१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक खन्नै मात्र हतार !

काठमाडौं- मंसिर अन्तिम साता चाबहिल–चुच्चेपाटीको मूल सडक रातरात भत्काइयो। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउन खनेको यो सडक अहिलेसम्म मर्मत भएको छैन। सडक मर्मत नहुँदा पैदलयात्री धुलाम्मे हुने गरेका छन्। अर्कोतिर सवारी जाम थपिएको छ। यस्तो समस्या चाबहिलमा मात्र होइन खानेपानी पाइप बिच्छ्याउन निर्देशनालयले खनेका सबै सडकमा देखिन्छ।

निर्देशनालयले उपत्यकामा मेलम्चीको पानी थोक वितरणका लागि ६० किलोमिटर मूल सडकमा काम गर्दैछ। असोजदेखि पाइप बिच्छ्याउन थालेको निर्देशनालयले ४० किलोमिटर सडकमा काम सकेको छ। त्यसैगरी वितरण सञ्जालका लागि ६ सय ७० किलोमिटरमध्ये पाँच सय ६८ किलोमिटर भित्री सडकमा पाइप बिच्छ्याउने काम सकिएको निर्देशनालयले जनाएको छ।

काम सम्पन्न यी सडकमा धुलोले बटुवा र आसपासका बासिन्दालाई ठूलो सास्ती दिएको छ। सोमबार नागरिक टोली चाबहिलस्थित नेपाल टेलिकम अगाडि रोकिँदा त्यहाँ धुलो उडेर अन्धकारजस्तो देखिएको थियो। बटुवाका आँखीभुइँदेखि कपाल कतै कालो देखिँदैनथ्यो। घरका भित्ता धुस्रा र फुस्रा देखिन्थे। धुलोले मुख छोपेको मास्कको समेत रङ फेरिएको थियो। गाडीको चाप हुने उक्त सडकमा कुइरीमण्डल धुलो थियो। ‘पसलभित्र धुलैधुलो हुन्छ,’ चाबहिलमा इलोक्ट्रोनिक्स पसल चलाउँदै आएका नव थापाले भने, ‘सामान त बिग्रियो नै मेलम्चीको पानी खान नपाई धुलोले ज्यानै बिग्रने हो कि भनेर चिन्ता पो लाग्न थाल्यो।’ थापा पसलमा बस्दा पनि मास्क लगाउँछन्।

सडकको यस्तो दुर्गति हुनुमा निर्देशनालयकै कमजोरी देखिन्छ। निर्देशनालयले भत्काउन हतार गर्ने तर बनाउनचाहिँ खास चासो नदिनाले उपत्यकावासीले महिनौंदेखि धुलोको सास्ती खेपिरहेका छन्। निर्देशनालयले भत्काउन सुरु गर्दा भित्री सडक तत्काल मर्मत गर्न सम्भव नभए पनि मूल सडक भने पाइप बिच्छ्याएको तीन दिनभित्र ग्राभेल, सात दिनभित्र अस्थायी कालोपत्रे गरेर धुलो कम गर्ने जनाएको थियो।

निर्देशनालयका प्रमुख तिरेसकुमार खत्रीले पुस दोस्रो साता पुरानो बानेश्वर–गौशाला–चाबहिल–चुच्चेपाटी सडक तीन दिनभित्र कालोपत्रे गर्ने प्रतिबद्धता नागरिकसँग गरेका थिए। पाइप बिच्छ्याएका अरू सडक पनि उसैगरी कालोपत्रे गर्ने खत्रीको योजना थियो। डेढ महिना बित्दा उक्त सडक खण्डमा गौशालाचोकदेखि द्वारिका होटलसम्म करिब तीन सय किलोमिटर सडक कालोपत्रे भएको छ। बाँकी सडकको अवस्था उस्तै छ।

४० किलोमिटर सडकमा पाइप बिच्छ्याउने काम सक्दा निर्देशनालयले पाँच किलोमिटर सडक खण्डमा मात्रै अस्थायी कालोपत्रे गर्न सकेको छ। निर्देशनालय भत्काउन हतारिएको देखिन्छ तर बनाउन भने चासो देखाउँदैन भन्ने पुष्टि हुन्छ।

निर्देशनालय पनि सडक मर्मत भइरहेको बहाना देखाएर उम्कँदै आएको छ। पाइप बिच्छ्याइसकेमा कहिले कालोपत्रे हुन्छ भन्ने नागरिकको जिज्ञासामा निर्देशनालयका एक अधिकारीले यसै साताभित्र हुन्छ भन्ने जबाफ दिए। ‘चाबहिल–गौशाला, चाबहिल–गोपीकृष्ण, माइतीघर–बुद्धनगर, केशरमहल–जमलको मूल सडकमा पाइप बिच्छ्याइसकेका छौं,’ निर्देशनालयका उपनिर्देशक हिमेश वैद्यले भने, ‘यी सडक खण्डमा तीनचार दिनभित्र अस्थायी मर्मत गछर्ौंं।’ यसअघि पनि निर्देशनालयले तीनचार दिनभित्रै कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको थियो।

वैद्यले काम भइरहेका अरू सडक खण्डमा पनि काम सक्नेबित्तिकै कालोपत्रे गरिने बताए। यसअघि मौसमका कारण कालोपत्रे हुन नसकेको दाबी वैद्यको छ। ‘असोजपछि पाइप बिच्छ्याउने काम तीव्र भयो,’ उनले भने, ‘पाइप बिच्छ्याएका ठाउँमा कालोपत्रे गर्न खोज्दाखोज्दै पनि प्राविधिक कारणले सकिएन। अब कालोपत्रे गर्ने कामले तीव्र गति लिन्छ।’ अर्को सातासम्म अधिकांश सडक कालोपत्रे भइसक्ने दाबी निर्देशनालयका कर्मचारीले गरेका छन्।

खानेपानी तथा सरसफाइ मन्त्रालयले उपत्यकाको धुलो कम गर्न पानी छर्किने र ब्रुमर चलाउने काम भइरहेको जनाएको छ। ‘भत्काइएको सडकमा बिहानै पानी छर्किन्छौं, बेलुकापख बु्रमर चलाउँछौं,’ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले भने, ‘सडकमा गाडीको चाप अत्यधिक भएकाले धुलो कम हुन सकेको छैन।’ उपाध्यायले पनि धुलो कम गर्न सडकको अस्थायी मर्मत कार्य तीव्र रूपमा भइरहेको दाबी गरे। उनले भनेजसरी कामचाहिँ भएको छैन। उनले कालोपत्रे गर्दा प्राविधिक तयार गर्नुपर्ने भएकाले थोरै ठाउँमा प्राविधिक तयारी झन्झटिलो हुने बताउँदै कालोपत्रेमा ढिलाइ भएको बताए। ‘दुईतीन सय मिटर खन्दै कालोपत्रे गरिहाल्न समस्या हुने रहेछ,’ उपाध्यायले भने, ‘अब भने कालोपत्रे गर्नपर्ने ठाउँ धेरै भइसकेको छ। अब धमधम कालोपत्रे हुनेछ।’ सचिव उपाध्यायले अहिले अस्थायी मर्मत गरेर वैशाखदेखि स्थायी कालोपत्रे गरिने जानकारी दिए। वैशाखभित्र सडक पूर्ण कालोपत्रे भइसक्ने उपाध्यायको दाबी छ।

कहाँकहाँ भयो अस्थायी कालोपत्रे

गौशलाचोकदेखि द्वारिका होटलसम्म

एअरपोट गेटदेखि सिनामंगल

नयाँ बानेश्वरचोकदेखि बुद्धनगरको अल्फाबिटा भवनसम्म

मीनभवन बागमती पुलदेखि सिभिल अस्पतालसम्म

 

खनिसकेर कालोपत्र नभएका सडक खण्ड

गौशलादेखि मित्रपार्कसम्म

चाबहिलदेखि चुच्चेपाटीसम्म

चाबहिलदेखि गोपीकृष्णसम्म

बुद्धनगरदेखि माइतीघरसम्म

जमलदेखि रत्नपार्कसम्म

द्वारिका होटलदेखि पुरानोबानेश्वर चोकसम्म

केशरमहलदेखि जमलचोकसम्म

चक्रपथ–पानीपोखरी–लैनचौर

 

खन्न बाँकी सडक

माइतीघर–थापाथली–कोपुण्डोल

सुन्धारा–त्रिपुरेश्वर

पुरानोबानेश्वर–नयाँबानेश्वर

प्रकाशित: ५ फाल्गुन २०७३ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App