१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोर्चा नमाने पनि जेठमा चुनाव

काठमाडौं- प्रमुख दलका शीर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन्। सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक/दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन्।

प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ। मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई बोलाई निर्वाचनबारे छलफल गरेकी थिइन्। निर्वाचन मिति घोषणा गर्न ढिलो भएको बारे राष्ट्रपतिले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीलाई गम्भीर सचेत गराएको स्रोतको भनाइ छ। राष्ट्रपतिले प्रधानमन्त्रीसँग निर्वाचन मिति घोषणा गर्न किन ढिलो भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेकी थिइन्। प्रधानमन्त्रीले भने मधेसी मोर्चाले नमानेका कारण चुनाव मिति घोषणा गर्न ढिलो भएको भन्दै एकपटक मधेसी मोर्चासँग अन्तिम कुराकानी गर्ने बताएका थिए।

भेटमा एमाले अध्यक्ष ओलीले भने चुनाव मिति घोषण गर्न सरकारले आलटाल गरिरहेको भन्दै एमाले अविलम्ब चुनावको पक्षमा रहेको बताएका थिए। राष्ट्रपतिले सोमबार मात्र प्रमुख सात दलका शीर्ष नेतालाई बोलाएर चुनावबारे छलफल गरेकी थिइन्। जेठभित्र  स्थानीय निर्वाचन गर्न उनले सात दलका नेतालाई आग्रह गरेकी थिइन्।

सोमबार बैठकमा राष्ट्रपतिसँग दोहारो संवाद भएकेा थिएन तर मंगलबार बिहान भएको छलफलमा राष्ट्रपतिसँग दोहारो छलफल भएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री निकटस्रोतका अनुसार आगामी जेठमा स्थानीय चुनाव नभए संविधान कार्यान्वयन संकटमा पर्ने भन्दै चुनाव गर्न प्रमुख दललाई राष्ट्रपतिले गम्भीर हुन सचेत गराएकी थिइन्।

एमाले नेता प्रदीप ज्ञवालीले मंगलबार बिहान संयोगले राष्ट्रपति र एमाले अध्यक्षबीच भेट भएको बताए। 'प्रधानमन्त्रीज्यू राष्ट्रपतिलाई भेट्न राष्ट्रपति निवास पुग्नुभएको रहेछ। त्यहीँबाट प्रधानमन्त्रीज्यूले एमाले अध्यक्षलाई टेलिफोन गरी बोलाउनुभयो', ज्ञवालीले भने, 'प्रधानमन्त्रीले  बोलाएपछि अध्यक्षज्यू राष्ट्रपति निवास पुग्नुभयो।'

राष्ट्रपतिसँगको भेटमा समसामयिक विषयबारे छलफल भएको पनि ज्ञवालीले बताए।

राष्ट्रपतिसँग भेट गरेपछि मंगलबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छुट्टै कुराकानी भएको थियो। त्यसपछि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र एमाले अध्यक्षबीच कुराकानी भएको थियो। छलफलपछि सकेसम्म मधेसी मोर्चालाई मनाएर मिति घोषणा गर्ने, मोर्चा नमाने पनि चुनावमा जाने निष्कर्षमा पुगेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले चुनावमा मनाउन मधेसी मोर्चासँग सरकारले अन्तिम प्रयास गर्ने भन्दै त्यसपछि पनि मोर्चाले नमाने चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए।

'सरकारले एकपटक मधेसी मोर्चासँग अन्तिम प्रयास गर्छ। तैपनि नमाने चुनावको मिति घोषणा गर्छ', खनालले भने।

प्रकाशित: ४ फाल्गुन २०७३ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App