१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

१४ देशमा राजदूत सिफारिस

काठमाडौं- सरकारले दक्षता र क्षमतालाई लत्याउँदै दलीय भागबन्डामा विभिन्न १४ देशमा राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को सोमबार दोस्रोपटक बसेको बैठकले कांग्रेस कोटाबाट छ, माओवादी केन्द्र कोटाबाट चार, राप्रपा कोटाबाट तीन र फोरम लोकतान्त्रिक कोटाबाट एक गरी १४ जनालाई राजदूत सिफारिस गरेको हो।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले दिएको जानकारीअनुसार राजदूत रिक्त रहेका डेनमार्क, अस्ट्रेलिया, साउदी अरब, बहराइन, कोरिया, म्यानमार, बंगलादेश, श्रीलंका, कतार, युएई, जापान, इजरायल, ओमानमा राजदूत सिफारिस गरिएको छ। त्यसैगरी सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरी राजदूत सिफारिस गरेको छ।

सरकारले कांग्रेस कोटाबाट अर्जुनबहादुर सिंहलाई कोरिया, भीम उदासलाई म्यानमार, चोपलाल भुसाललाई बंगलादेश, विश्वम्भर प्याकुरेललाई श्रीलंका, रमेशप्रसाद कोइरालालाई कतार र आशा लामालाई युएईका लागि  राजदूतमा सिफारिस गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सिंह परराष्ट्र राज्य मन्त्री थिए। उदास गैर आवासिय नेपाली संघका संरक्षक हुन् भने भुसाल कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुषालको श्रीमान हुन्।

त्यसैगरी माओवादी केन्द्र कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अस्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूतमा सिफारिस भएका छन्।

माओवादी कोटाबाट राजदूतमा सिफारिस भएकी शेर्पा दोस्रो संविधानसभा निर्वाचन अघि एमालेबाट माओवादीमा प्रवेस गरेकी थिईन्, लम्साल राईजिङ नेपालका प्रधान सम्पादक हुन्, सुन्दास दलित आन्दोलनकर्मी तथा अध्येता, साहित्यकार हुन् र सिंह प्राध्यापक हुन्।

राप्रपा कोटाबाट राजदूत सिफारिस हुनेमा प्रतिभा राणा (जापान), भरत रायमाझी (स्पेन) र निरञ्जन थापा (इजरायल) छन्। राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन्। राणा कांग्रेस सभापति देउवाकी सासु हुन्। फोरम लोकतान्त्रिक कोटाबाट शर्मिला पराजुलीलाई सरकारले ओमानका लागि राजदूतमा सिफारिस गरेको छ।

सिफारिस भएका राजदूतको संसदीय सुनुवाइपछि सरकारले सम्बन्धित देशमा एग्रिमो पठाउँछ। सम्बन्धित देशबाट एग्रिमो स्वीकृत भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।

यसअघि गत वैशाखमा केपी ओली नेतृत्वको सरकारका पालामा सिफारिस भएका २२ राजदूतमध्ये पुष्पकमल दाहाल नेतृत्वको सरकारले साउनमा परराष्ट्रका कर्मचारीबाहेक १४ जनाको सिफारिस फिर्ता लिएको थियो। फिर्ता लिइएका मध्ये माओवादी केन्द्रका पुरानै सिफारिस दोहोरिएका छन् भने राप्रपाबाट पहिले सिफारिस भएका खगेन्द्र बस्न्यातको सट्टा राणा सिफारिसमा परेकी हुन्।

तत्कालीन सरकारले भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएपछि वर्तमान सरकारले यसअघि नै भारतमा फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायलाई पुनः नियुक्त गरिसकेको छ भने पूर्वमुख्य सचिव लीलामणि पौडेल चीनको राजदूत नियुक्त भइसकेका छन्।

कांग्रेसमा असन्तुष्टि

सरकारले १४ देशमा गरेको राजदूत नियुक्ति सिफारिसमा कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। पार्टीभित्रको आन्तरिक सन्तुलन नमिलाई सभापतिले एकलौटी ढंगले राजदूतका लागि पार्टी कोटाबाट नाम पठाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि सुरु भएको हो। 

'सन्तुलीत पनि भएन र राजदुत नियुक्तीको आधारमा के हो भन्ने पनि थाहा भएन,' नेता रामचन्द्र पौडेलले भने , ' यसमा सबैको सन्तुष्टि छैन।'

पाँच सचिवको सरुवा

सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत पाँच सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ। त्यसैगरी अख्तियारबाट राजेन्द्रकिशोर क्षेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन्। यस्तै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा सामान्य प्रशासनमा, सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन्। रामानन्दप्रसाद यादव सिँचाइ मन्त्रालयमा सरुवा भएका छन्।

प्रकाशित: १० फाल्गुन २०७३ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App