१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उपाधि लक्ष्यमा मनाङको यात्रा

काठमाडौं- घरेलु फुटबलका पछिल्लो एक महिनामा तीन उपाधि जितेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सफलताको शृंखलालाई अझै माथिल्लो उचाइ दिने लक्ष्यसहित बुधबार बंगलादेश जाने भएको छ। शनिबार सुरु भएर मार्च १२ सम्म बंगलादेशको चित्तागोङमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली फुटबलको महारथी त्यसतर्फ जान लागेको हो। प्रतियोगिताको समूह 'बी' मा मनाङले बंगलादेशका चित्तागोङ अबाहनी लिमिटेड, ढाका मोहमडन स्पोर्टिङ क्लब लिमिटेड र अफगानिस्तानको शाहिन ए स्मायी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

'पछिल्लो एक महिनामा मोफसलका तीन महत्वपूर्ण उपाधि जितेर हामीले आफूलाई प्रमाणित गरिसकेका छौं। अब सफलताको यात्रालाई हामी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन चाहन्छौं,' मंगलबार आयोजित टिम बिदाइ कार्यक्रममा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने, 'अहिले रोहित चन्द, विक्रम लामा र देवेन्द्र तामाङजस्ता स्टार राष्ट्रिय खेलाडीको आगमनले मनाङ विगतभन्दा पनि बलियो भएको छ। हामी सम्पूर्ण नेपाली फुटबलप्रेमीहरूको आशीर्वाद प्राप्त गर्दै बंगलादेशमा च्याम्पियन हुने विश्वासमा छौं।'

नेपाली राष्ट्रिय टोलीका आठ खेलाडी रहेको मनाङमा रोहित यसै वर्षदेखि फर्किएका छन् भने बंगलादेशको प्रतियोगिताका लागि रुस्लान थ्री स्टार क्लबबाट विक्रम र देवेन्द्र पनि आबद्ध भएका छन्।

लोप्साङले सबै विपक्षीहरु दक्षिण एसियाकै टोली भएकाले उस्तै स्तरका हुने बताए। 'सबै टिम १९/२० का छन्। खेलको दिन जसले अवसरको उपयोग गर्न सक्यो, त्यसैले जित्छ,' टोलीलाई पछिल्लो एक महिनामा धनगढीमा सम्पन्न खप्तड गोल्डकप, पोखराको आहा–रारा गोल्डकप र झापा गोल्डकपको उपाधि जिताएका लोप्साङले थपे।

चित्तागोङको एमए अजिज रंगशालामा हुने प्रतियोगिताको तयारीका लागि गत साता सम्पन्न सिमरा गोल्डकपमा सहभागिता नजनाएको लोप्साङले जानकारी गराए। 'थुप्रै प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडीहरू थकित थिए। टिममा देखिएका केही कमजोरी पनि सुधार गर्नु थियो। त्यसैले हामीले पछिल्लो एक साता आराम र बंगलादेशको प्रतियोगितालाई तयारीका लागि छुट्टायौं,' मोफसलमा ६ प्रतियोगिता खेलेर तीन उपाधि जित्दा पनि टोलीमा तालमेलको समस्या देखिएको बताउँदै उनले भने, 'अहिले त्यसमा धेरै सुधार भएको छ। बाँकी बंगलादेशमा प्रमाणित गर्नुपर्छ।'

अध्यक्ष मुखिया गुरुङको नेतृत्वमा बंगलादेश जाने २३ खेलाडीसहितको ३१ सदस्यीय टोलीलाई मंगलबार मनाङका संस्थापक अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घले र एन्फाका कार्यवाहक महासचिव सञ्जीव मिश्रले बिदाइ गरे।

बिदाइको अवसरमा टोलीका कप्तान अनिल गुरुङले आफूहरु बंगलादेशको प्रतियोगिताका लागि पूर्ण रूपमा तयार रहेको बताए। 'हाम्रो टोलीमा राष्ट्रिय खेलाडीहरूको बाहुल्य छ। अन्तर्राष्ट्रिय फुटबलमा नेपाललाई सफलता दिलाउने खेलाडीहरूकै बाहुल्य रहेकाले मनाङले बंगलादेशमा पनि सफल नतिजा ल्याउने छ,' नेपाली राष्ट्रिय टोलीको समेत कप्तान रहेका अनिलले नागरिकसँग भने, 'बंगलादेशमा मनाङ मर्स्याङ्दी क्लबको जर्सीमा उत्रिने भए पनि हामीले त्यहाँ सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्नेछौं। नेपाली समर्थकको अपेक्षामा खरो उत्रिनु हाम्रो पहिलो प्राथमिकता हुनेछ। लामो समयदेखि सँगै खेलिरहेका छौं, त्यसैले संयोजनमा खास समस्या हुँदैन।'

बिदाइका अवसरमा मनाङका संस्थापक अध्यक्ष घलेले टोलीमा शेख कमल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जित्ने क्षमता रहेको विश्वास व्यक्त गर्दै सफलताको शुुभकामना दिए। यसै गरी एन्फाका कार्यवाहक महासचिव मिश्रले मनाङ नेपाली फुटबलको सबभन्दा सफल क्लब भएको बताउँदै उपाधि जित्ने शुभकामना व्यक्त गरे।

'घरेलु खेल घरमै हुनुपर्छ'

यसैबीच एन्फाका मानार्थ अध्यक्ष एवं मनाङका संस्थापक घलेले एएफसी एसियन कपको तेस्रो चरण छनोटअन्तर्गत होम खेलका लागि नेपालमै खेल्ने वातावरण बनाउन आफूहरू लागिपरेको बताए। मनाङको टोलीलाई बिदाइ गर्ने क्रममा घलेले भने, 'तपाईहरुले एएफसी सोलिडारिटी कप जितेका कारण एसियाली फुटबल महासंघले ग्वामको ठाउँमा नेपाललाई एसियन कपको छनोट खेल्ने ठूलो मौका दिएको हो। यसको होम खेल हामीले घरेलु मैदानमै खेल्न पाउनुपर्छ भनेर हामी लागिरहेका छौं। भुइँचालो र संविधानको विवादले गर्दा खेलकुद अहिले प्राथमिकतामा परेको छैन, हामीसँग एउटा पनि राम्रो रंगशाला छैन। तर समयमै बनाउनका लागि हामी पहल गर्नेछौं।'

घले नेपालले २०१९ को मार्चमा गर्ने भनेको १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीअन्तर्गत भौतिक पूर्वाधार निर्माण समितिको संयोजक पनि हुन्। 'हामी एन्फा, क्लबहरू र सबै फुटबलप्रेमी तत्काल प्रधानमन्त्रीकहाँ डेलिगेसन गएर रंगशाला निर्माणको माग राख्नेछौं,' घलेले भने, 'तपाईहरुले होम खेल घरमै खेल्न पाउनुपर्छ। भ्याएसम्म दशरथ रंगशाला तयार गर्ने लक्ष्य हो। तर त्यो भएन भने पनि हामीसँग मोफसलमा केही विकल्प छन्।'

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App