१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

काठमाडौं- मधेसी मोर्चाले कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेको बिदाइ गरेको छ। मोर्चाले शनिबार साँझ र्‍याडिसन होटलमा राजदूतको बिदाइ कार्यक्रम राखेको थियो। कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायतका नेता उपस्थित थिए।

कार्यक्रममा राप्रपाका नेता दीपक बोहरा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीलगायतका नेता पनि पुगेका थिए।

बिदाइ कार्यक्रममा संघीय समाजवादी  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएनन। उनको पार्टीबाट उपाध्यक्ष्य लालबाबु यादव बिदाइ समारोहमा पुगेका थिए। यादवले आफू काठमाडौंबाहिर रहेकाले बिदाइ कार्यक्रममा नगएको बताए। यसअघि पनि मोर्चाका नेता सामूहिक रूपमा भारतीय दूतावास जाँदा यादव काठमाडौंबाहिर हुने गर्थे।

'म काठमाडौंबाहिर रहकाले बिदाइ कार्यक्रममा जान नपाएको हुँ', यादवले भने। राजेन्द्र महतोले नेतृत्व गरेको गजेन्द्र नाारायण सिंह लोककल्याणकारी प्रतिष्ठाले पनि भारतीय राजदूतको बिदाइ कार्यक्रम आयोजना गरिसकेको छ। 

बिदाइ कार्यक्रम गर्नु अघि मोर्चाका नेताले तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बैठक गरेका थिए। बैठकमा मोर्चाको नेताहरूले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा संशोधन राख्ने बारेमा छलफल गरेका थिए। तमलोपाका सहमहामन्त्री राकेश मिश्रले मोर्चाले संशोधन विधेयकमा संशोधन राख्ने बताए। 'संशोधन विधेयकमा मोर्चाले संशोधन राख्ने तयारी गरेको छ। यसबारे आइतबार बस्ने बैठकमा छलफल हुनेछ', मिश्रले भने।

प्रकाशित: १५ फाल्गुन २०७३ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App