१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मन बहलाउने ठाउँ बन्दै कमलपोखरी

भक्तपुर- तपाई सहरको धुवा, धुलो, कलह अनि ध्वनी प्रदुषणबाट आजित हुनुहुन्छ? यी सवैबाट एकछिन भए पनि मुक्ति पाएर शान्तसाथ वस्न चाहानुहुन्छ? यसो हो भने तपाईका लागि भक्तपुरको कमलविनायक पोखरी उपयुक्त गन्तव्य सावित हुनसक्छ।

सहरको घनावस्तीको छेउमा रहेको भक्तपुरको यो पोखरी हिजोआज सवैका लागि मन बहलाउने ठाउँ बन्दै आएको छ। पोखरीमा दैनिक हजारौं मानिस घुम्न आउने गरेका छन्।  विशेष गरी भक्तपुर नगरका विभिन्न टोलबाट यहाँ आउनेको संख्या अत्यधिक भेटिन्छ। यसबाहेक काठमाडौं उपत्यकाकै ठाउँठाउँबाट घुम्ने आउने पनि यहाँ भेटिन थालेका छन्।

ललितपुरको क्वन्तिबाट घुम्न आएको बताउने सुनिता महर्जजले अगाडि आइसकेका साथीहरुले राम्रो छ भनेर भनेपछि फुर्सद् मिलाएर पोखरी आएको बताइन्।  पोखरीको चारैतिर बसेर माछालाई खुवाउन मिल्ने, पोखरीको चारैतिर घुम्न मिल्ने लगायतका कारण पोखरी थप आकर्षक छ। पोखरीको चारैतिर वसेर आनन्द मान्नेहरु पनि त्यत्तिकै भेटिन्छन्।

पोखरी भक्तपुर नगरको दक्षिण पूर्वमा भक्तपुर नगरपालिकाको  कमलबिनायक ४ मा पर्छ। भक्तपुरबाट काठमाडौं आउने कमलविनायक वसपार्कसगै पोखरी जोडिएको छ। साथै भक्तपुरबाट नगरकोट जाने कमलविनायक वसपार्क पनि यो पोखरीसँग जोडिएको छ। 

पोखरी छेउमा अस्थायी टहरामा मम पसल थापेर बसेका रामलक्ष्मी लामाका अनुसार पोखरीमा विहान सवेरैदेखि रातिसम्मै पनि पर्यटकमा आउने गर्छन्। उनका अनुसार शनिबार बाहेक सार्वजनिक विदाका दिन, स्थानीय जात्रा पर्वलगायतका दिन यहाँ घुम्न आउनेहरुको भीड नै लाग्छ। साथसाथै साँझ र विहानको समयमा पनि उतिकै घुम्न आउने उनी सुनाउँछन्। सवेरै मर्निग वाकमा आउनेदेखि दिउँसो बेलुकी डेटिङमा आउने सबैको प्रियस्थल बन्ने गरेको छ पोखरी। घुम्न आउने मान्छेको संख्या बढेसँगै  पोखरीको चारैतिर अस्थायी टहरा बनाई पसल थाप्नेहरु दर्जनौ छन्।

पोखरीको मुख्य आकर्षण त्यहाँ पालिएका माछा हुन्। पोखरीमा पालिएका माछालाई भुजा, मस्यौरालगायतका खाना खुवाउनमा पर्यटकले ज्यादा सन्तुष्टि लिने गरेका छन्।  पोखरी २० रोपनी भन्दा वढी क्षेत्रफलमा फैलिएको जनाइएको छ। साथै पोखरी वरिपरिको बाटो, बगैंचा, मन्दिर, उद्यानलगायतका स्थान गरी २५ रोपनी भन्दा वढी क्षेत्रफलमा रहेको जनाइएको छ।

कमलविनायक मन्दिर सुधार समितिले पोखरीको सरसफाईलगायतका कार्य गरी सुन्दर बनाएपछि पोखरीप्रति पर्यटकको आकर्षण वढेको हो। समितिले पोखरीमा माछा पालिराखेको छ। साथै पोखरी वरिपरि चारैतिर बृक्षारोपण गरी फूलबारीको बनाएको छ। साथै यहाँ पिकनिक मनाउनेका लागि पनि स्थान उपलब्ध गराइने गरेको छ। समितिले यहाँका पाटी पौवा, मन्दिरको जिर्णाेद्धार गरेको छ भने पोखरी वरिपरिको फराकिलो बाटोलाई इटाले विछ्याएर सुन्दर पारेको छ।

क्मलविनायक मन्दिर सुधार समितिका अध्यक्ष तीर्थमान दुमरुले पोखरीलाई राम्रो पार्ने काम निरन्तर जारी रहेको बताए। २०६१ सालदेखि सक्रिय समितिलेसोलार बतीको व्यवस्था मिलाउन लागेको उनले जनाए। अहिले पनि त्यहाँ चार कुनामा चार वटा सोलार वत्ती छन्।

समितिले पोखरीको हेरचाहका लागि तीन जना कर्मचारीको समेत व्यवस्था मिलाउँदै आएको छ। पोखरीमा आउने पर्यटकले फाल्ने फोहोर टिपनटापन गर्न, बगैचा हेर्न, पोखरीमा पालिएका माछा हेरचान गर्न, शौचालयको सरसफाई र पोखरी वरिपरि रहेका विजुलीवतीलाई व्यवस्थित गर्न कर्मचारीको व्यवस्था गर्दै आएको हो।

भक्तपुर नगरमा साना ठूला गरी यस्ता ३४ वटा पोखरी रहेको तथ्यांक छ। तीमध्ये सवैभन्दा आकर्षक सिद्धपोखरी हो। तर पछिल्लो पटक कमलपोखरी पनि थप आकर्षणको केन्द्र बन्दै आएको छ।  यीबाहेक यहाँ नपुखू, भाजुपोखरीलगायतका ठूल्ठूला पोखरी पनि छन्।

प्रकाशित: २४ असार २०७३ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App