१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवा 'असफल'

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवामाथि पार्टी आदर्श, सिद्धान्त र उद्देश्यअनुसार संगठन सञ्चालन गर्न असफल भएको आरोप नेता रामचन्द्र पौडेल पक्षधरले लगाएको छ। पौडेल पक्षको शनिबार राजधानीमा भएको भेलाले सभापति देउवा पार्टी विधानलाई चुनौती दिँदै व्यक्तिगत र गुटगत स्वार्थका आधारमा अघि बढेको ठहर गरेको हो। भेलाले विधि र विधानविपरीत अघि बढ्ने सभापतिको कदमको खुलेर प्रतिवाद गर्ने निष्कर्षसहित तत्काल केन्द्रीय समिति र संसदीय दल बैठक बोलाउन माग गरेको छ।

व्यक्तिगत र गुटगत स्वार्थमा अघि बढेको, पार्टीलाई पूर्णता दिन नसकेको र राजदूत नियुक्तिमा आर्थिक चलखेल गरेको आरोप।

१३औं महाधिवेशन भएको एक वर्ष बित्न लाग्दासमेत पार्टीका कुनै पनि निकायलाई पूर्णता दिन सभापति देउवाले ध्यान नदिएको पौडेल पक्षको आरोप छ। 'पार्टी विधि र विधानअनुसार सञ्चालन हुन सकेन,' बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, 'सभापतिज्यू पार्टी सिद्धान्त, आदर्श, उद्देश्यलाई तिलाञ्जलि दिएर गुटगत र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुनुभयो।'

पार्टी इतिहास र जनताको विश्वासअनुसार भूमिका निर्वाह गर्न नेतृत्व असफल भएको ठहर गर्दै पौडेल निकट एक सदस्यले भने, 'पार्टीको चौतर्फी निन्दा र आलोचना भइरहेको छ। कुनै पनि कुराबाट पार्टी कार्यकर्ता र आमजनताले चित्त बुझाउने ठाउँ छैन। पार्टी नेतृत्व असफल हुँदा सभापति मात्र होइन हामी सबै डुब्छौं, त्यसबाट जोगाउन लाग्नुपर्छ।'

सभापति देउवाले पार्टीभित्र सन्तुलन कायम गरेर अघि बढ्न नचाहेको ठहर पौडेल पक्षको छ। 'पार्टीभित्र आन्तरिक छलफल र सन्तुलनभन्दा सभापति एकलौटी ढंगबाट अघि बढ्नुभयो,' पौडेल निकट अर्का एक नेताले भने, 'पार्टीमा कुनै पनि प्रकारको छलफल र विधिविधानको कुरा निमिट्यान्न बन्न पुग्यो। अब कसरी पार्टी जोगाउन सकिन्छ भन्ने चिन्ता छ।'

संविधान कार्यान्वयनदेखि मुलुकको समस्या समाधानमा कांग्रेसले नेतृत्व गरोस् भन्ने आमजनताको चाहना रहेको बताउँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, 'जनमत पनि कांग्रेसले नेतृत्व गरोस् भन्ने छ तर हामी त्यसबाट चुक्दै गएका छौं।'

पौडेल पक्षले पार्टीको प्रमुख सहभागितामा गठन भएको वर्तमान सरकारले गरेका राजनीतिक र राजदूत नियुक्तिमा आन्तरिक छलफल नभएको आरोप लगाएको छ। राजनीतिक नियुक्तिमा विभेद गर्नुका साथै आर्थिक चलखेलको भएको आशंका गर्दै नेताहरूले पार्टीको छवि धुमिल बनाउने काम गरेको आरोप लगाए। राजदूतमा सिफारिस भएका आशा लामा, भीम उदास र रमेश कोइराला कांग्रेस भएको आफूहरूलाई थाहा नभएको दाबी गर्दै पौडेल पक्षले भनेको छ, 'यस्ता व्यक्तिलाई राजदूत सिफारिस गर्दा पार्टीको छविसमेत बिग्रेको छ।'

पार्टीमा लामो समय योगदान गरेकालाई पाखा लगाएर कांग्रेसका नाममा बाहिरका व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरिएको भन्दै उनीहरूले त्यसलाई सच्याउनुपर्ने माग पनि गरेका छन्। ' राजनीतिक र राजदूत नियुक्ति सन्तुलन र पारदर्शी ढंगबाट भएन,' केन्द्रीय सदस्य बद्री पाण्डेले भने, 'नियुक्ति पारदर्शी र सन्तुलित हुनुपर्छ।'

संविधान कार्यान्वयनसहित मुलुकसामु रहेका जिम्मेवारी पूरा गर्न पार्टी नेतृत्व र सरकारले प्रभावकारी काम गर्न नसकेको  पाण्डेले बताए। उनले भने, 'कांग्रेस प्रभावकारी होस् र मुलुकको अभिभारा पूरा गर्न लागोस् भन्ने आमचाहनाअनुसार पार्टी चलेन भन्ने सबैको गुनासो छ।'

कांग्रेस असन्तुष्ट पक्षले स्थानीय तह निर्वाचन  र मुलुकसामु देखिएका अन्य चुनौती सामना गर्न तत्काल केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन माग गरेको छ। निर्वाचन केन्द्रित गरी पार्टीले नीति तथा कार्यक्रम बनाउनुपर्ने र संगठनलाई पूर्णता दिन पनि उनीहरूले माग गरेका छन्। उनीहरूका तर्फबाट पौडेलले शनिबार नै सभापतिलाई पत्र लेखी बैठक बोलाउन माग गरेका छन्।

केन्द्रीय सदस्य जीवन परियारले संविधान संशोधन, स्थानीय निर्वाचन, पार्टी संगठन सञ्चालनका साथै सरकार सञ्चालन तौरतरिका विषयमा छलफलका लागि बैठक बोलाउन सभापतिलाई लिखित आग्रह गर्ने निष्कर्ष निकालेको बताए। 

१३औं महाधिवेशन भएको एक वर्ष हुन लाग्दासमेत सभापति  देउवाले पदाधिकारीसहित कुनै पनि निकायलाई पूर्णता दिएका छैनन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफू निकटका आकांक्षी धेरै भएको र त्यसलाई व्यवस्थापन गर्न नसक्दा देउवाले पदाधिकारी मनोनयनमा विलम्ब गरेका हुन्। केही समयअघि कार्यसम्पादन समिति र विभाग गठनका लागि देउवाले आन्तरिक तयारी थाले पनि गुटगत सहमति जुट्न नसक्दा पूर्णता पाउन सकेको छैन।

पार्टी विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ। देउवा अघिल्लो फागुन २४ मा सभापति निर्वाचित भएका हुन्।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघको महाधिवेशन भए पनि गुटबन्दीका कारण भ्रातृ संगठनका समितिले पूर्णता पाउन सकेका छैनन्। संवैधानिक व्यवस्थाअनुसार स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न भ्रातृ संगठनको प्रभावकारी सञ्चालन जरुरी भए पनि सभापतिको त्यसतर्फ ध्यान नपुगेको पौडेल पक्षको आरोप छ। नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवाद सामना गर्न नसक्दा त्यसको असर स्ववियु निर्वाचनमा देखिएको आरोप लगाउँदै नेतृत्व सबै मोर्चामा असफल भएको ठम्याइ पौडेल पक्षको छ।

राजदूत सिफारिस लामाबाट कति पैसा लिइयो?

आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि नेपाल विद्यार्थी संघले माउ पार्टी कांग्रेससँग एक करोड रुपैयाँ मागेको छ। उम्मेदवारी मनोनयनका लागि खर्च भन्दै संघका अध्यक्षले एक करोड मागेपछि सभापति देउवाले सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका थिए। बैठकमा मन्त्रीहरूले राजदूत नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आशा लामालाई कसको सिफारिसमा नियुक्त गरेको भन्ने प्रश्न गरेका थिए।

वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजदूत सिफारिस लामाबाट कति पैसा लिएको भनेर सभापतिसँग प्रश्न गरेको स्रोतको दाबी छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि राजदूत नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सरकारको नेतृत्व आफूले गरे पनि त्यसबारे जानकारी नपाएको गुनासो गरे। निधिले पार्टीबाट सरकारमा सहभागी मन्त्रीबीच समन्वय अभाव रहेको बताएका थिए।

एकले अर्कालाई जानकारी नगराएको गुनासो सबै मन्त्रीबाट आएपछि सभापति देउवाले स्ववियु निर्वाचनमा आर्थिक संकलनको विषय प्रवेश गराएका थिए।

पौडेलको पत्र देउवालाई

नेता पौडेलले सभापति देउवालाई पत्र लेखी केन्द्रीय समिति र संसदीय दलको बैठक अविलम्ब बोलाउन माग गरेका छन्। निकट नेताहरूका तर्फबाट शनिबार पौडेलले सभापतिलाई पत्र लेखी संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ७ भित्र स्थानीय, प्रदेशर र केन्द्रको निर्वाचन सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

'पार्टी कन्द्रीय समिति र संसदीय दलको बैठक नबसेको महिनांै भयो,' पौडेलले सभापतिलाई लेखेको पत्रमा उल्लेख छ, 'नीतिगत विषयमा विधिवत् छलफल हुन सकेको छैन। पार्टीका साथीहरूको भावनाअनुरूप केन्द्रीय समिति र दलको बैठक बोलाउन अनुरोध छ।'

पौडेलले पार्टी सञ्चालन र भ्रातृ संगठन मात्र नभएर सरकारको काम पनि प्रभावकारी बन्न नसकेको सभापतिलाई स्मरण गराएका छन्। 'हाम्रो पार्टी संगठन र भ्रातृ संस्थाहरू सञ्चालनमा सन्तुलित ढंगबाट थप क्रियाशील हुन आवश्यक छ,' पत्रमा लेखिएको छ, ' सरकारको कामकारबाहीको प्रभावकारितामा निर्वाह गर्नुुपर्ने भूमिका तथा पछिल्लो चरणमा भएका विवादास्पद निर्णयका सम्बन्धमा हाम्रा शुभचिन्तकमा चिन्ता छाएको छ।'

यसअघि पौडेलले शुक्रबार सभापति देउवालाई टेलिफोन गरी बैठक बोलाउन आग्रह गरेका थिए। पार्टीलाई सहमति र संस्थागत रूपमा अघि नबढाएको, संसद्को ठूलो पार्टी सरकारमा रहेर पनि भूमिका गौण भएकोे र विवादास्पद निर्णय गरेको भन्दै पौडेलले महामन्त्री शशांक कोइरालाको निवासबाटै फोन गरेर बैठक बोलाउन आग्रह गरेका थिए।

प्रकाशित: १५ फाल्गुन २०७३ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App