलैंची, गैरकाष्ठ वन पैदावार।
बैंकिङ तथा फाइनान्सिङ : इन्सुरेन्स
ऊर्जा : हाइड्रो, सोलार, विन्ड इनर्जी
सूचना तथा सञ्चार प्रविधि (आइसिटी)– बिपिओ, आइटिइएस, सफ्टवेयर, डिजिटल कन्टेन्ट, मोबाइल एप्लिकेसन, इन्टरनेट सर्भिस, अनलाइन पेमेन्ट, इन्फ्रास्ट्रक्चर एन्ड सर्भिसेस, इन्टरनेट डाटा सेन्टर
उत्पादनमूलक क्षेत्र : एफएमसिजी, गार्मेन्ट, सिमेन्ट, औषधिमूलक उद्योग, फलाम
खनिज तथा खानी : धातुजन्य, अधातुजन्य, फ्युल मिनेरल्स, जेम्स स्टोन, डेकोरेटिभ एन्ड डाइमेन्सन स्टोन्स र कन्स्ट्रक्सन मिनेरल
पर्यटन उद्योग : होटल, ट्राभल एजेन्सी, टुर अपरेटर, ट्रेकिङ र र्याफटिङ एजेन्सी
यातायात क्षेत्र : बाटो, एयरपोर्ट, रेल्वे, सहरी यातायात।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत