१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ठूल्ठुला भाषण, तर काम शून्य

काठमाडौं- दक्षिण एसियाली ओलम्पिक काउन्सिलको वैठक सकिएलगत्तै मध्य मंसिरमा ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा ठूलो महत्व बोकेको एउटा घोषणा गरे, 'नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मार्च ९ देखी १७ सम्म काठमाडौंमा आयोजना गर्नेछ।'

क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो महोत्सवको मिति घोषणा गर्ने क्रममा श्रेष्ठ भन्दै थिए, ‘भुकम्पका कारण हाम्रा भौतिक संरचनामा क्षति पुगेको छ। आजैका मितीबाट तदरुकताका साथ काम थाल्ने हो भने समयमै प्रतियोगिता गर्न सक्षम हुनेछौं।’

सरकार, एनओसी, राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायतका सम्ब्द्ध निकाय अझै पनि समयमै साग गर्ने सुगा रटानबाट पछि हटेका छैनन्। न त तयारीमा कुनै काम नै गरेका छन्। पूर्वाधार निर्माण गर्नुपर्ने सरकारी निकाय लोकप्रिय राजनीतिक भाषणमा रमाएर आ–आफ्नै स्वार्थको डम्फु बजाइरहँदा सम्बन्धित राष्ट्रिय संघहरु भने खेल गर्न नपाएर छटपटाइरहेका छन्।

श्रेष्ठले 'निर्धारित मिति' लाई जोड दिए पनि उनको घोषणा नै सरकार तथा एनओसीको बाचाभन्दा एक वर्ष ढिलो भइसकेको थियो। श्रेष्ठ र तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले २०१८ फेब्रुअरीमा १३औं साग आयोजना गर्ने भन्दै गतवर्ष भारतको गुवाहटीमा झण्डा लिएका थिए।

वित्थामा एक वर्ष ढिला गरि मिति तोक्दा पनि तयारीका लागि नेपालसँग २ वर्ष ३ महिना मात्र समय बाँकी थियो। अव त्यो समय घटेर दुई वर्षमा झरिसकेको छ, तयारीमा माखो नमारिकन। दुई वर्षमा नेपालले साग गर्न पुग्ने भैतिक संरचना खडा गर्न सक्ला त? श्रेष्ठकै 'आजैबाट सुरु गरे सकिन्छ' भन्ने भनाई मान्ने हो भने पनि अव तोकिएको समयमा साग सम्भव छैन। तर सरकार, एनओसी, राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायतका सम्ब्द्ध निकाय अझै पनि समयमै साग गर्ने सुगा रटानबाट पछि हटेका छैनन्। न त तयारीमा कुनै काम नै गरेका छन्।

पूर्वाधार निर्माण गर्नुपर्ने सरकारी निकाय लोकप्रिय राजनीतिक भाषणमा रमाएर आ–आफ्नै स्वार्थको डम्फु बजाइरहँदा सम्बन्धित राष्ट्रिय संघहरु भने खेल गर्न नपाएर छटपटाइरहेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भाग्यवस पाएको एएफसी एसियन कप छनोटका लागि टिम तयारी सुरु गरिसकेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका प्रारम्भिक चरण पार गरेको ग्वामले सहभागिता फिर्ता लिएपछि नेपाललाई एसियन कपको तेस्रो चरणको प्रतिस्पर्धामा सहभागि हुने महत्वपूर्ण मौका दियो। होम एन्ड अवे (आफ्नो र विपक्षीको मैदान) पद्दतिमा खेल्नुपर्ने प्रतियोगितामा नेपालले फिलिपिन्स, ताजकिस्तान र यमनसँग प्रतिस्पर्धा गर्नेछ। अवे खेलका लागि उनीहरुको मैदानमा भ्रमण गरे पनि नेपालले होम खेलमा उनीहरुलाई आफ्नो मैदानमा आतिथ्य दिनुपर्छ।

नेपालले होम खेलका लागि जुन १३ मा यमन, सेप्टेम्बर ५ मा ताजकिस्तान तथा नोभेम्बर १४ मा फिलिपिन्सलाई निम्त्याउनु पर्नेछ। एएफसीले सबै खेलको आयोजनास्थल घोषणा गरिसके पनि नेपालका होम खेल भने कहाँ गराउने अझै सार्वजनिक गर्न सकेको छैन। देशको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला भुइचालोले क्षतिग्रस्त भएपछि एन्फाले घरेलु फुटबलमा समेत ठूला कार्यक्रम गर्न सकेको छैन। अन्तर्राष्ट्रिय होम खेलका लागि मैदान दिन नसक्नु एन्फाको बाध्यता हो।

जसोतसो ‘सी’ र ‘बी’ डिभिजन लिग प्रतियोगिता सम्पन्न गरे पनि क्यालेन्डरअनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग र महिला लिगलगायतका ठूला कार्यक्रम एन्फाले गर्न सकेको छैन। रंगशाला नभएकै कारण ‘ए’ डिभिजन लिग गर्ने आँट गर्न नसकेको एन्फाका कार्यवाहक महासचिव सञ्जिव मिश्र बताउँछन्। 'पूर्वाधार बनाउने काम सरकारको हो। एउटा संघले आफै रंगशाला बनाउन सक्दैन। सरकारी उदासिनताका कारण रंगशाला भत्किएको दुई वर्षसम्म पनि पुर्ननिर्माण हुन सकेको छैन। सरकार र एन्फाबीच दुई वर्षअघि सम्झौता भइसकेको च्यासल रंगशाला निर्माणको काम पनि अघि बढ्न सकेको छैन। खेलाउने र खेल देखाउँने ठाउँ नहुँदा गतिविधि गर्न सकिएको छैन,' मिश्रले भने।

दुई वर्षअघि एन्फा र युवा तथा खेलकुद मन्त्रालयबीच च्यासलमा कम्तिमा १२ हजार दर्शक क्षमताको रंगशाला १८ महिनाभित्र बनाउने सम्झौता भएको थियो। त्यसका लागि सरकारबाट प्रत्येक वर्ष वजेट निकासा भए पनि काम नहुँदा फ्रिज हुने गरेको छ। चालु आर्थिक वर्षका लागि पनि सरकारले च्यासल रंगशाला बनाउन ८ करोड रुपैयाँ छुट्टाएको छ। तर आर्थिक वर्ष सुरु भएको आठ महिना वितिसक्दा समेत काम सुरु भएको छैन।

‘दर्शक विना फुटबल सम्भव छैन। रंगशाला नभएर फुटबललाई सबैभन्दा धेरै असर गरेको छ। 'ए' डिभिजनका राम्रा खेलमा कम्तिमा १०/१२ हजार दर्शक उपस्थित हुन्छन्,’ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘उपलब्ध स्रोत साधनको प्रयोगमा हामीले 'सी' र 'बी' डिभिजनका खेल सम्पन्न गर्‍यौं। 'ए' डिभिजन नै गर्न बाँकी छ। दर्शक कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रो चिन्ता हो। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय खेल कहाँ गराउने भन्ने हाम्रो अझै ठूलो चासोको विषय बनेको छ। तर हामी केही गर्न नसक्ने अवस्थामा छौं। हामीले चाहेर पनि रातारात रंगशाला बनाउन सक्दैनौं। त्यसैले अन्य कुनै वैकल्पिक रंगशालाको उपाय खोज्दैछौं।’

घरेलु लिगका लागि एन्फाले आफ्नै मुख्यालयमा रहेको मैदान तथा हलचोकस्थित सशत्र प्रहरीको मैदानमा अस्थाई प्यारापिट बनाएर भए पनि जसोतसो ‘ए’ डिभिजन लिग गर्ने मनस्थिती बनाएको छ। तर, दर्शक उपस्थती कम हुदाँ क्लबहरुलाई टिकटबाट उठने रकममा घाटा लाग्नेछ। त्यसै त कमजोर आर्थिक स्थितीमा रहेका क्लबहरुका लागि यो अर्को निराशाको विषय हो।

एन्फाले आफ्नो मुख्यालमा भएको एस्ट्रो टर्फ (कृत्तिम मैदानमा) १ वर्ष अघि यू–१९ साफ च्याम्पियनसिप सम्पन्न गरेको थियो। जुन प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै उपाधि जित्यो। तर त्यतिबेला पनि एन्फालाई दर्शक व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। दर्शक व्यवस्थापनमा भएको सकसका कारण तत्कालिन ललितपुर जिल्ला प्रहरी प्रमूखले सातदोबाटोमा ठूलो प्रतियोगिता नगर्न आग्रह गरेको सम्झन्छन् एन्फा अध्यक्ष श्रेष्ठ।

दुई वर्षअघि एन्फा र युवा तथा खेलकुद मन्त्रालयबीच च्यासलमा कम्तिमा १२ हजार दर्शक क्षमताको रंगशाला १८ महिनाभित्र बनाउने सम्झौता भएको थियो। त्यसका लागि सरकारबाट प्रत्येक वर्ष वजेट निकासा भए पनि काम नहुँदा फ्रिज हुने गरेको छ।

श्रेष्ठले थपे, ‘१९ वर्षमुनिको साफ च्याम्पियनसिपमा रंगशाला भित्र जति दर्शक थिए, त्यतिकै संख्यका दर्शक बाहिर अलपत्र थिए। जसले ट्राफिक लगायत गेटमा रहेका सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न गाह्रो परेको थियो। त्यसकारण जिल्ला प्रहरी प्रमूखले यस्तो ठूलो प्रतियोगिता नगर्न आग्रह गरेका थिए।’

नेपालले बंगबन्धु गोल्ड कप हँुदै सागमा स्वर्ण पदक जितेपछि एन्फा अध्यक्ष श्रेष्ठले राष्ट्रिय फुटबल टोलीलाई नियमित वन्द प्रशिक्षणमा राख्ने र कम्तिमा महिनामा एउटा मैत्रीपूर्ण खेल खेलाउने प्रतिवद्धता व्यक्त गरेका थिए। कात्तिकमा सम्पन्न एन्फा चुनावमा पनि उनले यसलाई प्रथमिकताका साथ उठाएका थिए। तर रंगशाला अभावमा त्यो कार्यसुची अलपत्रमा परेको उनी बताउँछन्।

‘रंगशाला अभावमा हामीले त्यो बाचा पुरा गर्न सकेका छैंनौ। तथापी यसबीचमा बाहिर गएर केही मैत्रीपुर्ण खेल खेलेका छौं,’ श्रेष्ठले भने, ‘बाहिर खेल्न जादाँ एउटै खेलमा झन्डै २५ लाख रुपैयाँ खर्च हुन्छ। त्यही खेल नेपालमा गराउन पाए एन्फाले उल्टै २५ लाख बचत गर्न सक्ने थियो।’

व्यवस्थापनका हिसावले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नसमेत नेपालसँग क्षमता भए पनि रंगशालाको अभावमा एएफसीसँग आयोजना अधिकार माग्न नसकेको श्रेष्ठले बताए। त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख खस्कने श्रेष्ठको चिन्ता थियो। ‘सोलिडारिटी कप पनि हामीले गर्न पाउने थियौं। तर हामीसँग रंगशाला छैन। त्यो प्रतियोगिता गर्ने आयोजक नपाएर एएफसी आफैले मलेसियामा गरेको हो,’ श्रेष्ठले भने, ‘हामी व्यवस्थापनका हिसावले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छौं भनेर प्रमाणित गरिसकेका छौं। तर पछिल्लो समय दर्शक राख्ने ठाउँ नभएर ठूला प्रतियोगिता गर्ने आँट गर्न सकेका छैनौं। सधै यस्तो अवस्था रह्यो भने अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता गर्न नसक्ने भनेर हाम्रो साख गुम्दै जानेछ।’

राखेपको पूर्वाधार निर्माण तथा मर्मत विभाग प्रमूख अरुण उपाध्यायले रंगशालालाई मर्मत गरेर काम चलाउने निर्णय भएको तर त्यसका लागि पनि तीन वर्ष लाग्ने बताएका छन्। एन्फा आफैले विकल्प सोचेको छ त? ‘हामी आवद्ध भएका फिफा, एएफसीले सहयोग गर्छु भनेका छन्। तर त्यसका लागि जग्गा आवस्यक पर्‍यो। जग्गा मात्र भएर पनि भएन। विद्युत, ढल, यातायातलगायतका आधारभूत सुविधा हुनुपर्‍यो। यस्तै समस्याका कारण तत्काल रंगशाला बनाउने हाम्रो सोच छैन। त्यसैले अहिले राखेपलाई आग्रह गुर्नवाहेक हामीसँग विकल्प छैन,’ श्रेष्ठको उत्तर थियो।

प्रकाशित: २९ माघ २०७३ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App