१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपीडित किसानलाई नहर मर्मतको चटारो

धादिङ– कुम्पुरका भूकम्पपीडित किसानलाई अहिले सिँचाई नहर मर्मतको चटारो चलेको छ। अघिल्लो वर्ष सिँचाई नहुँदा तरकारीजन्य उत्पादनबाट घाटा व्यहोरेका किसान यस वर्ष भने बेलैमा नहरमर्मत गरेर खेतबारीमा पानी पु¥याउने काममा व्यस्त भएका हुन्।

‘हाम्रो जिउने आधार भनेकै तरकारी खेती हो, पानी नभए सम्भावना छैन। त्यसैले घर बनाउने कामलाई नै पछि सारेर नहर मर्मत गरिरहेका छौं,’ कुम्पुर ३ फिसफिसेटारका ओम थपलियाले भने। फागुन महिनाको दोश्रो साताबाट भेडी लगाउने सिजन सुरु हुने भएकोले किसानहरुलाई त्यसभन्दा पहिले नै नहर मर्मतको काम सक्न हतारिएका हुन्।

जिल्लाको कुम्पुर– २ देखि वडा नं. ३ का करिब पाँच सय किसानले प्रयोग गर्ने परेवाटार सिँचाई आयोजनाको नहर मर्मतमा स्थानीयहरु जोडतोडका साथ लागि परेका छन्। पोहोरको साल प्रशस्त पानी लगाउन नपाउँदा तरकारी खेती आधा घट्यो। कुम्पुर ३ हटियाका पूर्णलाल श्रेष्ठले भने–‘बेलैमा नहरमा पानी चलाउन सकिएन भने यस पटक पनि तरकारी लगाउँनै पाइँदैन, त्यसैले घर बनाउने काम छोडेर पहिले नहर बनाउने काममा लागेका हौं।’

भूकम्पपछि पहिरोले ठाउँठाउँमा विगारेको सिँचाई नगरमा अहिले स्थानीयहरुले बाल लगाउने, स्ल्याव राख्ने, पुरिएको ठाउँ पन्छाउनेलगायतका काम गरिरहेका छन्। यो नहर १५ किलोमिटर लामो रहेको परेवाटार जलउपभोक्ता सँस्थाका सचिव टीका थपलियाले बताए। नहरमर्मतको अक्फाम र प्रयास नेपालले पनि सहयोग गरेको छ।

वर्षात्को समयमा माथिल्लो भागबाट बगेर आउने बालुवा तथा माटोले पुरिएर नहरमा पर्याप्त पानी नबग्ने र ठाउँ ठाउँमा पहिरोले पुरिएकाले स्थानीयकै माग अनुसार नहर मर्मत गरिएको प्रयास नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत सुदीप खनालले बताए। मर्मतका लागि काम गर्ने स्थानीयलाई दैनिक ज्यालास्वरुप रकम उपलब्ध गराउने पनि खनालले जानकारी दिए।

नहरबाट कुम्पुर– २ र ३ का टकटके फाँट, स्याँखुटार, मावीफाँट, फिसफिसेटा, माझीटारलगायत एक दर्जन भन्दा बढि ठूला फाँटहरुका २ सय ४५ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने परेवाटर जलउपभोक्ता सस्थाका अध्यक्ष केशव थपलियाले बताए । ती फाँटहरुबाट करिब पाँच सय घरपरिवारका ३ हजार मानिसले जिविको चलाउने गरेको पनि उनले जानकारी दिए ।

भूकम्प अघि वर्षमा तीन सिजन तरकारी र एक सिजन धान उत्पादन गर्दै आएका किसानले भुकम्पका कारण नहर ठाउँठाउँमा विग्रिएपछि मुस्किलले एक सिजन तरकारी र धान खेती गर्न बाध्य थिए । २०५० सालमा स्थानीयहरुले नै जनश्रमदानबाट नहर निर्माण गरेका थिए । नहर निर्माण गरेदेखि त्यस क्षेत्रबाट वार्षिक २ करोड बराबरको तरकारी विक्रि गर्ने गरेको भएपनि अहिले घटेको किसानहरुले बताएका छन् । ‘पहिले सबैको जोड्दा २ करोड बराबरीको तरकारी विक्रि हुन्थ्यो यस वर्ष आधा घट्यो ।’ हटियाका अमर श्रेष्ठले भने ‘ नहर मर्मत भयो अब चाही पहिले जति नै तरकारी बेच्न पाइएला भन्ने आशा छ ।’

नहर मर्मतसंगै स्थानीयहरु खुसी भएका छन् । ‘श्रमदान जुटाएर भएपनि मर्मत नगरी नहुने अवस्थामा पुगेको थियो, हामीले ठुलो अवसर पाएका छौं’ कुम्पुर ३ का ओमप्रसाद थपलियाले भने । काम पनि हुने दाम पनि आउनी भएपछि हामी सबै मिलेर काम गरिरहेका छौं ।’

भूकम्पपछि विग्रिएको नहर मर्मतमा जुट्दै धादिङ कुम्पुर–३ का स्थानीय। तस्बिरः शंकर श्रेष्ठ

 

प्रकाशित: ५ फाल्गुन २०७३ १४:११ बिहीबार

भूकम्पपीडित किसानलाई नहर मर्मतको चटारो