काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक अतिवाद र बिखण्डनवादी शक्तिलाई निस्तेज बनाउन सेना सधै तयारी अवस्थामा रहेको बताएका छन्। सेनापतिले तराई–मधेशलाई बिखण्डनगर्ने सार्वजनिक अभिपव्यक्ति र हतियार उठाउने धम्की बिरुद्ध सेना कारवाहीका लागि सधै तयारी अवस्थामा रहेको बताएका हुन्।
नेपाली सेना दिवशको अवसरकामा प्रेषित शुभकामना सन्देशमा क्षत्रीले ‘विखण्डनबादी शक्तिहरुले साम्प्रदायिकता भड्कीने अभिव्यक्तिहरु दिनुको साथै केही समूहहरुले हतियार उठाउने धम्की दिईरहेको’ बताएका हुन्। उनले यस्ता अभिब्यक्ति र गतिविधीले सांस्कृतिक एवम सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको बताएका हुन्।
‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिहरुलाई निश्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहेको’ क्षत्रीको मन्तब्यमा उल्लेख छ।
नेपाली सेनाले अखण्डता राष्ट्रिय हित विरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानूनले निर्दिष्ट गरेका नियम र कानूनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएको हो।
सैनिक कुटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक सङ्गठनहरुसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान विभिन्न मित्रराष्ट्रहरुसँग संयुक्त तालिम तथा अभ्यासहरु सञ्चालन भइरहेको र यसै क्रममा पहिलो पटक मित्रराष्ट्र श्रीलंका सँग सयुक्त अभ्यास सम्पन्न हुनुको साथै मित्रराष्ट्र बंगलादेश तथा मित्रराष्ट्र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको प्रधानसेनापति क्षत्रीले बताएका हुन ।
क्षत्रीले नेपाली सेना राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका हुन ।
प्रकाशित: १२ फाल्गुन २०७३ ११:५९ बिहीबार