१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कुचो बोकेर मन्त्री सडकमा निस्किएपछि...

नेपालगन्ज– मुखमा मास्क र हातमा ग्लप्स लगाएर कुचो सहित स्थानीय विकास मन्त्री हितराज पाण्डे शनिबार बिहान पुष्पलाल चोकमा झुल्किए। त्यसपछि उनले सडकमा रहेको फोहोर धमाधम उठाउन थाले। मन्त्रीले फोहोर उठाउन थालेपछि उपस्थित सरकारी कार्यालय प्रमुख, कर्मचारी, व्यापारी, राजनीतिककर्मी तथा सर्वसाधारणले पनि सँगसँगै फोहोर उठाउन थाले।

लामो समयदेखि सरसफाई अभियान थाले पनि व्यवस्थापनमा चुनौती देखा परिरहेको अवस्थामा सरसफाई अभियानमा स्थानीय विकास मन्त्री पाण्डेले पनि सहभागीता जनाएर नेपालगन्जबासीलाई सचेत गराएका हुन्। नगरबासीमाझ जनचेतना फैलाउन हरेक हप्ताको शनिबार उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गर्दै आएको छ। तर, पनि सडकमै फोहोर फ्याक्ने प्रवृत्ति रोकिएको छैन।

स्थानीय पुष्पलाल चोकबाट सुरु भएको सरसफाई अभियान कारकाँदोसम्म पुगेको थियो। सो क्रममा मन्त्री पाण्डेले करिव आधा घण्टासम्म स्थानीय बासिन्दासँगै मिलेर सरसफाई गरेका थिए। मन्त्री नै सरसफाईको काममा जुटेपछि सडक वरपरका स्थानीय बासिन्दा दंग परे। ‘हाम्रो घर अगाडि फालेको फोहोर मन्त्रीले उठाइदिदाँ लाज लाग्यो,’ पुष्पलाल चोकका एक स्थानीयले भने, ‘बास्तवमा फोहोर भन्ने चिजको व्यवस्थापन आफै गर्नुपर्दो रहेछ ।’

सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरसफाईको काम निकै चुनौतीपूर्ण रहेको बताए। सर्वसाधारणलाई चेतना दिएमा मात्र सरसफाई गर्न सकिने उनको जोड छ । आफू नेपालगन्ज आउने वित्तिकै साप्ताहिक सरसफाई कार्यक्रमसम्बन्धी जानकारी पाएको र सरसफाइमा सहभागी हुने अवसर पाएको मन्त्री पाण्डेले प्रष्ट्याए। ‘यसले सांकेतिक रुपमा भएपनि महत्वपुर्ण सन्देश दिन सक्छ,’ उनले भने, ‘तपाईहरु निरन्तर रुपले सरसफाई अभियानमा लाग्नुहोला मेरो शुभकामना छ।’

सरसफाइको विषयलाई सरकारले पनि आफ्नो प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री पाण्डेले थपे, ‘हाम्रो मन्त्रालयले प्रत्येक नगरपालिकालाई सरसफाइसम्बन्धी गतिविधि अगाधि बढाउन निर्देशन दिइसकेको छ र सडकमा गुड्ने सवारी साधनलाई पुष १ गतेदेखि अनिवार्य डस्टबिन राख्न भनिसकेका छौं।’ सुरुमा जनचेतनासँगै नियम पालना गर्न लगाउने र त्यसको पालना नगर्नेलाई कारबाही गर्ने सम्मको कानुन बनाउने सरकारको तयारी रहेको उनले बताए।

सो अवसरमा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आफ्नो घर अगाडीको क्षेत्र सफाई गर्ने जिम्मा नगरबासीको भएको बताए । ‘नगरबासीले आफ्नो घर अगाडीको क्षेत्र आफै सफा गर्नुपर्छ, बाहिरको मान्छे आएर सफाई गरिदिने होईन,’ बैश्यले भने । उपमहानगरपालिका कार्यालयमा सरसफाई सम्बन्धी जनशक्ती र साधन स्रोत पनि बढाउन मन्त्रालयले पहल गर्नुपर्ने उनको सुझाव छ । नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञवालीले सरसफाईको कामलाई आफुहरुले निकै प्राथमिकताका साथ अगाडी बढाइरहेको बताए ।

 

प्रकाशित: २९ माघ २०७३ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App