१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ढाका कपडाको माग बढ्दो

काठमाडौं- ढाका कपडा भनेपछि नेपाली पहिचान र गौरवको विषयसँग जोडिएको छ भन्दा फरक पर्दैन। पछिल्लो समय विभिन्न सामाजिक कार्यक्रम होस् वा जुनसुकै समारोहमा पनि ढाकाको पहिरनले निकै चर्चा पाउने गरेको छ। मौलिकतासँगै जोडिएका कारण पनि ढाका कपडाको माग बढ्दै गएको व्यवसायी बताउँछन्।

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा पनि ढाकाको विभिन्न कपडाले बजार लिएको छ। महिला उद्यमीको सीप, कलासँगै धेरैको रुचि ढाका कपडाको पहिरनमा छ। बालबालिकादेखि युवा पुस्ताका लागि विभिन्न पहिरन तयार भएको छ। तन्नादेखि ओछ्याउने सबै सामग्री नै ढाका कपडाको चलन आइसकेको सम्झना ढाका पसल इलामकी सीता बियालीले बताइन्।

सम्झना ढाका पसलले २०५६ सालबाट ढाकाको कपडा उत्पादनसँगै बिक्री वितरण गर्न थालेको सीताले बताइन्। उनले भनिन्, 'हामीले ७० जनालाई रोजगारी दिएर गाउँगाउँबाट ढाकाको टोपी, सल, कोट, सल, कुर्ता, साडी जस्ता कपडा उत्पादन गरेका छौं।' यसबाट गृहणी मात्रै नभएर किशोरीहरु समेत आफ्नो खर्च जुटाउन सफल भएको उनको भनाइ छ।

मेलामा महिला उद्यमी संघ पर्वतले पनि सहभागिता जनाएको छ। यसले पाँच वर्षदेखि ढाकाको कपडा उत्पादन गरिरहेको छ। पर्वतमा ढाकाबाट उत्पादन भएका गलबन्दी, ब्याग, कछाड, बैठक कोठाका लागि आवश्यक कपडा मेलाका आकर्षणको सामग्री नै बनेको संघकी जिल्ला अध्यक्ष सरस्वती भण्डारीले बताइन्। जिल्लामा भगवती क्षेत्री र सौभाग्य थापा पुनलाई ढाका कपडा सम्बन्धी तालिम दिएपछि पर्वतमा व्यावसायिक ढाका कपडा बनाउने काम सुरु भएको अध्यक्ष सरस्वतीले जानकारी दिइन्।

सौभाग्य थापा पुनले ढाकाको कपडा बनाउन सजिलो नभएको र बनाए पनि बजारमा सस्तो खोज्दा लगानी उठाउनै गारो भएको सुनाइन्। उनले भनिन्, 'ढाका कपडा उद्योगका लागि राज्यले प्रोत्साहन स्वरुप अनुदान दिनुपर्छ।'

भक्तपुरकी चन्द्रलक्ष्मी प्रजापतीले ढाका कपडाको बजार भए पनि उत्पादन गर्न समस्या भएको बताइन्। उनले भनिन्, 'उत्पादन ज्याला नै बढी छ बिक्री गर्दा महँगो भन्छ कसरी बिक्री गर्ने?' उनका अनुसार भक्तपुरका व्यवसायीले नेवारी समुदायको हाकुपटासी, साडी, कोट, सल, टोपी उत्पादन गर्ने गरेका छन्।

मेलामा पाँच करोडको कारोबार

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा करिब पाँच करोड रुपैयाँको कारोबार भएको छ। फागुन ३ देखि ७ गतेसम्म भएको मेलामा कुल कारोबारमध्ये दुई करोड रुपैयाँ काउन्टर सेल र तीन करोड रुपैयाँ बराबरको सामान निर्यात हुने गरी कारोबार भएको आयोजकले जनाएको छ।

नेपाल महिला उद्यमी महासंघले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय महिला उद्यमीको सीप प्रदर्शनसँगै प्रवर्द्धनका लागि मेला आयोजना गरेको थियो। मेलामा भारत, चीन, पाकिस्तान, अफगानिस्तान, भुटान, फिलिपिन्सका महिला उद्यमीले सहभागिता जनाएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।

उनले भनिन्, 'प्रथम अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको सफलतापछि दोस्रो मेला पनि प्रभावकारी ढंगले सफल भएको छ। अर्को वर्ष झन् नयाँ ढंगले बृहत मेला गर्ने योजना बनाएका छौं। यो मेला महिला उद्यमीका लागि ठूल्लो प्लेटफर्म भएको र यसबाट व्यापारका लागि नयाँ नेटवर्क बन्ने अध्यक्ष राणाको भनाइ थियो।

मेलामा एक सयवटा स्टल थियो। वाणिज्य मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र अन्तर्राष्ट्रिय श्रम संगठन लगायतले सहयोग गरेका थिए।  मेला ४० हजारले अवलोकन गरेको महासंघले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७३ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App