१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाटो कुरेरै बित्यो १४ वर्ष

बाटबाडा घटनामा गुमेको छोरो सम्झेर आँसु बगाउँदै धनमाया चेपाङ।

हेक्राङ (धादिङ)- 'कोटबाडामा त जहाज बस्यो रे, हाम्रो मान्छे पनि आउँछ त?' द्वन्द्वका बेला सुरक्षा कारबाहीमा मारिएका पीडित परिवारको प्रश्न हो यो। गाउँमाथिबाट हजाईजहाज उडिरहँदा एयरपोर्ट खन्न गएका आफ्ना मान्छे फर्किने आसमा बाटो कुरिरहेका छन् हेक्राङबासी।

'कोटबाडामा जहाज बस्यो रे तर न हाम्रा मान्छे आए न सरकारले हेर्‍यो'

घटनामा बाबु गुमाएका गोविन्द चेपाङ भन्छन्, 'बुबा आउने बाटो हेर्दाहेर्दै १४ वर्ष बित्यो, अझै कति कुर्नुपर्ने हो, थाहा छैन।' कोटबाडामा जहाज बस्न थाल्यो रे भन्ने खबरले गाउँका सबैलाई फेरि त्यो कालो दिनले झस्काएको छ। उनीहरू भन्छन्, 'हवाईजहाज बस्ने ठाउँ हेर्न मात्रै पाए पनि मनमा शान्ति हुने थियो।' एयरपोर्ट निर्माण सम्पन्न भएपछि देखाउन लैजान्छौं भनेकाहरू अहिले भेट्न समेत नआएको उनीहरूको गुनासो छ।

कोटबाडा घटनामा मारिएकाका परिवारले अहिलेसम्म न आफन्तको लास पाए न क्षतिपूर्ति नै। कसैलाई छोराको याद, कसैलाई पतिको त कसैलाई बाबुको याद, गाउँलेको आँसु अझै रोकिएको छैन।

कोटबाडा घटनामा छोरा गुमाएकी जोगीमारा–५ की धनमाया प्रजा भन्छिन्, 'कोटबाडामा हवाइजहाज बसेर के भो र? मेरो छोरा आएन।' एकमात्रै छोरा बुद्धराज घटनामा मारिए पनि उनले छोरो आउने बाटो कुर्न छोडेकी छैनन्। कोटबाडा घटनामा मजदुर मारिएको भन्दै सबैतिर कुरा उठेको भए पनि पीडित परिवारले न मरेको देखे न त लास नै पाए।

घटनामा मारिएका भीमबहादुर थापाका दाजु मंगलबहादुर भन्छन्, 'सरकारले जहाज त बसायो, विमानस्थल निर्माणका लागि काम गर्न गएका हाम्रा मान्छे खोई? सरकारले कि तिम्रो मान्छे जिउँदै छ भनेर ल्याइदिनुपर्‍यो नत्र घटनामा संलग्नलाई कारबाही गरी हामीलाई उचित क्षतिपूर्ति दिलाउनुपर्‍यो।'

तत्कालीन समयमा उचित क्षतिपूर्ति दिन्छौं भनेको सरकारले अहिले बेवास्ता गरेको पीडितको गुनासो छ। 'त्यति बेला सरकारको मान्छेले पहिले तपाईंहरूको चित्त बुझाएर मात्रै अरु काम अघि बढाउँछौं भनेका थिए तर त्यस्तो भएन', कुलबहादुर चेपाङ भन्छन् 'त्यो बेला सरकारको मान्छेले भनेको जस्तो त भएन नै, मान्छे गाउँमा आउनै छाडे।'

काटबाडाको सुनथराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाको घेराबन्दीमा मारिएका ३७ जनामध्ये १७ जना धादिङका थिए।

कमाउन गएका घर मुली तथा परिवारका सदस्य मारिएपछि जोगीमाराका विपन्न चेपाङ र दलित परिवारको बिचल्ली भएको छ। सरकारले १० लाख दिने भनेर आशमात्रै देखाएको सुकमाया चेपाङले बताइन्। सरकारले १० लाख दिने भनेको भए पनि अहिलेसम्म तीनपटक गरी ५ लाख दिएको छ। सुकमायाले भनिन्, 'तेरो श्रीमान मरिसक्यो भनेर ५ लाख दियो, अरु दिएको छैन। त्यही पनि पाउन पाए भूकम्पले भत्किएको घर त बन्थ्यो होला।'

लोकतन्त्र बहालीपछि तत्कालीन सरकारले मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय गरेको भए पनि उनीहरूले अहिलेसम्म ५ लाखमात्रै पाएका छन्। बाँकी ५ लाख तामाकोसीमा लगानी गरिदिएको रे भन्ने हल्ला गाउँमा चलेको छ।

विमानस्थल निर्माण क्रममा ज्यान गुमाएकाको सम्मान र सम्झनामा राज्यले केही गर्न नसकेको मानवअधिकारकर्मीले बताएका छन्। कोटबाडा घटनाको सर्वत्र विरोध भएपछि लोकतन्त्र बहालीपछिको सरकारले त्यहाँ मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको भए पनि कागजमै सीमित बनेको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले बताए।

सेनाको आक्रमणमा जोगीमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज प्रजा, टंकबहादुर गुरुङ, गोकर्ण गुरुङ, भीमबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक र राजकुमार श्रेष्ठ मारिएको सरकारी अभिलेख छ।

घटना भएको फागुन १२ गते १४ वर्ष पूरा भएको छ। २०५८ साल फागुन १२ गते माओवादीको आशंकामा सुरक्षा फौजले घेरा हालेर मजदुरको हत्या गरेका थिए।

'बरु हामीलाई पनि मारिदिए हुन्थ्यो'

जो कोहीले छोराबारे कुरा चलाउने बित्तिकै टोलाउँछिन् उनी। अनि आँखाभरि आँसु पार्दै भन्छिन्, 'बरु हामीलाई पनि मारिदिएको भए हुन्थ्यो।' ऋण तिर्ने पैसा कमाउन हिँडेका छोरा बुद्धराज प्रजा मारिएदेखि हेक्राङकी धनमायाको आँखामा आँसु टुटेको छैन।

बुद्धराज धनमायाका एक्लो छोरा थिए। ६ कक्षामा पढ्ने छोरालाई दुःखले गर्दा काममा पठाएकी थिइन् धनमायाले। कमाउने कोही थिएन, घरमा खाने कुरा पनि थिएन। 'दुई छाक भात नुनतेल हालेर मिठो खुवाउँछु आमा' भन्दै निस्किएको छोराको लास पाउने आशा त छैन नै, सरकारले पनि आशामात्रै देखायो', उनी बिलौना पोख्छिन्। धनमाया छोरीज्वाइँकोे आश्रयमा छिन्।

जोगीमारा–५ हेक्राङका चित्रबहादुर चेपाङ पनि घर बनाएको ऋण तिर्न साथीभाइसँगै कोटबाडा हानिएका थिए। उनी पनि मारिए। ६ महिना घरबारीको काम र ६ महिना मजदुरी गरेर परिवार चलाउनु उनीहरूको बाध्यता थियो। हिउँदको महिनामा काम गरेर घर बनाएको ऋण तिर्ने र छोराछोरी पढाउने सपना त पुरा हुन पाएन नै, ससाना लालाबालाले बाबु चिन्नसमेत पाएनन्। उनकी पत्नी सुकमाया भन्छिन्, 'मलाई मारेको भए बरु यी छोराछोरीको बिचल्ली हुँदैन थियो, कमाएर ल्याउने मान्छेलाई नै मारेपछि हामी सबैको बिजोक भयो।'

चित्रबहादुरको हत्या हुँदा ६ सन्तानमध्ये एउटा डेढ वर्ष, अर्की साढे दुई वर्षकी थिइन्। अरु पनि सबै ससाना थिए। अरुले बुबा भनेर बोलाएको सुन्दा छोरीहरूले 'हाम्रो बाउ खै' भनेर हैरान गर्थे। मसँग अझै उत्तर छैन', उनले भनिन्, 'कालीकोटमा पतिको ज्यान गएपछि परिवार बिचल्लीमा परेको व्यथा सुनाइनसक्नु छ।'

'मकै लाउन आइपुग्छु भनेको थियो, आएन'

हेक्राङकी निन्नामाया चेपाङलाई छोराको झल्कोले अझै सताउन छोडेको छैन। फागुन–चैतमा मकै लगाउन आइपुग्छु भनेर निस्किएको छोरा शेरबहादुरको यादले आँखा नरसाएको दिन छैन। 'बिहान जाने बेला गएँ है भन्दै दगुर्थ्याे, ढोकाबाट छिर्न नभ्याउँदै भात माग्दै आउँथ्यो। अहिले खाने बेला जहिले उसकै झल्को आउँछ। रोएरै जीवन जाने भो मेरो त', आँखाभरि आँसु पारेकी निन्नामायाले दुखेसो सुनाइन्।

शेरबहादुरले घरबाट निस्किसकेपछि पनि आमालाई बोलाएर 'हामी आए सबैजना संगै आउँछौं नत्र उतै बस्छौं' भनेका थिए। 'रातो सर्ट र कालो पाइन्टमा चिटिक्क भएर निस्केको थियो, त्यस्तो लुगा लगाएको मान्छे देख्यो कि मेरै छोरोजस्तो लाग्छ। घरबाट निस्केको दिनदेखि न छोरा आयो न लास', निन्नामायाले भनिन्, 'फोटो भए पनि हेरेर बस्थें।' उनीसंग छोराको फोटोसमेत छैन।

छोरोलाई सेनाले मार्‍यो रे भन्ने रेडियोबाट सुनेको खबर झन्डै एक महिना उनीहरूले पत्याएनन्। 'हाम्रो छोरोमात्रै होइन, काम गर्न गएका गाउँका १७ जनालाई नै लाइनमा राखेर गोली हानेछ', शेरबहादरका बुबा कुलबहादुरले विगत सम्भि्कए।

एयरपोर्टमा काम गर्न गएका सबैलाई लाइनमा राखेर छातीमा मेसिन गन बर्साएको उनले सुनाए। घरभित्र बसेर खाना खान लागेको बेला सोधखोज नगरी माओवादीको आशंकामा सेनाले घेरा हालेर सबैको हत्या गरेको प्रत्यक्षदर्शीबाट थाहा पाएको उनले बताए। उनले भने, 'अरुले घेरा हालेर एक जनाले हानेको रे।'

गरिबीले गर्दा काम खोज्दै जोगीमाराका २० जना कोटबाडामा एयरपोर्टको जग्गा खार्ने काम गर्न पुगेका थिए। तीन जना घटना हुनुभन्दा केही दिनअघि घर फर्किएकाले उनीहरू बाँचे। बाँकी १७ जनाको एउटै चिहान भयो।

बालबच्चाको बिचल्ली सहन नसक्दा देवरसँग बिहे

कालीकोट घटनामा लोग्नेले ज्यान गुमाएपछि हेक्राङका चेपाङ समुदायका कतिपय महिलाले आफ्नै देवरसँग विवाह गरे।

'बालबच्चा नभएकाले अन्तै बिहे गरे, बालबच्चा भएका देवरसँगै बसे', स्थानीय शिक्षक सम्झना थापाले भनिन्, 'कमाएर ल्याइदिने श्रीमान् नभएपछि देवरसँग दोस्रो विवाह गर्नु त्यति बेला बाध्यता बन्यो।'

पति रामबहादुर कोटबाँडाबाट नफर्किएपछि पत्नी बेलीमायाले देवर श्रीरामलाई लोग्ने मानिन्। 'दुई बच्चा थिए। म एक्लैले लाउन खान दिन सक्दिनथें, त्यसैले देवरलाई श्रीमान् स्वीकार गरेर बसेकी हुँ', बेलीमायाले भनिन्।

हेक्राङकै कमन चेपाङ पनि देवर च्यासेसँग दोस्रो विवाह गरी बसेकी छन्। उनी भन्छिन्, 'एक छोरा र एक छोरी सानासाना थिए, उनीहरूलाई पनि मार्न त भएन नि, त्यसैले श्रीमान्कै भाइसँग घरसल्लाहले बसें।'

परम्परादेखि नै दाइको मृत्यु भएपछि भाउजू स्याहार्न मिल्ने चलन भएकाले छोराछोरीको दुःख हेरेर भाउजूलाई बिहे गरेको श्रीराम र च्यासेको भनाइ छ।

कोटबाडाको घाउ नसुक्दै भूकम्पको मार

कोटबाडा घटनामा ज्यान गुमाएका आफन्तको पीडा भुल्न नसकेका हेक्राङकावासीले भूकम्पले झन् पीडा थपिदियो। अनुदानको पहिलो किस्ता बुझेर पनि उनीहरूले घर बनाउन थाल्न सकेका छैनन्। 'न खाना छ, न पानी छ, आम्दानी हुने बाटो केही छैन, कसरी बनाउनी घर?' गाउँका सबैको समस्या उस्तै छ। 'श्रीमान् मर्‍यो भनेर सरकारले तीनपटकमा ५ लाख दियो। पहिले घर बनाउँदाको ऋण तिरियो। अब ५० हजारले घर बन्दैन कमाएर ल्याउने कोही छैन। कसरी बनाउनी र घर', सुकमाया चेपाङले भनिन्, 'सरकारले दिने भनेको ५ लाख पाउन पाए बरु अनुदान आउने ३ लाख र त्यो ५ लाख थपथाप गरेर एउटा घर बनाउन हुन्थ्यो।' जग खनेको भए पनि पैसा नभएकै कारण घर निर्माण सुरु नगरेको उनीहरूले बताए।

प्रकाशित: १३ फाल्गुन २०७३ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App