१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नक्कलीदेखि सावधान

यसपटक नक्कली चिकित्सक प्रकरणले पुरानो नेपाली उखान सम्झाएको छ– कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा। चिकित्सासम्बन्धी ज्ञान नलिई उपचार गर्न तम्सिनेले बिरामीलाई सिधै मृत्युको मुखमा हालिदिन्छन्। जनस्वास्थ्यसँग सरोकार राख्ने यस्तो पेसाको माथिल्लो स्थानमा पुगेका व्यक्तिले राम्ररी आफ्नो पढाइ र तालिम पूरा नगरेको थाहा पाउनेका शरीरमा अहिले काँडा उमि्रएका छन्। नक्कली डाक्टरका हातमा अप्रेसन गर्ने औजार हुनु ज्यानमाराका हातमा हतियार हुनुजत्तिकै खतरनाक हो। यस्तो स्थिति कल्पना पनि गर्न सकिन्न। हामीकहाँ भने यो परिस्थिति पनि अनौठो भइरहेको छैन। प्रधानमन्त्रीको दाँतको उपचार गर्ने हुन् वा राजधानीका एकसेएक महँगा अस्पतालमा रहेर बाथ आदि रोग उपचारमा संलग्न चिकित्सक, सबै यो प्रकरणमा उदांगिएका छन्। राजधानी काठमाडौंको आधुनिकता र सुविधामा रमेका विशिष्ट बिरामी नक्कली डाक्टरको सेवाबाट लाभान्वित भएको थाहा पाउँदा पनि धेरै ठूलो आश्चर्य महसुस भएको छैन। अझ तिनलाई जोगाउन र मुद्दा कमजोर गराउन भइरहेका चलखेल पनि महसुस गर्न सकिने किसिमका छन्। नक्कली चिकित्सकले बिरामी जाँच्नु, नक्कली पाइलटले जहाज उडाउनुजस्तो जोखिम अरू के हुन सक्छ? हामीकहाँ भने यस्ता विकृतिले समाजमा पूरै जरा गाडेको देखिएको छ।

गत वर्ष मंसिरमा आयोजित नेपाल मेडिकल काउन्सिल (एनएमसी)को लाइसेन्स परीक्षाक्रममा दुई जना नक्कली परीक्षार्थी समातिएका थिए। नक्कली परीक्षार्थी खडा गरेर बनेका चिकित्सकबाट कस्तो उपचार होला? विषयको गहिराइ बुझेर नेपाल प्रहरीले यसलाई छानविनको दायरामा ल्यायो। सरकारले पनि त्यसमा सहयोग गरेको थियो। त्यस विषयमा अनुसन्धान गर्दै जाँदा अन्ततः ठूलो संख्यामा नक्कली चिकित्सक कार्यरत रहेको थाहा भएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसमा अनुसन्धान गर्दै जाँदा नेपाली समाजमा यो निकै गहिरो गरी जकडिएको पाइएको छ। अहिलेसम्म ८ सय ५ जनाको छानबिन गर्दा १ सय ९ जनामा कैफियत भेटिएको हो। यो चरणको अप्रेसनमा ५० जनालाई लक्षित गरिएको भए पनि १३ जना कारबाही सुरु हुनासाथ फरार भएका थिए। यो अभियान त्यति सहज थिएन र सबै क्षेत्रबाट यसमा सहयोग पाउन सक्ने स्थिति पनि रहेन। जब शक्तिशालीकै आफन्त यसमा जोडिएका छन् भने तिनले स्वाभाविक रूपमा यहाँको न्यायनिरूपण र कारबाही प्रक्रिया पनि अवरुद्ध गर्न सक्ने अवस्था छ।

छानबिन दायरामा ल्याइएकाहरू सानो संख्या मात्र हुन्। त्यसमा पनि भारत सरकारको बिहार इन्टरमेडियट एजुकेसन काउन्सिलअन्तर्गतका प्रमाणपत्र मात्र छानबिन गरिएका छन्। यो घटनाक्रमले बाँकी शंकास्पद चिकित्सकलाई पनि छानबिन दायरामा ल्याउनुपर्ने आवश्यकता छ। त्यति मात्र होइन, सम्बन्धित संस्थाले पनि आफूसँग काम गरिरहेका चिकित्सकको शैक्षिक स्थिति अध्ययन गर्नुपर्ने आवश्यकता छ। यसले सरकारको छानबिन कार्यलाई सहयोग पुग्न जान्छ। यसबाहेक नक्कली चिकित्सकलाई आफ्नो संस्थामा राख्दा तिनले दिने सेवाका कारण खराब स्थिति आउन सक्छ। कतिपय चिकित्सा संस्थाले दिएको उपचारमा खोटसमेत देखिएको छ। कतिपय अवस्थामा बिरामीको ज्यानै गएका कारण ती संस्थाले महँगो क्षतिपूर्ति तिर्नुपरेको तितो यथार्थ पनि हामीसामु छ। यी मुद्दा अहिले धमाधम अदातलमा पेस हुने क्रम सुरु भएको छ। कतिपयका विषयमा प्रारम्भिक आदेशसमेत भएको छ। यही समाजकै शक्तिशाली व्यक्ति यसमा जोडिएकाले मुद्दा कमजोर बनाउन तिनको सक्रिय भूमिका हुने अवस्था देखिँदैछ। अझ नक्कली प्रमाणपत्र बनाउन किर्ते गर्ने काम भारतमा भएको हुनाले नेपालमा तिनले उन्मुक्ति पाउनुपर्ने तर्कसमेत हुने गरेको छ। नेपालमा सहजै चिकित्साशिक्षा लिन भारतीय नक्कली नागरिकता बनाएर पढ्ने गरेको देखिएको छ। तिनलाई समेत कारबाही दायरामा ल्याउनुपर्ने देखिन्छ। नक्कली प्रमाणपत्रधारी यस्ता चिकित्सकमाथि भइरहेको यो कारबाही रोकिन हुन्न। यो विकृतिलाई जरैसँग उखेलेर नफ्याँक्ने हो भने हाम्रो जीवन सुरक्षित छैन। नक्कलीबाट स्वास्थ्यलाभ होइन, यमपुरीको यात्रा निश्चित छ। 

प्रकाशित: २४ असार २०७३ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App