१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तिम चौकाको कमाल

मेलबर्न- चमरा कपुगेदेराले अन्तिम बलमा चौका हानेपछि श्रीलंकाले शुक्रबार अस्ट्रेलियाविरुद्धको पहिलो ट्वान्टी–२० क्रिकेटमा ५ विकेटको विजय हासिल गरेको छ। मेलबर्न क्रिकेट मैदानमा श्रीलंकालाई जितका लागि १ बलमा १ रनको अवश्यकता थियो। एन्ड्रयु टाएको अन्तिम बलमा कपुगेदेराले चौका प्रहार गरेपछि भ्रमणकारी टोली विजयी भएको थियो। कपुगेदेरा १० रनमा अविजित रहँदा उनलाई साथ दिएका सिकुगे प्रसन्ना ८ रनमा अविजित रहे। १७औं ओभरको समाप्तिमा श्रीलंकालाई जितका लागि १८ रनको अवश्यकता थियो। तर, १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले नतिजाका लागि अन्तिम बलसम्म कुर्नुपरेको थियो। निकै तनावमा देखिएका अस्ट्रेलियाका कप्तान एरोन फिन्चले प्रत्येक बलमा फिल्डिङ परिवर्तन गराउनुपरेको थियो। यद्यपि उनले जित भने हात पार्न सकेनन्।

श्रीलंकाका ओपनर उपल थरंगा शून्यमा पवेलियन फर्किएपछि निरोशन दिकवाला र दिलशान मुनवीराले भ्रमणकारी टोलीको इनिङ सम्हालेका थिए। दुईले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्दै भ्रमणकारी टोलीलाई जितको आधार तयार पारेका थिए। दिकवालाले २५ बलमा ४ चौका र १ छक्का हान्दै ३० रन बनाउँदा मुनवीराले २९ बलमा ६ चौकासहित ४४ रनको योगदान गरे। नवौं ओभरको पाँचौँ बलमा दिकवालालाई एडम जम्पाले माइकल क्लिङ्गरबाट क्याच गराए। लगत्तै मुनवीरालाई जम्पाले कप्तान एरोन फिन्चको हातबाट क्याच गरे।

त्यसपछि एसला गुणरत्ने र मिलिन्दा श्रीवर्द्धनेले अर्को ठूलो साझेदारी गरे। अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा पहिलो अर्धशतक पूरा गरेका गुणरत्नेले श्रीवर्द्धनेसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरे। गुणरत्नेले ३७ बलमा ७ चौकासहित ५२ रन बनाउँदा एस्टन टर्नरको बलमा टिम पाइनबाट क्याच भएका थिए। श्रीवर्द्धनेले ११ बलमा १५ रन बनाए।

अस्ट्रेलियाका जम्पा र टर्नरले २/२ विकेट लिदाँ पेट कुमिन्सले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ निम्त्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। ओपनर फिन्चले अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा डेब्यु गरेका क्लिङ्गरसँग पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे। अस्ट्रेलियाका लागि फिन्चले सबैभन्दा धेरै ४३ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। क्लिङ्गरले ३२ बलमा ४ चौकासहित ३८ रन बनाए। ट्रभिस हेडले ३१ रन बनाउँदा मोसिस हेनरिक्सले १७ रन जोडे। टर्नरले १८ रन जोडे। जेम्स फल्कनर १४ रनमा अविजित रहे।

श्रीलंकाका लसिथ मालिङ्गाले २ विकेट लिए भने भिकुम सञ्जय, लक्षण सन्दकन र गुणरत्नेको नाममा १/१ विकेट रह्यो।

प्रकाशित: ७ फाल्गुन २०७३ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App