२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिविमा शोधपत्र ऐच्छिक

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका विद्यार्थी स्नातकोत्तर तहको अन्तिम वर्षमा शोधपत्र (थेसिस) चोरेर, सारेर तथा खरिदबिक्री गरेर पास हुने क्रम बढेपछि थेसिस ऐच्छिक विषयका रूपमा राखिने भएको छ। 

राजधानीका महेन्द्ररत्न, त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरि  विद्यार्थीलाई शैक्षिक सामग्री बेच्न बसेका स्टेसनरी पसलेले पैसा लिएर शोधपत्रसमेत उपलब्ध गराउँदै आएका छन्।

विश्वविद्यालयमा थेसिस चोरी र खरिदबिक्री भइरहेका गुनासा आएपछि विश्वविद्यालयले भूगोल केन्द्रीय विभागका प्राध्यापक डा. भीमप्रसाद सुवेदीको संयोजकमा थेसिस छानबिन समिति गठन गरेको थियो।

चोरेर, नक्कल गरेर र खरिदबिक्री गरेर पास हुने प्रवृत्ति रोक्न स्नातकोत्तर दोस्रो वर्षमा शोधपत्र (थेसिस) ऐच्छिक विषयका रूपमा राख्ने तयारी।

पाँच सदस्यीय समितिले विभिन्न संकायका डिनसँग छलफल गर्दा चोरेर सारेर किनेर थेसिस बुझाई पास हुनुभन्दा यसलाई ऐच्छिक विषयका रूपमा राख्नुपर्ने सुझाव आएको छ। समिति सदस्य सहप्रध्यापक गिरिराज त्रिपाठीले समितिले सरोकारवालासँग छलफल गर्दा कडा रूपमा थेसिसलाई ऐच्छिक विषयका रूपमा राख्ने सुझाव आएको बताए। समितिले यही सुझाव समेटेर प्रतिवेदन बनाउनेछ।

हाल स्नातकोत्तर तहको अन्तिम वर्षमा थेसिस अनिवार्य छ। ऐच्छिक विषयमा राखिएपछि विद्यार्थीले परीक्षा केन्द्रमै गएर लेखेर परीक्षा दिनुपर्ने हुन्छ।

सदस्य त्रिपाठीले थेसिस चोरेर–सारेर पास हुने विद्यार्थीले विकृति फैलाउने र यसले भविष्यमा ठूलो दुर्घटना हुन सक्ने बताए।

उनका अनुसार समितिले विकृति नियन्त्रण गर्न संयन्त्र बनाई थेसिसको वैकल्पिक बाटो सुझाउने तयारी गरेको छ। 'अब थेसिसलाई विकल्पका रूपमा राख्न समितिले सुझाव दिने तयारी गरिरहेको छ,' त्रिपाठीले नागरिकसँग भने, 'विद्यार्थीलाई सिर्जनात्मक र क्रियाशील बनाउन थेसिस अनिवार्य गरिएको थियो।' उनका अनुसार विद्यार्थीले डिग्री हासिल गर्नमात्र थेसिस बुझाउन थालेपछि समस्या बल्भि्कएको हो। उनले भने, 'अब अन्तिम पेपर पनि लेखेर क्रेडिट पुर्‍याउनुपर्ने संयन्त्र बनाउन सुझावसहितको प्रतिवेदन बुझाइनेछ।'

उपत्यकामा ३० हजारदेखि १० हजारसम्म तिरे थेसिस हात पर्छ। पसलेले त्रिविका ख्यातिप्राप्त प्राध्यापकसमेत आफ्नो सम्पर्कमा रहेको र उनीहरूको हस्ताक्षरसहितको मेडिकल विषयको थेसिस ४५ हजार रुपैयाँमा उपलब्ध गराउने दाबी गर्छन्।

त्रिविमा बायोटेक्नोलोजी सहप्राध्यापकसमेत रहेका त्रिपाठीका अनुसार विद्यार्थीले अध्ययन गरेको विषयवस्तुबारे अनुसन्धान गरेर व्यवहारमा उतारी सक्षम बनाउने काम शोधपत्रले गर्छ। उनले भने, 'अनुसन्धानबिना देश विकास हुन सक्दैन तर विश्वविद्यालय र कलेजवरिपरि प्राध्यापककै मिलोमतोमा थेसिस बनाउने र बिक्री गर्ने अनैतिक काम भइरहेकाले थेसिसमा चोरीको महारोग फैलिएको छ।'

विद्यार्थीले अध्ययन गरेर जान्ने भन्दा जसरी पनि शैक्षिक योग्यताको प्रमाणपत्र हात पार्न खोज्ने र पढाउन मेहनत नगर्ने शिक्षकका कारण थेसिस झारा टाराइमा सीमित बनेको शिक्षाविद्  प्रा.डा. तीर्थ पराजुलीको अनुभव छ।

उनका अनुसार शोधपत्रले विद्यार्थीलाई सिर्जनात्मक अनुसन्धानकर्ता बनाउँछ। एक सय वा ५० नम्बर पूर्णांकको शोद्यपत्र विद्यार्थीले अध्ययनअनुसन्धान गरेर तयार पारे भने उनीहरू स्वतन्त्र अध्ययनकर्ता हुने उनको भनाइ छ।

तर यसलाई ऐच्छिक पार्न साथ विद्यार्थीको व्यक्तित्व विकासको बाटो रोकिन्छ। 'विद्यार्थीलाई सिर्जनात्मक, मेहनती र खोजकर्ता बनाउने उद्देश्यसहित विश्वविद्यालयले थेसिसको अवधारणा ल्याएको हो,' पराजुलीले नागरिकसँग भने, 'विद्यार्थीलाई स्वतन्त्र रूपमा काम गर्न र विषयगत व्यावहारिक ज्ञान दिन्छ शोधपत्रले। तर शिक्षकमा गहिरो अध्ययनको कमी र विद्यार्थीको बसीबसी अध्ययन पूरा गर्ने गलत प्रवृत्तिलाई ऐच्छिक थेसिसले बल गर्छ।'

मानविकी शास्त्रसंकायका सहायक डिन निमलकुमार शर्माका अनुसार विश्वविद्यालयमा बौद्धिक चोरी मापन गर्ने संयन्त्र बनाउन नसकेका कारण विद्यार्थी र शिक्षक दुवैमा थेसिस अध्ययनअनुसन्धानको विषयभन्दा सार्ने र चोरी गर्ने विकृति बढ्दै गएको हो।

'दुई वर्षको स्नातकोत्तर तहमा थेसिसका लागि ६ महिना समय दिएको हुन्छ,' शर्माले भने, 'एक निर्देशकसँग १५–२० विद्यार्थी हुन्छन्। निर्देशकलाई पनि विद्यार्थी देखेर झर्को लाग्छ भने विद्यार्थीले पनि निर्देशकलाई टेर्दैन।'

प्रकाशित: ९ फाल्गुन २०७३ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App