१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महानगरमा मनपरी भ्रमणखर्च

काठमाडौं-काठमाडौं महानगरपालिकाका उच्चपदस्थ कर्मचारी विदेश भ्रमण जाँदा नियमविपरीत भ्रमणखर्च लिएको पाइएको छ। ०७२ पुसमा महानगर प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एक कार्यक्रमका लागि श्रीलंका जाँदा महानगरबाट खर्च बुझेका छन्।

उनीसँगै गएका उपनिर्देशक सनदकुमार थापाले चेक तयार भए पनि थोरै भएको भन्दै बुझेका छैनन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मनोनयन तथा भ्रमण सहमतिअनुसार २०१५ डिसेम्बरमा उनीहरू एक कार्यक्रमका लागि श्रीलंकाको नेगोम्बोमा गएका थिए ।

उपप्रधानमन्त्रीस्तरको ०७२ मंसिर २२ को निर्णयबमोजिम सरकारी निकायलाई कुनै आर्थिक दायित्व नपर्ने गरी उक्त कार्यक्रममा सहभागी हुन मन्त्रालयले तामाङ र थापालाई अनुमति दिएको थियो । मन्त्रालयको निर्देशनलाई अटेर गर्दै दुवैले महानगरबाट विदेश भ्रमण खर्च माग गरेका हुन् । तामाङले फर्केलगत्तै  भ्रमणखर्च बुझेका थिए । थापाको नाममा त्यतिबेलै बनेको चेक भने थन्किएको छ ।

महानगर वित्तीय विभाग प्रमुख नुरनिधि न्यौपानेले कार्यकारीले तामाङले कति रकम बुझे भन्नेबारे बताउन चाहेनन् ।

‘थापाले त्यस बेला थोरै भयो भनेर नलिएको हुन सक्छ,’ महानगर वित्तीय विभाग प्रमुख नुरनिधि न्यौपानेले भने, ‘पछिल्लो समय पनि थापाले अमेरिका भ्रमणको तीन लाख नौ हजार रुपैयाँ भ्रमण खर्च माग गरेका छन् । त्यसबेला बफादार देखिन खोजेजस्तो गरेको मान्छेले यसपटक माग्नुनपर्ने हो नि !’

थापाले भने यसअघिको २५ हजार रुपैयाँ भने नियमविपरीत भएकाले नलिएको बताए ।

महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार चार वर्षअघि मन्त्रालयको स्वीकृतिअनुसार तत्कालीन कार्यकारी प्रमुख केदारबहादुर अधिकारी, उपनिर्देशक सनदकुमार थापा र महानगर वातावरण विभागका गंगाधर गौतमले अमेरिका भ्रमण गरेका थिए । स्वीकृतिपत्रमा तत्कालीन कार्यकारी अधिकारीको मात्रै खर्च महानगरले व्यहोर्ने उल्लेख छ ।

कार्यकारीको भ्रमण खर्च महानगरले व्यहोरेपछि थापाले पनि आफ्नो व्यहोनुपर्ने भन्दै महानगरसँग तीन लाख नौ हजार रुपैयाँ माग गरेका थिए । थापा निमित्त कार्यकारी अधिकृत भएका बेला ०७३ पुस ४ गते आफ्नै मागबमोजिमको भुक्तानी लिन लिखित आदेश वित्तीय विभागलाई दिएका दिए ।

यता, थापा निमित्त कार्यकारी रहेका बेला पारेर टिप्पणी उठाई रकम लिन खोजेको जानकारी पाएपछि आफूले रोकेको कार्की बताउँछन् । कार्यकारी र उपनिर्देशक थापा श्रीलंका जाने बेलाको खर्च व्यहोर्न बोर्डकै सहमति भएको कार्कीको भनाइ छ ।

यसअघि असुल

महानगरपालिका वातावरण विभाग शान्ताराम पोखरेलले पनि सन् २०१० मा अमेरिका भ्रमण गरेका थिए। त्यसबेला उनले ७२ हजार सात सय ११ रुपैयाँ भ्रमणखर्च महानगरबाट बुझेका छन् । मन्त्रालयले महानगरलाई आर्थिक भार नपर्ने गरी सहमति दिए पनि उनले भ्रमणखर्च बुझेको र पछि महानगरले कारबाही स्वरुप असुल गरेको थियो । त्यसबेला उनै थापा आर्थिक व्यवस्थापन विभाग प्रमुख थिए।

प्रकाशित: ११ फाल्गुन २०७३ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App