१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'हलो' मा अड्क्यो राप्रपा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मस्यौदा विधान चुनाव चिह्नका कारण रोकिएको छ। पार्टीको चुनाव चिह्न गाईको सट्टा हलो राख्नुपर्ने प्रकाशचन्द्र लोहनी पक्षको अडानका कारण प्रतिवेदन पारित हुन नसकेको हो।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा शनिबार अध्यक्ष कमल थापाले राप्रपाको सिद्धान्त, नीति एवं भावी कार्यदिसासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। लोहनीले पार्टीको आर्थिक कार्यदिशा र उपाध्यक्ष बुद्धिमान तामाङले मस्यौदा विधान प्रस्तुत गरेका थिए।

हलोबाट राप्रपा परिचित रहेकाले यसलाई कायम गर्नुपर्ने र हिन्दुको आस्थाको प्रतीक गाई भएकाले गाई चिह्न हुनुपर्नेमा विवाद।

शनिबार साँझसम्म १२० जना प्रतिनिधिले प्रतिवेदनमाथि बोलेका थिए। हलले पार्टी विधानमा राजतन्त्रसहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र नेपाल हुनुपर्ने आवाज उठाएपछि पार्टी अध्यक्ष थापाले त्यसलाई समेट्ने आश्वासन दिएका छन्। तर, निर्वाचन आयोगले पार्टी विधान संविधानविपरीत भएको भन्दै अस्वीकार गर्न सक्ने भएकाले परामर्शपछिमात्र विधानमा उल्लेख गरिने एक नेताले बताए।

सहायक प्रवक्ता राजाराम बर्तौलाले भने राजतन्त्रसहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र नेपाल उल्लेख हुने गरी विधान तयार भएको दाबी गरेका छन्।

महाधिवेशनको बन्दसत्रले दुई केन्दीय सदस्य थप गर्दै १६३ सदस्यीय केन्द्रीय कार्यसमिति रहने गरी विधान पारित गरेको विधान मस्यौदा समितिका संयोजक एवं उपाध्यक्ष तामाङले जानकारी दिए। तामाङका अनुसार पिछडिएको जिल्लाबाट एक महिला र एक पुरुष सदस्य थप गरिएको हो। तामाङले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुने जानकारी दिए।

उनले भने, 'आइतबार उम्मेदवारी दर्ता र सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यक्रम छ।'

केन्›ीय सदस्यमध्ये ६० प्रतिशत निर्वाचनबाट चयन हुनेछ। पदाधिकारीसहित बाँकी सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ। २५ सदस्यीय कार्यसम्पादन समितिको नाम भने अध्यक्षले केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गराउनुपर्ने विधानमा व्यवस्था छ।

चुनाव चिह्नको विवाद भने अझै नटुंगिएको सहप्रवक्ता बर्तौलाले बताए। उनले भने, 'चुनाव चिह्नका विषयमा विवाद कायमै छ, अधिकांश महाधिवेशन प्रतिनिधि गाई नै राख्नुपर्छ भन्ने पक्षमा छन्।'

पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माले हलोबाटै राप्रपा परिचित रहेकाले यसलाई कायम गरेर अगाडि बढ्नुपर्ने आफूहरूको अडान रहेको बताए। उनले भने, 'राप्रपाले हलो चिह्न लिएर सातवटा चुनाव लडिसकेको छ। गाई चिह्न लिएर तीनवटा मात्र चुनाव लडेको छ। तर, स्थानीय चुनाव लडेको छैन। वडावडामा समेत हलोबाटै राप्रपा परिचित छ। जनताले हलो नै राप्रपा भनेर चिनेका छन्।' हलोकै कारण पार्टीलाई विचलित हुन दिने पक्षमा आफूहरू नरहेको उनले बताए।

थापा पक्ष भने आफूहरूले हिन्दु राज्यको माग गरेको र हिन्दुको आस्थाको प्रतीक गाई भएकाले गाई चिह्न हुनुपर्ने अडानमा छन्।

नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको पनि उनले बताए। 'माघ ४ गते शीर्ष नेताहरूबीच भएको सहमतिलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा प्रतिनिधिहरूको दबाब छ। ४३ जना केन्द्रीय पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरेका छन्,' सहप्रवक्ता बर्तौलाले भने, 'शीर्ष नेताहरूबीच विभिन्न चरणमा वार्ता चलिरहेकाले सहमतिमै नेतृत्व चुनिनेमा विश्वस्त छौं।'

प्रकाशित: ८ फाल्गुन २०७३ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App