१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोर्चुगलको च्याम्पियन बन्ने लक्षण

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको म्याच विनरका रूपमा आफूलाई पुनः प्रमाणित गरेका छन्। ठूलो खेलाडी त्यो हुन्छ, जसले दबाब खेप्न सक्छ। युरोपियन च्याम्पियनसिपका क्रममा गोल गर्न संघर्षरत रोनाल्डोमा एकखाले दबाब पनि थियो। च्याम्पियनसिपमा वेल्ससँगको सेमिफाइनलअघि गारेथ बेलसँगको तुलनाले रोनाल्डोमाथि दबाब थपिएको थियो।

टोलीलाई फाइनल पुर्‍याउनु मात्र होइन, आफैले पनि गोल गर्नुपर्ने दबाबमा रोनाल्डो थिए। टोलीका अन्य सदस्यबाट अपेक्षाअनुसार साथ नपाउँदा र आफूले गोल गर्न नसक्दा रोनाल्डोमा चिट्चिट्पन र रिस देखिन्थ्यो। रिसाएर खेल्दा उनको प्रदर्शन झन बिग्रने मात्र होइन, त्यसको अवसर पुरै टोलीमै परेको हुन्थ्यो। टोलीको नम्बर एक खेलाडी हुनुको नाताले जिम्मेवारीबाट भाग्ने अवस्था पनि थिएन, चाहेजस्तो प्रदर्शन पनि गर्न चुकिरहेका थिए। सेमिफाइनलसम्म ६ खेलमध्ये रोनाल्डोले दुई खेलमा भने आफ्नो औचित्य थप प्रमाणित गरेका छन्। वेल्ससँग खेल्दा उनले पोर्चुगलको खेल आफ्नै वरिपरि राख्न सफल भए। उनले आफूमा असाधारण क्षमता रहेको थप प्रमाणित गरेका छन्। च्याम्पियनसिपकै नम्बर एक खेलाडी हुनाका बाबजुद उनले त्यो स्तरको प्रदर्शन गर्न सकिरहेका थिएनन्। च्याम्पियनसिपकै क्रममा सञ्चारकर्मीको माइक फाल्नुले पनि उनको दबाब महसुस गर्न सकिन्थ्यो। तर, उनी एउटै खेलमा पुगेर आफूमाथिको दबाब कम गराउन र आलोचकको मुख बन्द गराउन सफल भएका छन् र उनले टोलीलाई पनि सन् २००४ पछि फाइनल पुर्‍याएका छन्। क्लबस्तरमा सबैखाले सफलता प्राप्त गरेपछि राष्ट्रिय टोलीबाट उनले उपाधि जित्न सकेको छैन। सम्भवतः उनको यो अन्तिम च्याम्पियनसिप भएकाले पनि उनमा जितको भोक देखिन्छ। हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छन्। त्यति हुँदा पनि सबै खेलमा उनले चाहेजस्तो नतिजा निस्केन। समूह चरणमा हंगेरीसँग पछि परेको खेलमा दुईपटकसम्म बराबरी गर्दै टोलीलाई छनोट गराउन सफल रोनाल्डोले यसपटक फाइनल पुर्‍याउन सबैभन्दा महŒवपूर्ण भूमिका निर्वाह गरे। खेलाडी दुवै टोलीमा हुन्छन्, तर रोनाल्डो हुनु भनेको विपक्षीमाथि थप दबाब र आफ्नो टोलीका लागि बोनस हो। ठूलो खेलाडी हुनुको महŒव उनले प्रमाणित गरे। आफू टोलीको संकटमोचक भएको सन्देश दिए। पोर्चुगलका लागि सबैभन्दा बढी खेल र गोल गर्ने इतिहास बनाइसकेका रोनाल्डोले यसपटक च्याम्पियनसिप जिताउन सके भने देशकै महान खेलाडी बन्नेछन्। रोनाल्डोलाई त्यसको हेक्का पक्कै छ।

पोर्चुगल र वेल्सबीचको सेमिफाइनलको पहिलो हाफ सोचेअनुरुप रोचक हुन सकेन। दुवै टोली दबाबमा देखिन्थे। ठूलो खेलको दबाब दुवै टोलीमा थियो। खेलमा बल पोसेसन बराबरी राखे पनि वेल्समा आरोन राम्सेको अभाव प्रस्ट झल्कियो। तर, पोर्चुगलमा सेन्टर डिफेन्डर पेपे नहुँदा खासै असर देखिएन। पछिल्ला ५ खेलको लयलाई वेल्सले निरन्तरता दिन सकेन। ठूलो खेलमा अनुभवको काम आउँछ, तर त्यो अनुभव वेल्ससँग थिएन। पोर्चुगललाई ठूलो खेल खेलको अनुभवको पनि फाइदा रह्यो। त्यति हुँदाहुँदै पनि पोर्चुगलले पनि पहिलो हाफमा जोखिम उठाउन चाहेन। दुवै टोलीले आफ्नो जोनको रक्षा गर्ने रणनीति लिए।  वेल्सबाट लगातार उच्च प्रदर्शन गरिरहेका बेलमाथि पनि दबाब थपियो। विल्डअप र आक्रमण दुवैमा आफैले बढी मिहिनेत गर्नुपर्दा त्यसको दबाब उनमा पर्‍यो। त्यसकारण पनि उनले टाढा टाढाबाटै आक्रमणको प्रयास गरेका थिए। जस्तो अघिल्ला खेलमा विल्डअप र काउन्टर एट्याकमा गएर वेल्सले खेलेको थियो, त्यो पोर्चुगलविरुद्ध पनि गर्न सकेन।

वेल्सको दाँजोमा पोर्चुगल केही हदसम्म कन्पि्कडेन्ड थियो। रोनाल्डो हुनुको टोलीमा कन्पि्कडेन्स मुख्य कारण थियो। पहिलो हाफमा तुलनात्मक रूपमा राम्रो खेले पनि वेल्समा कन्पि्कडेसन थिएन। बेललाई धेरै लोड पर्‍यो। हल रोब्सन कानु लगायतका खेलाडीबाट राम्सेले जस्तो सपोर्ट भएन।

वेल्स पहिलो हाफमा रोनाल्डोलाई रोक्न सफल भयो। दोस्रो हाफमा त्यो क्रमले निरन्तरता पाउन सकेन। रोनाल्डो पेनाल्टी एरियामा विपक्षी टोलीलाई जहिले पनि खतरा हुन्छन्। कर्नरको छोटो पासलाई राफेल गुइर्रोले क्रस गरेपछि रोनाल्डोले हेड गोल गरेका थिए। कर्नरबाट अर्का खेलाडीलाई पास दिएका कारण रोनाल्डोले स्पेन बनाउन पाए। त्यसपछि जम्प र टाइमिङको तालमेल उत्कृष्ट थियो। उनको जम्प पनि असाधारण छ। त्यस्तै क्षमताका कारण उनी अन्य खेलाडीभन्दा फरक छन्। हिजो भाग्य पनि पोर्चुगलकै साथमा थियो। तीन मिनेटमा दुई गोल भएपछि टोलीको मनोबल स्वाभाविक उच्च हुन्छ नै। रोनाल्डोले आक्रमण गरेको बल बाहिर जाने सम्भावना थियो, त्यसमा नानीले त्यो बललाई पोस्टको दिशा दिए। २–० को अग्रताले पोर्चुगलले त्यसपछि भने दबाब महसुस गर्नुपरेन। तथापि वेल्सले गोलका केही प्रयास गरे पनि सफल भएन। सेमिफाइनलजस्तो खेलमा विल्डअफ गर्न नसक्नु वेल्सको कमजोरी रह्यो। विल्डअप गर्न नसकेपछि आक्रमणमा पनि कमी हुन्छ।  बेल अलिक दबाबमा परे। मिडफिल्ड र फरवार्डमा पनि तालमेल अभाव रह्यो। रेनाटो सान्चेज र जाओ मारियोले राम्रो खेल्दा रोनाल्डो र नानीलाई पनि सहज भयो। पोर्चुगल पूरै लयमा थियो। रोनाल्डोलाई मार्क गर्न नसक्नु वेल्सको हारको अर्को कारण थियो। पहिलो हाफमा जसरी रोनाल्डोलाई रोक्ने अलग्गै रणनीति आवश्यक थियो, त्यसमा कहीँकहीँ वेल्स चुकेको थियो। त्यस बाबजुद पनि वेल्सले निराश हुनुपर्ने केही छैन। सेमिफाइनलसम्म यात्रा तय गर्दै टोलीले विश्व फुटबलमा नयाँ सम्भावना बोकेको टोलीमा आफूलाई प्रमाणित गरेको छ।

अर्कोतर्फ पोर्चुगल ठूलो सफलताको नजिक पुगेको छ। समूह चरणदेखि हरेक खेलमा संघर्ष गर्दै आएको पोर्चुगलले च्याम्पियन बन्ने सम्भावना बढाएको छ। युरोपियन च्याम्पियनसिपमा कमजोर आँकिएका टोलीले एकपटक होइन, दुईपटक उपाधि जितेर फर्केका छन्। गृहयुद्धको चपेटामा परेको युगोस्लाभियाले १९९२ को युरोपियन च्याम्पियनसिप खेल्न पाएन। त्यसको ठाउँमा डेनमार्कलाई खेलाइएको थियो। १५ दिनको तयारीमा डेनमार्क च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गयो र च्याम्पियन बनेर फर्क्याे। २००४ मा पनि अनुमान गरेभन्दा फरक पोर्चुगललाई हराएर ग्रिस च्याम्पियन बनेको थियो। यसपटक पोर्चुगलले त्यस्तै लक्षण देखाएको छ।

प्रकाशित: २४ असार २०७३ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App