१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तातोपानीका बाढीपीडितलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिँदै

चौतारा(सिन्धुपाल्चोक)– भोटेकोशी बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपत्मा फसिरहेका तातोपानीका पीडितलाई शुक्रबार उद्दार गरी काठमाडौं लाने तयारी भइरहेको छ।

बाढीले अरनिको राजमार्ग क्षतविक्षत बनाउँदा सडक यातायात सञ्चालन गर्न नसकिएपछि हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं लान लागिएको हो। सीमा प्रहरी चौकी तातोपानीका प्रहरी निरीक्षक खुमलाल भुसालका अनुसार उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर आउँदैछ ।

‘मौसम पनि अनुकुल छ, भ्याएसम्म शुक्रबार नै सबैलाई काठमाडौं लगिसकिने छ,’ भुसालले भने, ‘हेलिकोप्टर आउने खबरपछि करिब ५० जना बाढीपीडित पोकापन्तुरा बोकेर स्थानीय चौकीडाँडामा जम्मा भइसकेका छन्।’

मंगलबार राती तिब्बतबाट आएको बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पु¥याउने क्रममा अहिलेसम्म तातोपानीका झण्डै ५० घर बगाएको छ। दशकिलो भन्ने स्थानदेखि लिपिङसम्मको १० किलोमिटर क्षेत्रको बस्ती र राजमार्ग बाढीले क्षतविक्षत बनाएको छ। बाढीपछि धार परिवर्तन गरेको भोटेकोशीले अहिले पनि त्यहाँ तीव्र रुपमा कटान गरिरहेको छ।

बाढीपछि १० किलो, तातोपानी, कोदारी, लिपिङ बजार करिब विनास भइसकेको अवस्थामा छ। २०० भन्दा बढी परिवार विस्थापित छन्। उनीहरु चौकिडाँडालगायत सुरक्षित स्थानमा आश्रय लिइ बसेका छन्।
तातोपानी असुरक्षीत महसुस गर्दै काठमाडौं जानका लागि पीडितहरुले बुधबारदेखि नै हेलिकोप्टरको माग गर्दै आएका थिए। केही पीडितहरु भने हिँडेरै काठमाडौंलगायत सुरक्षित स्थानमा गएका छन्।  

 

प्रकाशित: २४ असार २०७३ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App