१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिल्यान्डिया आठौं महादेश !

तस्बिर स्रोत :  डब्लुडब्लुडब्लु डट इलाभेनअलाइभ डट कम

काठमाडौं- भूवैज्ञानिकको माग पूरा भयो भने अब भूगोल र सामान्य ज्ञानका पुस्तकमा आठौं महादेशका रुपमा जिल्यान्डियाले प्रवेश पाउनेछ।

वैज्ञानिकले दक्षिण पश्चिम प्रशान्त महासागरभित्र अधिकांश भाग डुबेको अवस्थामा रहेको जिल्यान्डियालाई महादेशको मान्यता दिनुपर्ने माग गरेका छन्। जिल्यान्डिया नौलो ठाउँ भने होइन। यसको सबैभन्दा अग्लो पहाड पानीमाथि छ र त्यो न्युजिल्यान्ड देशका रुपमा चिनिन्छ। जिल्यान्डियामा महादेशका लागि चाहिने सबै योग्यता पुग्ने तर्क गर्दै वैज्ञानिकले यसलाई महादेशको मान्यता दिलाउन जोड दिएका छन्।

जिल्यान्डियाको ९४ प्रतिशत क्षेत्र पानीले ढाकेको छ, समुद्र सहतभन्दा बाहिर न्युजिल्यान्डको उत्तर तथा दक्षिण द्वीप र न्यु क्यालेनोडिया छन्।

अमेरिकी भौगर्भिक समाजको जर्नलमा प्रकाशित लेखमा अनुसन्धानकर्ताले जिल्यान्डियाको क्षेत्रफल ५० लाख वर्गकिलोमिटर उल्लेख गरेका छन्। यो छिमेकी महादेश अस्ट्रेलियाको दुईतिहाइ भाग बराबरको क्षेत्रफल हो।

जिल्यान्डियाको ९४ प्रतिशत क्षेत्र पानीले ढाकेको छ। समुद्र सहतभन्दा बाहिर न्युजिल्यान्डको उत्तर तथा दक्षिण द्वीप र न्यु क्यालेनोडिया छन्। तपाईंलाई लाग्न सक्छ, पानीमुनि  भएका कारण यो भूभाग महादेश हुनसक्दैन। तर, अनुसन्धानकर्ताले महादेश घोषणाका मापदण्डलाई अघि सारेका छन्, जसअनुसार नजिकको क्षेत्रभन्दा अग्लो भूभाग, फरक भौगर्भिक अवस्थिति, राम्रोसँगै परिभाषित क्षेत्र र महासागरको पिँधको नियमित सहतभन्दा मोटो भूभाग भएको क्षेत्र महादेश हुन सक्छ। यी सबै मापदण्ड जिल्यान्डियाले पूरा गर्छ।

लेखका प्रमुख लेखक न्युजिल्यान्डका भूगर्भविद् निक मोर्टिमेरले जिल्यान्डियाका विषयमा वैज्ञानिकले दुई दशकअघिदेखि अनुसन्धान गरिरहेको बताए। 'सूचीमा एउटा नाम थप्न मात्रै नभएर जिल्यान्डियालाई महादेश बनाउने कार्यको वैज्ञानिक मूल्य पनि छ,' उनले भनेका छन्।

समुद्रको सतहभन्दा माथि हुन्थ्यो भने भारतीय उपमहाद्वीप जत्रो हुने जिल्यान्डिया गोन्दवानाबाट छुट्टिएर बनेको विश्वास गरिन्छ। कुनै समयमा अस्ट्रेलियासँग जोडिएर रहेको यो क्षेत्र ६ देखि साढे ८ करोड वर्षअघि डुबेको अनुमान छ। अमेरिकी भू–भौतिकशास्त्री ब्रुस लुयेन्डिकले सन् १९९५ मा जिल्यान्डियाको नाम राखेका थिए।

प्रकाशित: ८ फाल्गुन २०७३ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App