१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पश्चिमाञ्चलका दुवै टोली तेस्रो स्थानमा

पोखरा- पश्चिमाञ्चलका महिला र पुरुष दुवै टोलीले शुक्रबार पोखरा रंगशालाको कोर्टमा विभागीय प्रतिद्वन्द्वीमाथि रवाफ जमाउँदै सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

पश्चिमाञ्चलको पुरुष टोलीले शुक्रबार भएको तेस्रो स्थानको प्लेअफमा सशस्त्र प्रहरी बलको एपिएफविरुद्ध शुक्रबार उत्कृष्ट पुनरागमनमा ३–२ को विजय हासिल गर्‍यो भने महिला टोलीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि सोझो सेटमा ३–० को रवाफ जमायो।

पुरुषतर्फ पहिलो २ सेटमा निराश भए पनि घरेलु टोलीले त्यसपछि लगातार तीन सेट जितेर तेस्रो स्थान हासिल गर्न सफल भयो। पश्चिमाञ्चलले १३–२५, १६–२५, २५–२३, २५–१५, १५–१३ को संघर्षपूर्ण नतिजा निकाल्दै प्रतियोगिताको सान्त्वना पुरस्कार हासिल गर्‍यो। तेस्रो स्थानको प्लअेफमा विजयी टोलीका काजी केसी म्यान अफ दी म्याच भए।

पराजित भएपछि एपिएफका प्रशिक्षक प्रकाश थपलियाले रेफ्रीलाई दोष लगाए। रेफ्री शंकर थापाले पूर्वाग्रही रुपमा पश्चिमाञ्चलको पक्ष लिएर आफ्नो टिमलाई हराएको थपलियाको आरोप थियो। 'रेफ्रीले निश्पक्ष रुपमा खेलाउन सकेनन्। सातवटा फाउल हुँदा पनि उनले मौका दिए,' उनले भने, 'उनले नियम विपरित पश्चिमाञ्चललाई एकलौटी अवसर दिए। रेफ्रि निश्पक्ष हुनुपर्छ। तर, यहाँ पश्चिमाञ्चलको गल्ती नदेख्ने, हाम्रो सामान्य कमजोरीलाई पनि गल्ती देख्ने रेफ्री भएकाले समस्या भयो।'

पश्चिमाञ्चलका प्रशिक्षक कृष्ण थापाले पहिलो दुई सेट जिते पनि त्यसपछि एपिएफको सन्तुलन विग्रँदा आफ्नो टोलीले फाइदा उठाएको बताए। 'एपिएफएको तालमेल विग्रन थालेपछि हामी अगाडि आयौं,' लिफ्टरको समस्याका कारण सुरुमा अप्ठेरो परे पनि पछि सम्हालिएको बताउँदै उनले भने।

महिलातर्फको प्लेअफमा पश्चिमाञ्चलले अर्को विभागीय टिम नेपाल पुलिस क्लवमाथि २५–२१, २५–२२, २६–२४ को सोझो सेटमा विजय हासिल गर्‍यो। खेलमा पश्चिमाञ्चलकी मञ्जु गुरुङ वुमन अफ दी म्याच भइन्। तेस्रो स्थान हासिल गरेसँगै पश्चिमाञ्चलका महिला तथा पुरुष टिमले ३३ हजार ३ सय ३३ रुपैयाँका दरले पुरस्कार पाए।

पुलिसका प्रशिक्षक भरत शाहले अघिल्लो खेलमा घाइते भएकी कामना विष्टको अभाव खट्किएको बताउँदै बेन्चमा राम्रो खेलाडी नहुनुको मुल्य चुकाएको भनाई राखे। 'कामना खेल्न नसकेपछि अरु खेलाडीको मनोवल कमजोर भइहाल्यो,' उनले भने, 'बेन्चमा राम्रा खेलाडी भएको भए दबाब हुँदैनथ्यो।'

पश्चिमाञ्चलका प्रशिक्षक कौशिला खत्रीले लिफ्टरमा कमजोरी हुँदा सहज जित निकाल्न नसकेको बताइन। 'हाम्रा खेलाडीमा प्रशिक्षण अभाव छ। सबै खेलाडीलाई एकैठाउँ भेला गराएर प्रशिक्षण गराउन पाएको भए जित सहज हुन्थ्यो,' उनले भनिन, 'विभिन्न ठाउँका खेलाडी भेला गराएर टिम सेट गरेकोले सशक्त हुन नसकेको हो।'

शनिबार फाइनलमा पुरुषतर्फ विभागीय टिम आर्मी र पुलिस तथा महिलातर्फ न्यू डायमन्ड र एपिएफबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २९ माघ २०७३ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App