१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंक व्याज बढेपछि सवारी आयात घट्दै

भैरहवा- सवारी साधन आयातको ट्रेण्डलाई हेर्ने हो भने जेठ,असार, माघ र फागुन तुलनात्मक रुपमा धेरै आयात हुने महिना हुन। आयातकर्ताका अनुसार पौष महिनामा डिसेम्बर र जनवरी पर्ने भएकाले तुलनात्मक रुपमा भारतबाट सवारी निर्यात कम हुन्छ र नेपाल तर्फ आयात घट्छ।

माघ देखि आयातले फेरी गती लिन्छ। तर भैरहवा भन्सारका अनुसार यसपालीको माघमा सवारी आयात बढेन बरु अघिल्ला महिनाको तुलनामा घट्दो क्रममा रह्यो। फागुन पहिलो साता पनि सवारी साधनको आयात कम छ । बैकं तथा बित्तिय संस्थाहरुले प्रवाह गर्ने कर्जाको व्याज बढाएपछि त्यसको प्रत्यक्ष असर सवारी साधनको आयातमा देखिएको हो। भैरहवा भन्सारका प्रमुख भुपालराज शाक्यले बैकं व्याजको प्रभाव आयात निर्यात व्यापारमा पर्दा भन्सारको राजश्व असुलीमा असर परेको बताए । उनका अनुसार बिशेषगरी सवारी साधनको आयातमा त्यसको प्रभाव बढी देखिएको छ।

साउन देखि मंसिर सम्मका पाँच महिनामा भैरहवा भन्सारको कुल राजश्व मध्ये ५६ प्रतिशत राजश्व सवारी आयत बाट उठेको थियो। तर माघ महिनामा सवारी बापतको राजश्व ४३ प्रतिशतमा झरेको छ। सवारी आयातबाट भैहरवा भन्सारले माघ महिनामा १ अर्व ४५ करोड ४८ लाख राजश्व उठाएको छ। पौष महिनामा सवारी आयात बापतको राजश्व १ अर्व ६७ करोड ५७ लाख थियो । मंसिरमा २ अर्व ६८ करोड रुपैँया राजश्व सवारी आयातबाट उठेको भन्सारका सुचना अधिकृत गोपाल भट्टराईले बताए।

भैरहवा भन्सारबाट अघिल्लो महिना ५ सय ४९ वटा कारजिप भ्यान आयात भएको थियो । तर माघ महिनामा  ३ सय ७८ वटा कार जिप भ्यान भित्रीएको भन्सारका सूचना अधिकृत भट्टराई जनाकारी दिए। मंसिरमा भैरहवा नाकाबाट ९ सय ३१ कारजिप आयात भएको थियो । त्यस्तै मंसिरमा ९ हजार २ सय ६७ मोटरसाइकल आयात भएकोमा पौषमा ५ हजार ५५७ र माघमा ८ हजार ५ सय २७ वटा मोटरसाइकल आयात भएको छ। 

सवारी आयात घटेसंगै भैरहवा भन्सारको राजश्व असुली पनि घटेको छ । भैरहवा भन्सारले  माघ महिनामा ४ अर्व ३३ करोड ९४ लाख राजश्व असुली गरेको छ । अघिल्लो महिना पौषमा ४ अर्व ४३ करोड ३९ लाख र मंसिरमा ५ अर्व २३ करोड ३१ लाख राजश्व उठेको थियो । भन्सार बिभागले यो बर्ष भैरहवा भन्सारलाइ ५४ अर्व ६८ करोड ८४ लाख राजश्व असुलीको लक्ष्य तोकेको छ । गत आर्थिक बर्षदेखि यो नाकाबाट सवारी साधनको आयात बढेपछि राजश्व असुली पनि बढेको हो । गत बर्षको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले वीरगञ्ज, बिराटनगर लगायत तराइका अधिकांस नाका झण्डै ६ महिना ठप्प भए । तर भैरहवा तुलनात्मक रुपमा शान्त र सहज रह्यो । जसका कारण वीरगञ्ज लगायतका नाकाबाट आयात हुने अटो, इन्धन तथा औधोगिक कच्चा पदार्थका लोडेड गाडीहरु रिरुट गरेर भैरहवा ल्याइएको थियो।

ती मध्ये टाटा,महिन्द्रा, हुन्डाइ, मारुती सुजुकी लगायतका कम्पनीका गाडी आयातकर्ताले यो बर्ष पनि बेलहिया नाकालाइनै निरन्तरता दिएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७३ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App