१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धेरै बाँचेको सम्मान र खुसियाली

किशोर बाँसुरी बजाउँदै। युवा धिमेको तालमा नाच्दै। हाकुपटासीमा सजिएका महिला धानको लावा छर्दै। वृद्धवृद्धा भजन गाउँदै। मध्यपुर नगरपालिका थिमीको चपाचो टोल यो साता उत्सवमय बन्यो। सोमबार आयोजित कान्छा गोङ प्रजापति र उनकी पत्नी चुरीनानीको जंको (भीमरथारोहण) नियाल्दा वृद्ध समुदायलाई परिवारले मात्र होइन, सिंगो समाजले सम्मान गरेको महसुस भयो। प्रजापति ७७ वर्ष सात महिना, सात दिन पूरा भएको उत्सवमा केटाकेटीदेखि वृद्धवृद्धासम्म रमाए। खटमा बसेका प्रजापति दम्पतीलाई साना नानीले डोर्‍याउँदा संस्कृति पुस्तौँदेखि सर्दै आएको महसुस हुन्थ्यो।

कान्छा ७७ वर्ष सात महिना, सात दिन पूरा भएको उपलक्ष्यमा परिवार र समाजले जंको मनायो। उनी चढेको रथ नातिनातिनाले ताने र मठ–मन्दिर घुमाए।

नेवारी पहिरनमा सजिएका प्रजापति दम्पतीलाई विभिन्न मठमन्दिर हुँदै बालकुमारी मन्दिर परिक्रमा गराइयो। यात्रामा सहभागी जमातसँगै चोकचोकमा जम्मा भएका सर्वसाधारणले उनीहरुलाई दीर्घ जीवनको आशीष दिए।

जंको गर्ने व्यक्ति पुरुष भए उनकी पत्नीको पनि त्यसैमा स्वतः जंको हुने नियमअनुसार उनकी धर्मपत्नी पनि यो उत्सवमा सहभागी भइन्। चुरीनानी अहिले ७६ लागिन्।

जंको सकेर घरमा आराम गर्दै गरेका कान्छाले अब गृहस्थीको जिम्मा छोरानातिले हेर्ने सुनाए। माटाका भाँडा बनाउँदै आएका प्रजापति समुदायका कान्छाले अब चक्र चलाउने पालो नयाँ पिँढीको भएको सुनाए। 'हामीले आफ्नो बेला खुबै मेहनत गर्‍यौँ,' उनले भने, 'अब आराम गर्ने बेला आएको छ।'

खटमा बसेर मन्दिर परिक्रमा गरेको क्षण जीवनकै सबैभन्दा सुखद रहेको उनले सुनाए। 'नातिहरूलाई औँला समाएर डोर्‍याएको हिजोजस्तो लाग्थ्यो,' उनले भने, 'आज तिनै नातिले रथको डोरी तान्दै मलाई मठमन्दिर घुमाए।'

सोमबार बिहान घरबाट निकालिएको उनीहरूको यात्रा दिनभर विभिन्न मठमन्दिर हुँदै साँझ घर फर्कियो। घरमा विभिन्न भोजको आयोजना समेत गरियो। जसमा जंको गरेका ९० वृद्धवृद्धालाई भोजन समेत गराइयो।

'यो कार्यक्रमसँगै बालाई देउताजस्तै सम्मान दिइन्छ,' जेठा छोरो कृष्णकाजीले भने, 'अब उहाँ भगवान्जस्तै।' रथारोहणसँगै बाआमा निकै रमाएको उनले सुनाए।

यसै साता यही टोलमा आशाकाजीको समेत जंको गरियो। 'साताभर यो ठाउँ उत्सवमय बन्यो,' स्थानीय राम प्रजापतिले भने, 'वृद्धवृद्धाको सम्मानमा सिंगो सहरले उत्सव मनायो।' जंको यात्रा सकाएपछि साँझ सहभागी सबैले आशीष लिने चलन रहेको उनले सुनाए। प्रजापति समुदायमा जंको गरेका वृद्धको गुठी समेत छ। त्यसमा उनीसमेत ९० व्यक्ति सामेल भइसके। कान्छाको जंकोमा ती सबैलाई बोलाएर भोज खुवाइएको थियो। 'वृद्धवृद्धालाई सम्मान गर्ने यो प्रचलन निकै राम्रो छ,' प्रजापति थप्छन्, 'उहाँहरू सबै खुसी हुनुभएको छ।'

जंकोमा सहभागी ८७ वर्षीय श्रीगोपाल प्रजापतिले यो वृद्धवृद्धाप्रति परिवार र समाजको सम्मान रहेको सुनाए। ७७ वर्षको उमेरमा पहिलो जंको गरेका उनले तीन वर्षअघि दोस्रो जंकोसमेत गरेका छन्। तीन छोरा, तीन छोरीका पिता श्रीगोपालले नातिनातिना सबै मिलाएर ८७ जनाको परिवार भइसकेको सुनाए। 'उमेरभन्दा धेरै परिवार भइसकेको छ,' उनले भने, 'रमाइलो लागेको छ।' बुढेसकालमा आफन्तबाट सम्मान पाउँदा उनी खुसी छन्। 'हामीले परिवार र समाजका लागि सकेको गर्‍यौँ,' उनले भने, 'अहिले परिवार र समाजले हामीलाई सम्मान दिएको छ।'

संस्कृतिविद् ओम धौभडेल जंको ज्येष्ठ नागरिकलाई  सम्मान सिकाउने संस्कृति भएको बताए। 'ज्येष्ठ नागरिकलाई देवतासरह सम्मान दिनुपर्छ भन्ने जंकोको सन्देश हो,' उनले भने, 'यसले परिवारमा खुसियाली ल्याउँछ।'

जंकोको रथ परिवार र आफन्तले तान्छन्। यसले वृद्धवृद्धाको जीवनयात्रामा परिवार र समाजको सहयोग आवश्यक छ भन्ने देखाइएको धौभडेल बताउँछन्।

प्रकाशित: २९ माघ २०७३ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App