१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकको कर्जाअनुसार निक्षेप वृद्धि हुन सकेन

लक्ष्मण रिसाल, प्रमुख कार्यकारी अधिकृत, एनआइसी एसिया बैंक

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म)को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सबै वाणिज्य बैंकले लगानीयोग्य पुँजीको अभावका बाबजुद पनि मुनाफा वृद्धि गरेका छन्। आर्थिक विश्लेषकहरुले लगानीयोग्य पुँजी अभावको असर बैंकहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा देखिन सक्ने अनुमान गरे पनि बैंकहरुको वित्तीय विवरणमा त्यस्तो असर देखिएको छैैन।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मण रिसाल लगानीयोग्य पुँजीको अभाव भए पनि क्रमशः सहज हुने अनुमान गर्न सकिने बताउँछन्। करिब एक वर्षअघि बैंक सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त  गरेको थियो। त्यसअघि उनी सोही बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। रिसालसँग करिब २७ वर्षदेखि बैंकिङ तथा बिमा क्षेत्रमा नेतृत्वदायी भूमिकामा रही कार्य सम्पादन गरेको अनुभव छ।

सन् १९९० मा तत्कालीन ग्रिन्डलैज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड)बाट बैंकिङ करियर सुरु गरेका उनी सन् २००४ मा तत्कालीन एनआइसी बैंकमा प्रमुख सञ्चालन अधिकृत, सन् २००८ मा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत, सन् २००९ मा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडको महाप्रबन्धक, सन् २०१३ मा मर्जरपछि बनेको हालको एनआइसी एसिया बैंक लिमिटेडको महाप्रबन्धक, २०१५ मा नायब प्रमुख कार्यकारी अधिकृत, सन २०१५ को जुनमा निमित्त प्रमुख कार्यकारी अधिकृत हुँदै सन् २०१६ मेमा एनआइसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत छन्।

लगानीयोग्य पुँजीको अभाव र त्यसले बैंकिङ क्षेत्रमा पुर्‍याएको असर, एनआइसी एसिया बैंकको वर्तमान अवस्था, आगामी योजना र समग्र बैंक तथा वित्तीय क्षेत्रबारे नागरिकका विष्णु बेल्वासेले सिइओ रिसालसँग गरेको कुराकानीको सम्पादित अंश : 

समग्र बैंकिङ क्षेत्रको कर्जामा भएको ब्याजदर वृद्विलाई कसरी हेर्नु भएको छ र के कहाँसम्म पुग्ने अनुमान गर्नु भएको छ?

अहिले बैंकमा लगानीयोग्य रकमको अभाव भएको हो। विप्रेषणमा आएको कमी, राष्ट्रको राजस्व संकलन अघिल्लो वर्षभन्दा वृद्वि भएको तर सरकारको पुँजीगत खर्च न्यून हुनु, वैदेशिक व्यापार घाटाको तह फराकिलो हुँदै जानुले बैंकिङ क्षेत्रको निक्षेपको वृद्धि कर्जाको तुलनामा कमी भएको हो।

चालु आवमा बैंकहरुको कर्जा वृद्विअनुसार निक्षेपको वृद्वि हुन सकेन। जसले गर्दा अहिलेको लगानीयोग्य कर्जा अभावको स्थिति सिर्जना हुन गयो। जसको नतिजा समग्र बैंकिङ क्षेत्रको सिसिडी अनुपात निकै माथि पुग्न गयो। उक्त सिसिडी अनुपातको व्यवस्थापनका लागि बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गर्न थाले र स्वभावतः कर्जाको ब्याजदरमा पनि वृद्धि हुन गयो। निक्षेपको लागतमा वृद्वि हुँदा कर्जाको ब्याजदरमा वृद्वि हुनु स्वभाविक नै हो। तर, यस वर्ष भने छोटो समयमा नै कर्जा तथा निक्षेपको वृद्विदर उच्च रहेको छ। हाल बैंकहरुले कर्जा विस्तार कम गरेको अवस्था छ। साथै सरकारले पनि खर्चहरु बढाउँदै लगेकाले हालको अवस्थामा क्रमिक सुधार आउने अपेक्षा राख्न सकिन्छ। वित्तीय क्षेत्रमा छोटो समयमा ब्याजदरमा उच्च फेरबदल हुनु अर्थतन्त्रको विकासका लागि राम्रो होइन र यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला मिलेर आवश्यक उपाय अवलम्बन गर्न आवश्यक छ। 

कर्जामा भएको ब्याजदर वृद्विले कर्जाको वृद्धिदर तथा बैंकिङ क्षेत्रको समग्र वित्तीय नतिजामा के कस्तो असर पुग्ने अनुमान गर्नु भएको छ?

कर्जाको ब्याजदरमा भएको वृद्विसँगै कर्जाको मागमा कमी आउने अवस्था रहेको छ। साथै निक्षेपको वृद्धि उत्साहजनक नहुँदा थप कर्जा लगानी गर्न कठिन हुने देखिन्छ। यसबाट समग्र बैंकिङ क्षेत्रको मुनाफामा असर पर्ने कुरा नकार्न सकिन्न।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभावको अवस्थालाई समाधान गर्न के गर्नुपर्ला?

बैंकिङ क्षेत्रमा देखिएको अहिलेको लगानीयोग्य रकम अभावको अवस्था सहज हुन निक्षेपको वृद्धि हुनु आवश्यक छ। कर्जा विस्तारमा कमी हुँदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन कठिन हुन सक्ने सम्भावना समेत मध्यनजर गर्दै यसको समाधानका लागि सबै सरोकारवाला चनाखो हुनु आवश्यक छ।

नेपाल राष्ट्र बैंकले कुल कर्मचारी खर्चको न्यूनतम तीन प्रतिशत खर्च कर्मचारीको तालिम तथा वृत्ति विकासमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। यसमा तपाईंको धारणा के छ?

राष्ट्र बैंकले गत आवमा भएको कुल कर्मचारी खर्चमध्येको तीन प्रतिशत चालु आवमा गर्नुपर्ने व्यवस्था ल्याएको छ। समग्र बैंकिङ क्षेत्रमा यसले सकारात्मक प्रभाव पार्ने छ। यसले बैंकहरुको उत्पादकत्वमा वृद्वि गर्ने तथा कर्मचारीको वृत्ति विकासमा सहयोग गर्ने छ। यसले बैंकको समग्र जोखिम व्यवस्थापन गर्ने क्षमतालाई नै माथिल्लो तहमा पुर्‍याउँछ। तसर्थ हामीले यस वर्षको बजेट निर्माण तथा पाँचवर्षे दीर्घकालीन रणनीति तर्जुमा गर्दाको अवस्थामा नै उक्त विषयलाई ध्यानमा राखेर आफ्ना कर्मचारीलाई नियमित रुपमा आन्तरिक तथा बाह्य रुपमा तालिम तथा वृत्ति विकासमा विशेष जोड दिँदै आएका छौं।

राष्ट्र बैंकले आफ्नो मुनाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने भन्ने व्यवस्थाबारेमा तपाईंको धारणा के छ?

आफूले कमाएको मुनाफाको केही अंश संस्थागत सामाजिक कार्यमा खर्च गर्नु एक सच्चा नागरिकमा हुनुपर्ने असल गुण हो। संस्था पनि एक नागरिक भएकाले उक्त क्षेत्रमा अनिवार्य खर्च गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएर राम्रो व्यवस्था गर्‍यो भन्ने मलाई लाग्छ। जुन काम हामीले धेरै वर्षदेखि गर्दै आएका छौं। हाम्रो एक छुट्टै संस्था एनआइसी एसिया फाउन्डेसन छ। जुन संस्थामा आफ्नो खुद मुनाफाको ०.५ प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नका लागि हरेक वर्ष छुट्टाउँदै आएका छौं र सो संस्थामार्फत खर्च गर्दै आइरहेका पनि छौं।

अन्य बैंकसँग तुलना गर्दा एनआइसी एसिया बैंकको दोस्रो त्रैमाससम्मकोे नतिजा कस्तो रहेको छ?

चालु आवको दोस्रो त्रैमाससम्मको नतिजा अत्यन्त उत्साहजनक छ। हामीले यस अवधिको लागि निर्धारण गरेको लक्ष्यअनुसार नै वित्तीय नतिजा हासिल गर्न सफल भएका छौं।

चालु आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ वार्षिक बिन्दुगत आधारमा ४३ प्रतिशत वृद्वि गरी कुल ६७ अर्ब ५० करोड पुर्‍याउन सफल भएका छौं। त्यस्तै खुद मुनाफातर्फ ४४ प्रतिशतको वृद्वि हासिल गरी ७२ करोड रुपैयाँ कमाउन सफल भएका छौं। साथै कुल सम्पत्तिमा प्रतिफलतर्फ १.६९ प्रतिशत, स्वपुँजीमा प्रतिफलतर्फ १८.१ प्रतिशत तथा कर्जा निष्त्रि्कय अनुपात ०.७२ प्रतिशत कायम गर्न सफल भएका छौं। जुन अघिल्लो वर्ष क्रमशः १.५९ प्रतिशत, १७.४ प्रतिशत तथा १.४० प्रतिशत रहेको थियो। हामीले हासिल गरेका नतिजा समग्र बैंकिङ क्षेत्रको प्रगति अनुरुप नै रहेको पाएका छौं।

बैंकको हालको वित्तीय अवस्था कस्तो रहेको छ?

बैंकको हालसम्मको समग्र वित्तीय अवस्था सुदृढ रहेको छ। बैंकिङ क्षेत्रमा हाल देखिएको लगानीयोग्य रकम अभावको अवस्थामा भए पनि हाम्रो कर्जा निक्षेप अनुपात तथा तरलता अनुपात निकै सुविधाजनक अवस्थामा छ। निष्त्रि्कय कर्जा अनुपातमा निरन्तर सुधार भइ हाल ०.७२ प्रतिशत मात्र रहेको छ। शाखा सञ्जाल विस्तारका क्रममा रहेका छन्। जसबाट हामीलाई लक्षित वर्गमा सेवा विस्तार गर्न थप सहज भएको छ।

बैंकले शाखा विस्तारलाई निकै महत्व दिएको थियो। बैंकले हालसम्म कतिवटा शाखा खोल्नुभयो र थप नयाँ शाखा विस्तारबारे के भइरहेको छ?

हामी शाखा विस्तारमा सक्रिय भएका छौं। मर्जरपछि हामीले स्थानान्तरण बाहेक नयाँ शाखा खोल्न सकेका थिएनौंं। यस वर्षमात्रै १२ नयाँ शाखा तथा दुई एक्स्टेन्सन काउन्टर सञ्चालन गरेका छौं र थप शाखा सञ्चालन गर्ने अन्तिम तयारीमा छौं। यस आवको अन्तसम्ममा थप ४० शाखा सञ्चालन गरिसक्ने गरी कार्य अगाडि बढिरहेको छ।

बैंकले लघुवित्त तथा मर्चेन्ट बैंकिङ कारोबारमा आफ्नो सेवा विस्तार गर्ने रणनीतिमा रहेको सुनिन्छ यसबारेमा के भइरहेको छ?

बैंकको सहायक कम्पनीको रुपमा एनआइसी एसिया क्यापिटल तथा एनआइसी एसिया लघुवित्त संस्था सञ्चालनमा ल्याउने तयारीमा छौं। एनआइसी एसिया क्यापिटलको औपचारिक सञ्चालनको अन्तिम तयारी भइरहेको छ। बैंकको अर्को सहायक कम्पनी लघुवित्त संस्था सञ्चालनका लागि आशय पत्र राष्ट्र बैंकमा दर्ता गरेका छौं र अनुमति पाउनासाथ दर्ता प्रक्रियामा अगाडि बढाउने योजनामा छौं। हाम्रा ग्राहकलाई आवश्यक पर्ने सबै वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सहायक कम्पनी स्थापना गर्न लागेका हौं।

बैंकले के कस्ता नयाँ योजना तथा सेवा ल्याएको छ?

हामीले निरन्तर रुपमा नयाँ योजान तथा सेवा ल्याइरहेका छौं। हालै ल्याइएको 'धन वर्षा मुद्दती खाता' छोटो समयमा नै अत्यन्त लोकप्रिय भएको छ। त्यस्तै हामी विद्युतीय बैंकिङ सेवा विस्तार गर्ने रणनीति अनुरुप मोबाइल बैंकिङ सेवा, प्वाइन्ट अफ सेल, क्रेडिट कार्ड सेवा ग्राहक समक्ष ल्याएका छौं। मोबाइल बैंकिङ सेवा अन्तर्गतका ग्राहकहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबारको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सक्नु हुनेछ। साथै मोबाइल बैंकिङ सेवा प्रयोग गरेर रकमान्तर, बिल भुक्तानी, रिचार्ज कार्ड खरिद लगायत एनसिएचएलको अन्तर बैंक भुक्तानी प्रणाली मार्फत अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खाताहरुमा समेत रकमान्तर गर्न सकिने सुबिधा रहेको छ। इन्टरनेट बैंकिङ सेवा तथा मोबाइल बैंकिङ सेवामार्फत यस्तो सुबिधा प्रदान गर्ने हामी पहिलो बैंक हौं।

चालु आर्थिक वर्ष चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउने अन्तिम वर्ष हो। एनआइसी एसिया बैंकले उक्त चुक्ता पुँजी पुर्‍याउन के योजना बनाएको छ?

हाम्रो अहिलेको चुक्ता पुँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। अहिले हामी पुँजी वृद्वि योजनाअनुसार नै १५ प्रतिशत (८७ करोड रुपैयाँ) को हकप्रद सेयर निष्कासन गर्ने क्रममा रहेका छौं। उक्त हकप्रद सेयरपश्चात बैंकको चुक्ता पुँजी ६.६१ करोड रुपैयाँ पुग्नेछ। हामीसँग रहेको वितरणयोग्य रकम तथा चालु वर्षको मुनाफाबाट प्रदान गरिने बोनस सेयरबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुग्ने छ।

हकप्रद सेयर कहिलेसम्म आउँछ त?

हामीले हकप्रद सेयर निष्कासनको लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छौं। धितोपत्र बोर्डसँग निष्कासन स्वीकृतीका लागि विवरणपत्र दर्ता गरिसकेका छौं। चालु आवकोको अन्तिम त्रैमासको पहिलो महिनासम्ममा बाँडफाँड गरिसक्ने लक्ष्य राखेका छौं।

वित्तीय साक्षरता बढाउन बैंकले के कस्ता कार्यक्रम ल्याइरहेको छ?

हामीले एनआइसी एसिया फाउन्डेसनमार्फत बैंकिङ साक्षरता वृद्विका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौं। थप कार्यक्रम सञ्चालनका लागि हालै नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमतीपत्रमा हस्ताक्षर गरेका छौं। साथै बैंकबाट प्रत्यक्ष विपन्न वर्ग कर्जा प्रदान गरेका ग्राहकलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौं। यसले लक्षित वर्गमा वित्तीय साक्षरताको स्तरलाई थप अभिवृद्वि गर्ने छ भन्ने मेरो विश्वास रहेको छ।

प्रकाशित: ८ फाल्गुन २०७३ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App