१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सडनडेथमा पुलिसलाई सफलता

धरान- नाटकीय खेलमा विक्रम धिमालले गोल गरेपछि नेपाल पुलिस क्लबले आयोजक धरान पहेंलोलाई सडनडेथमा हराउँदै १९औं बूढासुब्बा रेडबुल गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेल सकिन एक मिनेट बाँकी भएको बेला विक्रमले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याएका थिए। सडनडेथमा पनि विक्रमले निर्णायक गोल गर्दै पुलिसलाई रोमाञ्चक सफलता दिलाए। नेपाल पुलिसले चार पटक बूढासुब्बा गोल्डकपको उपाधि जितेको छ। तर शुक्रबार धरानविरुद्धको खेलमा पुलिसले संघर्षपूर्ण जित हासिल गर्‍यो।

एन्फा टेक्निकल सेन्टर मैदानमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो। टाइब्रेकरमा पनि ५–५ को बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो। सडनडेथमा विक्रम नायक बने। सडनडेथमा धरानका मनोज राई, रोमन लिम्बु, तीर्थ बस्नेत र हेम लिम्बुले गोल गरे। पुलिसका निरकुमार राई, भोला सिलवाल, हेम तामाङ र मानबहादुर परियारले गोल गरे। दुवै टोलीबाट समान ४ खेलाडीले गोल गरेपछि धरानका विवेक राईको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले रोक्दै पुलिसको आत्मविश्वासलाई बढाएका थिए। अन्त्यतिर विक्रमले गोल गरेपछि पुलिसले जितको खुसीयाली मनाउँदा घरेलु दर्शक भने निराश बने।

त्यसअघि टाइब्रेकरमा पुलिसका अजित भण्डारी, तेज तामाङ, बुद्ध लामा, जुमानु राई र अभिषेक रिजालले गोल गरेका थिए। धरानका दोर्जे तामाङ, विनोद राई, रिवस मास्के, जोशन राई र योगेश राईले पनि गोल गरे।

शुक्रबारको खेलमा १६औं मिनेटमा योगेश राईले फ्रिकिकमा दर्शनीय गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए। पुलिसका खेलाडीले डी बक्सनजिकै तीर्थ बस्नेतलाई लडाएपछि धरानले फ्रिकिक अवसर पायो। योगेशले त्यसलाई गोलमा परिणत गरे।

जुनियर खेलाडीले भरिएको धरानले खेलको अन्त्यतिर सम्हालिन नसक्दा जितको खुसी मनाउन पाएन। खेल सकिनै लाग्दा अभिषेक रिजालको क्रसमा विक्रम धिमालले हेडमार्फत गोल गर्दै पुलिसलाई पुनरागमन गराए। अब पुलिसले सोमबार युनाइटेड सिक्किम फुटबल क्लब भारतसँग खेल्नेछ।

निर्धारित समयमा धरानले थुप्रै गोल गर्ने मौका गुमाएको थियो।  १३औं मिनेटमा तीर्थ बस्नेतको पासमा वर्तमान राईले वान भर्सेस वान बल गोल गर्न चुके। उनको प्रहार पुलिसका गोलकिपरलाई लागेर फर्किएको थियो।

पुलिसले पनि खेलमा अवसरलाई सदुपयोग गर्न सकेन। पहिलो हाफको ३७औं मिनेटमा हरि कठायतको पासमा अभिषेक रिजालको हेड प्रहारलाई धरानका गोलकिपर पूर्ण चेम्जोङले पन्च गरेर फर्काए।

सोही रिबाउन्ड बल पाएर पुनः अभिषेकले गरेको कडा प्रहारर किपर चेम्जोङले समाते। ३९औं मिनेटमा अभिषेकले डी बक्सबाट गरेको  प्रहार धरानका किपर पूर्ण चेम्जोङले फर्काइदिए।

रिबाउन्डमा जुमानु राईले डी बक्सबाटै गरेको प्रहार किपरले पुनः असफल बनाइदिए। खेलको म्यान अफ दी म्याच धरानका हेम लिम्बु घोषित भए। उनले नगद ५ हजार हात पारे। ४३औं मिनेटमा दोर्जे तामाङको पासमा तीर्थ बस्नेतको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले पन्च गरेर विफल बनाइदिए।

५४औं मिनेटमा पनि वर्तमान राईले वान भर्सेस गरेको प्रहार अकासियो। पुलिसका प्रशिक्षक कुमार कटवालले नियमविपरीत आयोजकले ४० मिनेट मात्र खेलाएकोमा असन्तुष्टि पोखे। धरानको खेलको प्रशंसा गर्दै उनले आफ्ना खेलाडीहरूले अपेक्षाअनुसार खेल्न नसकेको बताए। 'धरानले राम्रो खेल्यो, प्रतिस्पर्धात्मक खेल भयो। तर पूरा समय खेलाइएन, बराबरी भएपछि एक्स्ट्रा समय पनि खेलाइएन'–उनले भने। धरानका प्रशिक्षक सुवास केसीले आफ्ना खेलाडीहरूमा अनुभवको कमीले अन्तिम समयमा स्ट्राइकरले बल होल्ड नगर्दा हार भएको बताए। 'स्ट्राइकरले बल होल्ड गरिदिएनन्, डिफेन्स पनि चुक्यो र गोल खायौं। हारको मुख्य कारण यही भयो'–उनले भने। प्रतियोगितामा शनिबार उदयपुर गोल्डकपको विजेता रूपन्देही ११ र झापा गोल्डकपको उपविजेता काँकडभिट्टा ट्रेनिङ सेन्टरले खेल्नेछन्।

प्रकाशित: ७ फाल्गुन २०७३ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App